चिया गफ
भक्तपुर, दत्तात्रय स्क्वायरमा बिहान पाँच नबज्दै चहलपहल सुरू हुन्छ। ब्रह्मा, विष्णु र शिवको संगम मानिने पगोडा शैलीको दत्तात्रय मन्दिर यहाँको मुख्य आकर्षण हो। यो मन्दिर एउटै रूखको काठबाट बनेको जनविश्वास छ।
भिमसेनको मन्दिर दत्तात्रय स्क्वायर परिसरकै अर्को आकर्षण। दत्तात्रयको ठीकपछाडि दाहिने कुनातिर काष्ठ संग्रहालय छ। संग्रहालय पुग्नुअघि इँटा र माटोले बनेको चारतले पुरानो घर आउँछ। दत्तात्रयको ठूलो घन्टीको पहिलो ध्वनिसँगै यो घरका मान्छे ब्युँझन्छन्। घरमा गोपाल लाछिमस्युका बा, आमा, बहिनी, श्रीमती र तीन सन्तान गरी आठ जनाको परिवार बस्छ।
नवबाजा दाफा समूहका गतिविधि हुने यो घरमा १८ वर्षदेखि चिया पसल पनि छ। भक्तपुरको दूधपाटीदेखि च्यामासिंहेसम्मका चिया पारखी यही पसलमा बसेर दत्तात्रय स्क्वायरका गतिविधि नियाल्छन्।
भुइँतलाका दुई होचा ढोकासँगै हरेक दिन साढे पाँच बजे खुल्छ 'गोपाल दाइको चिया पसल।' त्यसको १५ मिनेटमा खाजा बनाउने 'मिस्त्री' आइपुग्छन्।
मोटो–मोटो, होचो–होचो जिउडालका गोपाल आफ्नो दैनिकी सुनाउँछन्, 'चियाबाहेक यहाँ बिहानको ६ बजेदेखि सेल, पुरी, पापड र हलुवा मिसाइएको रोल, चना, अन्डा, समोसा, पकौडी बनाउने तयारी हुन्छ।'
जात्रामय सहर भक्तपुर बिस्का:देखि गठेमंगल नआउन्जेल अलि सुनसान हुन्छ। गाईजात्राको मौका पारेर यहाँका संस्कृतिप्रेमी फेरि जुर्मुराउँछन्। काठमाडौंमा एक दिनमा सकिने गाईजात्रा भक्तपुरमा नौ दिन चल्छ। गोपालका अनुसार, 'पसलमा ग्राहक संख्या र व्यापार बढ्ने समय यही हो।'
यो गोपालको पसलको व्यापार हुने मौसम हो। औसतमा दैनिक १ सय ५० कप दूधवाला र २ सय कप कालो चिया बिक्री हुन्छ। यसका लागि एक 'क्रेट' दूध र दुई गाग्री पानी खपत हुने रहेछ।
उनी जानकारी दिन्छन्, 'बिहान चियासँगै सबभन्दा बढी सेल खाने मान्छे आउँछन्। दैनिक पाँच सयभन्दा बढी सेल बिक्छ। दिउँसो चिप्स र पकौडाको माग बढ्छ।'
पसलको भित्री कोठामा ग्राहकका लागि काठको टेबल र बेन्च राखिएका छन्। तर धेरै ग्राहक पसल अगाडिको खुला पेटीमा बस्न रुचाउँछन्। पेटीमा बस्ने ग्राहकका लागि सुकुल छ। सेल, रोल, पकौडा आदि खानेकुरा पनि पसलको बाहिरी प्राङ्गणमै बन्छ।
दत्तात्रय स्क्वायर धार्मिक आस्था भएका मान्छेदेखि विदेशी पर्यटकसम्म आउने ठाउँ हो। स्थानीयबाहेक यी पर्यटक पनि गोपालका ग्राहक हुन्। खर्पन बोक्ने किसानदेखि विभिन्न झाँकीमा जात्रा देखाउने समूह यही बाटो भएर गुज्रन्छन्। यस्ता धेरै गतिविधि हेर्ने रमाइलो ठाउँ हो उनको चिया पसल।
२०५८ सालदेखि चिया पसल चलाइरहेका उनलाई हामीले सोध्यौं, 'चिया पसलको सबभन्दा रमाइलो कुरा के रहेछ?'
'चिया गफ।'
शान्त स्वभावका गोपाल हाँस्दै बोल्छन्, 'चिया गफमा टोलछिमेकको कुरा काट्नेदेखि खेलकुद, प्रेम, सिनेमा र राजनीतिसम्मको कुरा अटाउँछ।'
फुर्सदिला स्थानीय बुढापाकाबाहेक कलेज पढ्ने विद्यार्थीहरू उनका नियमित ग्राहक हुन्। यहाँ उनी आफैंले पढेको बागेश्वरी विद्यालयका विद्यार्थी पनि आउँछन्।
उनलाई लाग्छ, 'वरपरकोभन्दा सस्तोमा चिया र खाजा पाइने भएकाले केही खास ग्राहक छन्, जो एकपटक खाएपछि फेरि फर्किएर आउँछन्।'
फराकिलो परिसरमा पार्किङ सुविधा हुनु यहाँको अर्को विशेषता हो। पत्रिका पढेर समाज बुझ्न चाहनेदेखि घन्टौं गफ चुटेर बस्ने थरिथरिका मान्छे उनका ग्राहक छन्।
पसलको कुनै पनि भित्तामा 'फ्रि वाइफाइ' लेखिएको छैन। तर पछिल्लो दस महिनादेखि पसलमा इन्टरनेट चल्ने कुरा उनका ग्राहकलाई थाहा छ। गोपाल आफ्नो पसलमा इन्टरनेट चलाउनकै लागि भनेर आउने ग्राहकका हाउभाउ राम्रैसँग अवलोकन गरिरहेका हुन्छन्।
उनी भन्छन्, 'मोबाइलमा एकोहोरिएर फेसबुक चलाउनेहरू देखेर हामी थाक्छौं, तर उनीहरू थाक्दैनन्। इन्टरनेट राखेपछि एक कप कालो चिया मगाएर आधा कप मात्रै खाएर समय कटाउने ग्राहक बढेका छन्।'
गम्भीर मुद्रामै ठट्टा गर्ने स्वभाव छ उनको। यही स्वभाव बुझेर उनलाई सोध्यौं, 'चिया पसले हुनुको बेफाइदा चाहिँ के रहेछ?'
'शनिबार पनि बिदा नपाइनू।'
हो, शनिबारका दिन उनका ग्राहक फुर्सदमा हुन्छन्। ती ग्राहकले उनलाई भने व्यस्त बनाइदिन्छन्। आफ्नै काम भएर पनि ग्राहकको समय तालिकामा चल्न बाध्य छन् उनी। व्यस्तता बढ्नु भनेको व्यापार बढ्नु हो। तर जति भिड बढे पनि गोपाललाई सन्तुष्टि मिले पो!
उनी तुलना गर्छन्, 'व्यस्तता बढे पनि व्यापार घटिरहेको छ। पहिला दिनको १०/१२ हजार व्यापार हुन्थ्यो। अचेल ५/६ हजार मात्रै कारोबार हुन्छ।'
व्यापार घटेको ०६६ सालपछि हो। चिया र खाजा खाने पसलको संख्या बढ्नु नै व्यापार घट्नुको मुख्य कारण मान्छन् उनी। उनले पसल खोल्ने बेला यो क्षेत्रमा एक-दुइटा मात्रै चिया-खाजा पसल थिए। अहिले त च्यामासिंहेलगायत नजिकको क्षेत्रमा लश्करै पसल थपिएका छन्। त्यसैले व्यापारमा फाइदा पुग्ला कि भनेर १६ हजार खर्चेर इन्टरनेट सुविधा दिने नयाँ चलन पछ्याएको उनी बताउँछन्।
गोपालको जीवनमा जति आरोह-अवरोह छ, त्यसको उल्टो उनको बोलाइमा ठहराव छ। हतास र निराश सन्दर्भ पनि शान्त मुद्रामा सुनाउँछन् उनी। भन्छन्, 'व्यापार घट्यो। काम गर्ने मान्छे पनि पाइन छोड्यो। पसलै बन्द गरौं जस्तो समेत भएको थियो।'
चिया पसल चलाउने क्रममा नाकाबन्दी र भुइँचालोजस्ता विपत देखे–भोगेका छन् उनले। यस्ता समस्यासँग जुधेरै पसललाई निरन्तरता दिइरहे। तै पनि उनलाई लागिरहन्छ, 'राम्ररी पढेको भए जिन्दगी अर्कै हुन्थ्यो कि!'
