बैंकिङ कसुरको अभियोग लागेका कर्णाली सरकारका बर्खास्त मन्त्री खड्गबहादुर खत्रीलाई प्रहरीले ‘फरार’ सूचीमा राखेको छ। उनीउपर सरकारी छाप दस्तखत ‘कीर्ते’ गरेको अभियोगमा मुद्दा अघि बढाउँदै प्रहरीले ‘फरार’ सूचीमा राखेको हो।
बैंकिङ कसुरको अभियोग खेपिरहेका पूर्वमन्त्री खत्रीले अदालतले दिएको म्यादसमेत गुजारेपछि प्रहरीले ‘कीर्ते’ मुद्दासमेत जोडेर उनीविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा खत्रीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा खत्रीलाई उच्च अदालत पाटनले तीन दिनभित्र उपस्थित गराउन आदेश दिएको थियो।
तर, खत्रीले सो म्याद पनि गुजारेर अटेर गरेपछि प्रहरीले उनीविरुद्ध ‘कीर्ते’मा मुद्दा लैजाने तयारी गर्दै ‘फरार’ सूचीमा राखेको हो।
‘हामीलाई सरकारी वकिलमार्फत उपस्थित गराउनु भन्ने आदेश थियो, हामीले उहाँलाई उपस्थित गराउन खोज्यौं तर प्रदेश सरकारले चिठीउपर कारबाही पनि गरेन, उहाँ उपस्थित पनि हुनुभएन,’ ब्युरोका एक अधिकारीले भने।
ती अधिकारीका अनुसार खत्री उपस्थित नभएपछि कीर्ते मुद्दा लैजान लागिएको हो।
‘मन्त्रीज्यूले म्याद गुजार्नुभयो त्यसमा सजाय भोग्ने उहाँले नै हो,’ ब्युरोका ती अधिकारीले भने, ‘उहाँलाई सरकारी कागजात कीर्तेमा समात्न ब्युरोले टोली खटिइसकेको छ।’
ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले खत्रीको खोजीका लागि टोली खटाइसकेको बताए। ‘उहाँलाई खोजी गरी पक्राउ गर्न ब्युरोको टोली खटिइरहेको छ,’ शाहीले भने।
बैंकिङ कसुर गरेको अभियोग लागेका कर्णाली प्रदेश सरकारका तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री खत्री पदमुक्त भइसकेका छन्। फौजदारी मुद्दा लागेपछि मन्त्री खत्रीलाई गत बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरिसकेका थिए।
फर्जी बैंक ग्यारेन्टी गर्दा जमानी बसेका खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन उच्च अदालत पाटनले गत सोमबार आदेश दिएको थियो।
कृषि विकास बैंक रत्नपार्क जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्रीकै नाम प्रतिवादी कायम भई आएपछि उनलाई पक्राउ गरी अदालत ल्याउन आदेश जारी भएको उच्च अदालतले जनाएको छ।
न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले मन्त्री पक्रन आदेश दिएको थियो। मन्त्री खत्री ठेकेदार हुन्। मन्त्री खत्रीको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा छ।
५५-५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो।
बैंक ग्यारेन्टीमा ठेकेदार रणवीर तुम्बा र देवजंग शाहीको प्रत्यक्ष संलग्नता थियो। सो मुद्दामा तुम्बा, शाही र बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाललाई प्रहरीले पक्राउ गरी अदालत पेश गरेको थियो।
यो पनि हेर्नुहोस्