तोलाछेँस्थित 'विश्वकर्मा भैल प्याखँ खलः' को आफ्नै द्यः छेँ (भगवान घर) थिएन। कहिले यो चोक, त कहिले त्यो गर्दै नाच प्रशिक्षण जारी रह्यो। मल्लकालदेखिको भैरव नाच जोगियो, परम्परा जीवित रह्यो।
आफ्नै द्यः छेँ नहुँदा प्याखँ खलः ले भोग्नुपर्ने समस्या त कति थिए कति। कहिले बाजा त कहिले लुगा चोरी हुने। आ–आफ्नो घरमा राख्दा राम्रो स्याहार नपुग्ने। ०७१ सालदेखि आफ्नै घर बन्ने प्रक्रिया सुरू भएपछि केही सजिलो भएको प्याखँ खलः को अनुभव छ।
यो द्यः छेँको विशेषता के भने, यसको बाहिरी मोहडामा टेराकोटा इँट्टाका कलात्मक आकृति छन्। ती आकृतिले भक्तपुरको सभ्यता चित्रण गर्छन्।
कला, सँस्कृति र सभ्यताका हिसाबले भक्तपुर आफैंमा संग्रहालय हो। मूल चोकमा भुइँचालोपछि बनेका संरचना अहिले प्राचीन शैलीमै ठडिइरहेका छन्। यो घरलाई त्यस संग्रहालयभित्रको अर्को आकर्षण बनाउने उद्धेश्य रहेको प्याखँ खलः का अध्यक्ष कृष्णभक्त प्रजापति बताउँछन्।
'यस्तो घर अन्त कतै छैन। यसलाई नमूना घरका रूपमा स्थापना गराउने सोच छ,' उनले भने।
करिब साढे ३ तला बन्ने यो घरको पहिलो तलामा मात्रै टेराकोटाका कलात्मक इँट्टा हाल्ने काम सकिएको छ। ती इँट्टामा कोही माटोका भाँडा बनाइरहेका, सुकाइरहेका, पोलिरहेका त कोही त्यसलाई बेच्न लगिरहेका छन्। यसैगरी, कोही चर्खामा काम गरिरहेका, बाजा बजाइरहेका त कोही रक्सी पारिरहेका।
यी दृश्य एकाएक यही घरमा कुँदिएका होइनन्। भक्तपुरका गल्लीगल्लीमा देखिने परम्परागत शैलीका संकेत हुन्। समाजका यिनै गतिविधिका दृश्य कलात्मक बुट्टामा भर्ने सोचको प्रतिफल हो यो घर।
टेराकोटा उच्च तापक्रममा पोलिएको इँट्टा हो। पाटनको दस हजार बुद्ध भएको महाबुद्ध मन्दिर यस्तै कलाको उदाहरण हो। तुछिमलास्थित टेराकोटा झ्याल भएको 'टेराकोटा होटल' भक्तपुरमा प्रसिद्ध छ। यो घरमा भने सबै भागमा टेराकोटा बुट्टा कुँदिनेछन्।
प्याखँ खलः ले सञ्चालन गर्ने भैरव नाच मल्लकालदेखि सुरू भएको मानिन्छ। यहाँको भैलः प्याखँमा मुख्य कलाकारको रुपमा 'प्रजापति' समुदाय छन्। प्रजापतिलाई माटाको काम गर्ने समुदायका रुपमा पनि चिनिन्छ। विश्वकर्मा भैल प्याखँ खलः रहेको टोल 'वाथीकुथी' माटोका भाँडा पोल्ने ठाउँका रुपमा प्रसिद्ध छ।
खलःको नाम 'विश्वकर्मा' आफैंमा पनि माटोसँग जोडिएको छ। खलःका सदस्य गौतम प्रजापतिका अनुसार यी भगवानलाई औजारहरू पूजा गर्दा पुजिन्छ। माटोको भाँडा बनाउने चक्रलाई समेत विश्वकर्मा भनेर पूजिने उनले जानकारी दिए।
'विश्वकर्मा भनेको हाम्रो श्रृष्टिकर्ता हुन्। सबैको श्रृष्टि हुने त्यही चक्रबाट त हो,' गौतमले भने।
यद्यपी, माटोको काम गर्ने समुदाय यो टोलमा घटेको छ। विशेषगरी, जुजधौ राख्ने भेग (दही राख्ने भाँडा), चियाको कप मात्रै चलनचल्तीमा छ। बढ्दो आधुनिकीकरणसँगै प्लास्टिक र धातुका भाँडाले माटाका सामग्री विस्थापन गरिरहेको गौतम बताउँछन्।
'अहिले माटोको काम गर्ने मान्छे कम भए। हाम्रो समुदायको पहिचानै माटो भए पनि त्यसलाई व्यवसायिकता दिन सकेनौं,' उनले भने, 'पढेका युवाहरू अन्य व्यवसायतर्फ आकर्षित भए।'
यो घर बन्नुले त्यस ठाउँको विशेषतासँगै माटाका कलातर्फ नयाँ पुस्तालाई आकर्षित गर्नेमा गौतम निश्चिन्त सुनिन्छन्।
२०७१ सालबाट बनाउन सुरू गरिएको यो घर आफ्नै जग्गामा अडिएको होइन। करिब एक आना ३ पैसा क्षेत्रफलमा फैलिएको घरको न लालपूर्जा छ, न नक्सा नै। गुठीका १९ गुठीयार दाजुभाइकै परिवारले जग्गा सहयोग गरेपछि बनाउन सुरू गरिएको हो।