पढाइ र गोपालको दोस्ती कहिल्यै जमेन। बरु पढ्ने बेला उनी हनुमानघाटमा पौडी खेल्नै रमाए। कक्षामा पनि सधैं अन्तिम बेन्चमा बस्थे। नतिजा सुनाउँछन्, 'एसएलसीमा तीन पटक फेल भइयो। छोराले पढेर नखाने देखेपछि बाले १९ वर्षमै बिहे गर्दिए।'
बिहेपछिका सुरूआती पाँच वर्ष उनले क्युरियो पसल चलाए। व्यवसाय नचलेपछि चिया र खाजा बेच्न थाले। गोपालले सबै काममा श्रीमतीबाट निरन्तर साथ पाइरहेका छन्। स्वास्थ्य राम्रो हुँदा आमाबाट पनि काममा सहयोग पाउँछन्।
चिया र खाजाको व्यस्तता र 'दुःख' सँगै गोपाल 'शान्ति' पनि खोज्छन्- दत्तात्रयमा हुने दाफा भजनमा नियमित सहभागी भएर। त्यहाँ धिमे, खिः लगायत बाजा बजाउँछन्। यो काम आफ्ना बाजे रत्नलाल लाछिमस्युका पालादेखि निरन्तर चल्दै आएको उनी जानकारी दिन्छन्।
बाजेसमेत जन्मेको यो घर नवदाफा भजनका सामग्री राख्नेदेखि समूहको भोजभतेर गर्ने ठाउँ पनि हो। बाजा, भजन, राग आदि सबैमा उनका बाजे टोलकै सबभन्दा जानकार मान्छे थिए रे। गोपालले चिया पसल खोल्नु एक महिनाअघि उनी बिते। बाजेले सिकाएको संगीतको ज्ञान भने गोपालसँग बाँकी नै छ।
तर परम्परागत सांगीतिक ज्ञान पुस्तैपिच्छे घट्दै गएकोमा चिन्तित छन् उनी।
'बाजे धेरै जान्ने हुनुहुन्थ्यो। उहाँको ज्ञान बा पञ्चलालमा सर्दा केही कम भयो, मेरो पुस्तामा आउँदा अझै कम।'
सांगीतिक माहोलको घरमा हुर्किएका उनले धेरै कुरा संगतबाटै सिके। नेवार परम्पराअनुसार २०४४ सालदेखि उनले आफ्नै बाजे र बाबाट औपचारिक रूपमै संगीत सिक्ने अवसर पाए। हरेक साँझ पौने सात बजे दत्तात्रयको पिँढीमा धिमे, खिः लगायत बाजामा औंला चलाउँदै उनी त्यही पुर्ख्यौली ज्ञान अभ्यास गर्छन्।
पढाइमा कमजोर भए पनि संगीतमा सधैं पहिलो हुन्थे उनी। यही विशेषताले जर्मनी, अष्ट्रिया, इटालीजस्ता देश घुमायो उनलाई।
'हाम्रो घरमा नेवाः संस्कृति विशेष दाफा परम्पराबारे सिक्न विदेशी अनुसन्धाताहरू आउँथे। काठमाडौं युनिभर्सिटीका सरले मसँगै राजु, बुद्धलाल, विष्णुलगायत साथीलाई बजाउनकै लागि विदेश लगे।'
काठमाडौंमै पनि धेरै ठाउँमा बजाउने निम्तो आउँथ्यो उनीहरूलाई। साथीभाइ छरिँदा पहिला जसरी सक्रिय छैनन् उनी। तर अझै पनि उनलाई लाग्दो रहेछ, 'व्यावसायिक सोच भएको भए हामी पनि कुटुम्बजस्तै समूह बनाएर धेरै काम गर्न सक्थ्यौं होला।'
यो त भयो उनको कल्पनाको कुरा। यथार्थमा उनी आफ्नो खस्कँदो पसलको व्यापारलाई कसरी थामथुम गर्ने प्रयासमै व्यस्त छन्। आर्थिक तनाव बढेका बेला उनलाई पसल बन्द गरेर अर्कै पेसा अपनाऊँ कि भन्ने पनि लागिरहन्छ।
'यहाँ चियाको ठाउँमा रक्सी बेच्यो भने दिनकै पचास लिटरसम्म बिक्छ। धेरै कमाइ हुन्छ,' उनी बाले भनेको कुरा सुनाउँछन्, 'तर जे काम गरे पनि रक्सी नबेच्नू। झैझगडा हुन्छ, इज्जत जान्छ।'
आर्थिक समस्याबाट आत्तिएका बेला उनी घरिघरि विगतमा फर्कन्छन्। केही वर्ष अघिसम्म दत्तात्रय स्क्वायरमा बाख्रा डुल्थे। सानाे छँदा यहाँ जताततै लामालामा झार र घाँस हुन्थे। ढुंगा छापेपछि याे परिसर सफा देखिएको छ। ठूला सवारी साधन आवागमनमा रोक लगाइएको छ। सकारात्मक परिवर्तनका केही संकेत देखिएका छन्।
अनि आफैंलाई सान्त्वना दिन्छन्, 'यहाँको माहोल बदलिएजस्तै एक दिन जीवन पनि बदलिने छ।'
यतिले पनि मन हलुका नभएको बेला उनी आफ्नै अग्रजले सिकाएका बाजा बजाएर मन बहलाउँछन्। र, फेरि नयाँ ग्राहकको प्रतीक्षामा टोलाउन थाल्छन्।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी