‘सवारी व्यवस्थापनमा सहयोग होस्’ भन्ने उद्धेश्यले ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएका विद्युतीय रिक्साहरू प्रयोगविहीन भएर थन्किएका छन्।
साविक पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवललाई हस्तान्तरण गरिएका विद्युतीय रिक्सा प्रयोग नगरी त्यसै थन्काएर राखिएको हो।
तिलोत्तमा नगरपालिका वडा नं ३ मा विक्री कक्ष रहेको टेरा कम्पनीको आधिकारीक विक्रेता ग्रिन लुम्बिनी इन्टरप्राइजेज र ईरिक्सा डिलर्स एसोसिएसनले करिब ३ वर्ष अघि ट्राफिक प्रहरीलाई २ थान विद्युतीय रिक्सा हस्तान्तरण गरेको थियो।
यातायात व्यवस्था कार्यालयमा दर्ता विवाद भइरहेका बेला ट्राफिक प्रहरीले उक्त विद्युतीय रिक्सा सहयोग लिँदा आलोचना समेत भएको थियो।
वर्षौंदेखि घाम र पानीमा खुला आकाशमुनि राखिँदा अहिले ती दुवै रिक्सा काम नचल्ने अवस्थामा थन्किएका छन्।
अन्य विद्युतीय रिक्सा चालकहरूले रूट इजाजत नपाइरहेको अवस्थामा ट्राफिक प्रहरीले नै विद्युतिय रिक्सा दान लिएर सञ्चालन गर्नु उपयुक्त नहुने भन्ने सुझावबीच तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले विक्रेताबाट दान स्वरूप लिएको थियो।
विक्रेतालाई प्रभावमा पारी लिइएका दुई वटै रिक्सा ट्राफिक प्रहरीले प्रयोग नगरी कवाड बनाएर फालेको छ।
५ नं ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक मधुसुधन लुइँटेलले कानुनी जटिलताका कारण दर्ता प्रक्रियामै जान नसकेकोले सञ्चालनमा आउन नसकेको बताए।
ट्राफिक प्रहरी कार्यालयको परिसरमा थन्किएका ती रिक्सा अहिले दुर्घटनमा परेका वा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका हेल्मेटहरू थन्काउने ठाउँको रूपमा प्रयोग भएका छन्।
दान गरिएका विद्युतीय रिक्साको मूल्य तत्कालीन अवस्थामा प्रति थान ३ लाख ५० हजार रहेको ग्रिन लुम्बिनी इन्टरप्राइजेजका सञ्चालक ज्ञानु बस्यालले बताए।
५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गंगा सारुले सर्वसाधारणले रुट इजाजत नपाएकोले रुट इजाजत नभएको रिक्सा चलाउन उपयुक्त नहुने भएकोले नचलाइएको बताए।
अहिले ती रिक्सामा रहेका १० थान ब्याट्री झिकेर कार्यालयको इन्भर्टरमा प्रयोग गरिएको ५ नं ट्राफिक प्रहरी कार्यालयले बताएको छ।
ट्राफिक प्रहरी कार्यालयलाई गस्ती गर्न सजिलो होस् भन्ने उद्धेश्यले दुवै विद्युतीय रिक्सामा साइरन र रिवल्भीङ लाइट समेत जडान गरिएको थियो। अहिले ती दुवै निकालिएका छन्।