'कोहीको तीन, दुई त कोहीको एक फुट जग्गा थियो। त्यस्तो जग्गामा कसले के बनाउने?,' गौतमले भने, 'पछि दाजुभाइको आपसी सहमतिमा भगवान घर बनाउने निर्णय भयो।'
घर बनाउन थालेको ५ वर्ष भए पनि भुइँचालोका कारण निर्माण रोकिएको थियो।
भगवान घरको पर्खाल हाल्ने काम बल्ल सुरू भएको थियो। 'आफ्नो घर बनाउनु कि भगवानको घर बनाउनु' भनेर गुठीयारहरू अल्झिएका थिए। भत्किएका घरको माटो वरिपरि छरिएका थिए। त्यहाँका माटो पन्छाउदै र अन्य घर निर्माण गर्दै ३ वर्ष त्यसै बित्यो। करिब एक वर्षयता मात्रै राम्ररी काम भइरहेको छ, अर्को वर्षसम्ममा काम सक्ने योजना रहेको उनीहरू बताउँछन्।
यो घरलाई नजिकैको गणेश मन्दिरको द्यः छेँको रुपमा नामाकरण गरिएको छ। बुट्टाका किनारमा पनि गणेशकै आकृति बढी देखिन्छन्।
भक्तपुरलाई चारैतिर अष्टमात्रिकाले सुरक्षा दिइरहेको स्थानीयको विश्वास छ। त्यसलाई पनि यहाँ कुँदिएको देखिन्छ। कतिपय बुट्टा आफ्नै मन–कथाले राम्रो देखिन्छ भन्दै पनि बनाइएको रहेछ।
भगवानको घर बनाउन गुठीका परिवारले पैसा र सरसामग्री पनि सहयोग गरेका छन्।
'१० रुपैयाँदेखि पाँच लाखसम्म दिने मान्छे छन्,' गौतमले भने, 'त्योबाहेक कोहीले इँट्टा, सिमेन्ट, डण्डी लगायत सामग्री सहयोग गरेका छन्। विदेशबाट पनि केही सहयोग आइरहेको छ।'
गौतमका अनुसार यो खलःसँग साना-ठूला गरी करिब ६ गुठी जोडिएका छन्। प्रत्यक सानो गुठीमा २५ र ठूलोमा ६० घरपरिवार छन्। घर निर्माणमा पनि आलोपालो गरेर गुठीयार आउने गरेको उनी बताउँछन्।
'तपाईंको गुठी बोलाइदिनु पर्यो भनेर हामीले अनुरोध गर्छौं। उहाँहरू आएर के–के काम छ, त्यो गर्नुहुन्छ। ज्याला पनि दिनुपर्दैन। केही ज्यामीहरूलाई भने पैसा दिएका छौं,' उनले भने।
बाहिर हेर्दा परम्परागत शैलीको देखिने भए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको छ।
'हामीले भित्रको संरचना पनि परम्परागत शैलीमै निर्माण गर्ने सोचेका थियौं। तर दलिन/काठ किन्न भन्दा ढलान सस्तो भयो। दिनेले पनि परम्परागत सामग्रीभन्दा डण्डी, सिमेन्ट, बालुवा दिए,' उनले भने।
गठेमंगलबाट यो खलःमा नृत्य सिकाउन सुरू भएको हो। कृष्ण अष्टमीसम्म चल्ने सापारू (गाईजात्रा) भरी टोलटोलमा यी नाच प्रदर्शन भइरहेका छन्। अन्य समय कुनै टोलले बोलाए पनि उनीहरू नाच लिएर पुग्छन्। यहाँ बाजाको पनि छुट्टै प्रशिक्षण दिइन्छ।
नाचका लुगा, देवदेवीका मुकुट र बाजाहरू यहाँ संग्रहालयमा झैं सजाएर राखिएको छ। पहिले देवदेवीको मुकुट माटोबाट बनेको थियो। २०४५ सालयता भने तामाका मुकुट लगाएर कलाकारहरू नाच्छन्। यी सामग्री पहिले गुठियारका घरमा संग्रहित थिए। द्यः छेँ बनेपछि यहीँ राख्न थालिएको हो।
'पहिले बाजेबराजुले आफ्नो घरमा भगवानका सामग्री राख्दा गौरव मान्थे,' गौतमले भने, 'अहिलेका मान्छे राख्नै मान्दैनन्। एउटा सिंगो कोठा ओगट्ने, भोज गर्दा पनि कोठा फोहोर हुने लगायत समस्या देखाउँदै पन्छिन्छन्।'
सबै सामग्री एकै ठाउँमा राखेर भविष्यमा संग्रहालयकै रूपमा विकास गर्ने पनि खलःको सोच छ।
'हामीले बनाएको यो घर पक्कै नौलो हो। तर हामीले नयाँ शैली भने अपनाएका होइनौं, पुरानौ शैली प्रचारमा ल्याउन खोजेका हौं,' गौतमले भने, 'भविष्यमा यो घर अरूका लागि उदाहरण बन्न सक्छ। पर्यटकीय हिसाबले पनि यो ठाउँको महत्व बढ्नेमा हामी विश्वस्त छौं।'
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी