कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अबको ६ महिनाभित्र कालिकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउन निर्देशन दिएका छन्।
गृहजिल्लाको साताव्यापी भ्रमणपछि सुर्खेत फर्किने क्रममा दैलेखको टुनीबगरमा विद्युत प्राधिकरणअन्तर्गत दैलेख–कालिकोट प्रशारण लाइन विस्तार आयोजनाका प्रमुख सुरेन्द्र चौधरीलाई सो निर्देशन दिएका हुन्।
भेटमा आयोजना प्रमुख चौधरीले विद्युत प्रशारण लाइन विस्तारको कार्य तिव्रताका साथ अघि बढेको जानकारी दिँदै बीचमा रुख कटान तथा कालिकोटको सदरमुकाम मान्ममा सवस्टेशनको लागि जग्गा नभएको बताए।
मुख्यमन्त्री शाहीले कालिकोटका प्रमुख जिल्ला अधिकारी र खाँडाचक्र नगरपालिकाका मेयरलाई टेलिफोन गरेर सवस्टेशनको लागि जग्गा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। रुख कटान सम्बन्धी समस्या हल गर्न आफ्नो तर्फबाट पहल गर्ने मुख्यमन्त्री शाहीले प्रतिबद्धता जनाए।
आयोजना प्रमुख चौधरीले पनि ६ महिनाभित्र कालिकोटमा राष्ट्रिय प्रसारण लाईन पुर्याउनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सवस्टेशन निर्माणपछि ११ केभिए प्रसारण लाइन उपलब्ध गराउन सकिने जानकारी दिए।