५० शैय्या क्षमताको गोरखा जिल्ला अस्पताल गण्डकी प्रदेश सरकार मातहत छ।
दैनिक दुई सय जनाभन्दा बढी बिरामी उपचारका लागि आउने अस्पतालमा हिजोआज दरबन्दीअनुसार चिकित्सक छैनन्।
यहाँका चिकित्सकलाई केन्द्र सरकारले समायोजन गरी अन्यत्रका अस्पताल पठाएपछि जनशक्तिको अभाव भएको हो। अस्पताल प्रमुख श्रीराम तिवारीको भरतपुर जिल्ला अस्पतालमा सरूवा भएपछि दुई महिनादेखि अस्पताल प्रमुखविहीन छ।
अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार सात जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अस्पतालमा एक जना पनि छैनन्।
‘अस्पतालमा १३ जनाको दरबन्दी हो,’ उनले सेतोपाटीसँग भने, ‘विशेषज्ञ एक जना पनि छैनन्।’
दरबन्दीमा रहेका चिकित्सकहरू एकपछि अर्को समायोजनमा परेपछि करारका चिकित्सकको भरमा अस्पताल छ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालमा चिकित्सक खटाउन ढिलाइ गर्दा बिरामी समस्यामा छन्। सरकारी अस्पतालले सेवा दिन नसक्दा बिरामी मेडिकलमा उपचार गराउनुपर्ने बाध्यता छ।
अस्पताल प्रमुख तिवारीले मेडिकल अधिकृत सिलु अर्याललाई निमित्त दिएर गएका थिए।
अर्याल पनि समायोजन भएर अन्यत्र गएपछि अहिले सफलनाथ सुवेदीले निमित्त चलाइराखेका छन्।
गत शनिबार गोरखा पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले चिकित्सक अभाव छिट्टै परिपूर्ति गरिने बताए पनि अहिलेसम्म सुनुवाइ भएको छैन।
समायोजन भएका चिकित्सकहरू कार्यक्षेत्र पुगे पनि ती उनीहरूले छाडेका ठाउँमा पदस्थापना नहुँदा सुदूरपश्चिम प्रदेश मातहत विभिन्न अस्पतालमा पनि चिकित्सक अभाव छ।
सरकारले नवौं, दशौं र एघारौं तहका चिकित्सकहरूलाई धमाधम समायोजन गरे पनि पदस्थापनामा भने चासो दिएको छैन।
प्रदेश मातहतका अस्पतालमा मात्र होइन, यस्तो समस्या संघ मातहतका अस्पतालले पनि झेल्नुपरेको छ।
८० शैय्या क्षमताको डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव छ। चिकित्सक माग गर्न अस्पताल प्रमुख जितेन्द्र कँडेल बुधबार काठमाडौं आएका छन्।
३८ जना चिकित्सक दरबन्दी भएको अस्पतालमा अहिले तीन जना चिकित्सक छन्।
चिकित्सकहरू केही प्रदेश र धेरैजसो स्थानीय तहमा समायोजन भएर गएपछि विरामीको उपचारमा समस्या खेप्नुपरेको छ।
‘३८ जना दरबन्दी भए पनि १३ जना चिकित्सकले सेवा दिइराखेका थियौं, ९ जना समायोजन भएर स्थानीय तह जानुभयो,’ उनले सेतोपाटीसँग भने, ‘एक जनाको संघमा समायोजन भयो। म र अर्का एक साथीको सूची आएको छैन। एक जना फिजिसियन हुनुहुन्छ। तीन जनाले कति सेवा दिन सकिएला र?’
चिकित्सक अभावबारे मन्त्रालयमा जानकारी गराए पनि पदस्थापना नगर्दा समस्या भएको उनले बताए। ‘समायोजनको पत्र आएकालाई रमना पत्र दिनुबाहेक मेरो विकल्प थिएन। संघमा समायोजन भएका साथीहरूको पोस्टिङ नहुँदा समस्या भयो,’ उनले भने।
उपचारका लागि दिनहुँ तीन सय जनाभन्दा बढी बिरामी आउने उनले बताए। मन्त्रालयले छिटो कर्मचारी पठाएन भने सेवाहरू बन्द हुने उनले बताए।
‘एनआइसियु बन्द हुने अवस्था छ,’ कँडेलले भने, ‘पदस्थापना समयमै भएन भने डडेल्धुरा अस्पताल चिकित्सकविहीन हुन्छ।’ सबैको सहयोग लिएर अस्पतालमा नयाँ सेवा थप गरे पनि चिकित्सक अभावमा बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए।
महाकाली र सेती अस्पतालमा पनि चिकित्सक अभाव छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चिकित्सक अभाव भएका अस्पतालमा छिट्टै पदपूर्ति गरिने जानकारी दिए।
‘फटाफट पदस्थापना गर्दा सेवा रोकिएला भनेर केही ढिलाइ गरिएको हो,’ उनले सेतोपाटीसँग भने, ‘छिट्टै पदस्थापना गरी सेवा सुचारू गरिन्छ।’
मन्त्रालयले २० हजारभन्दा बढी चिकित्सकको समायोजन गरिसकेको छ। अहेब र अनमीको समायोजन भने केही समय रोकिएको श्रेष्ठले बताए।
‘पदस्थापना, पदमान, स्तरवृद्धिलाई नीतिगत निर्णय गर्नुपर्ने भएकोले समायोजन रोकिएको छ,’ श्रेष्ठले सेतोपाटीसँग भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई केही कुरा लेखेर पठाएका छौं, जवाफ आएपछि समायोजन सुरू भइहाल्छ।’
संघीय मामिला अन्तर्गतको समायोजन महाशाखाले समायोजनका काम टुंग्याएर विघटन भए पनि स्वास्थ्य सेवातर्फका सात हजारभन्दा बढी चिकित्सक समायोजन हुन बाँकी नै छ।