हेटौंडाबाट राजधानी जोड्ने कान्ति लोकपथमा सरकारले गरेको साढे दुई अर्ब लगानी जोखिममा परेको छ।
७५ प्रतिशत काम सकिएको अवस्थामा सडकमा निरन्तर पहिरो जान थालेपछि यसलाई मर्मत गर्नमात्र थप एक अर्ब रुपैयाँ लाग्ने भएको छ।
बाटोको डिपिआर तयार गर्ने कोरियन कम्पनीले यो क्षेत्रको भौगर्भिक अवस्था कमजोर रहेकाले बिपी राजमार्गको जस्तो मोडेलमा बनाउनु पर्ने सुझाव दिएको थियो।
बिपी राजमार्गको धुलिखेल-बर्दिवासका धेरै ठाउँ भौगर्भिक हिसाबले कमजोर भेटिएपछि जापान सरकारले फरक ढंगले यो राजमार्ग निर्माण गरेको छ।
हरेक किलोमिटरको भौगर्भिक अध्ययन गरेर डाँडा कमजोर भेटिएको ठाउँमा जापान सरकारले कतिपय डाँडाको आधा भागसम्म ढाक्ने गरी ‘रिटेनिङ वाल’ (पर्खाल) बनाएको छ।
धुलिखेलदेखि सिन्धुलीमाडीसम्मै धेरै ठाँउमा सडकमाथि र मूनि दुबैतिर त्यस्ता पर्खाल निर्माण गरिएका छन्। ती पर्खालले पहिरो रोकथाम गर्छन्। पर्खाल निर्माण गर्न महंगो भने हुन्छ।
कान्ति लोकपथ सडक आयोजनाका अनुसार ९० किलोमिटर सडकमध्ये यो वर्षामा तीस ठाउँमा ठूलो पहिरो गएको छ। पहिरोले ३० करोडको क्षति भएको कार्यालयले जनाएको छ।
सडकको भौगर्भिक अवस्था अत्यन्त कमजोर भएका कारण सानो वर्षामा पनि पहिरो जाने गरेको हो।
कार्यालयका इन्जिनियर अमिन्द्र खड्काका अनुसार ललितपुरको तीनपाने, नयाँ गाउँ, झाँक्रीडाँडा, हुपेली काल्चेभीर,तामाखानीमा प्रत्येक दुई-तीन सय मिटरमा पहिरो गएको छ।
मकवानपुरको प्रतापडाँडा, ढिङगान, मकवानपुरगढीमा पहिरो गइरहेको छ।
‘मकवानपुरगढी त लगभग सबै झर्न लागेको अवस्था छ,’ खड्काले भने, ‘वर्षा हुने समय बाँकी रहेकाले क्षति अझै धेरै हुनसक्छ।’
गत सालभन्दा यसपालि पहिरो बढी जान थालेको उनले बताए।
खड्काका अनुसार निर्माण कम्पनीले जिम्मा लिनेबाहेकका ठाउँमा मात्र पहिरो जाँदा ३० करोडको क्षति भएको छ।
‘बनाइरहेको ठाउँमा केही भए निर्माण कम्पनीले नै जिम्मा लिन्छ, तर त्यसबाहेकका ठाउँमा उच्च क्षति भएको छ,’ खड्काले भने।
आयोजना कार्यालयले पहिरो नियन्त्रणका लागि थप एक अर्ब रुपैयाँ सडक विभागसँग प्रस्ताव गरेको छ।
पहिरो गएपछि अध्ययन गर्न गएको इन्जिनियरहरूको टोली प्रतिवेदन दिँदै तत्काल नियन्त्रण गर्न थप एक अर्ब रुपैयाँ प्रस्ताव गरेको हो।
‘यो एक अर्ब रुपैयाँ खर्च गरेर तत्कालै सडक मर्मत नगरे समस्या विकराल हुने अवस्था छ,’ आयोजना प्रमुख विनोद सापकोटाले भने।
इन्जिनियर खड्काका अनुसार कमसल भौगर्भिक अवस्थाका कारण यो समस्या आएको हो। यहाँ नरम खालको माटो बढी छ।
‘कम्तीमा पच्चीस मिटर खनेर स्लोप स्टाविलाइजेसन गर्नुपर्ने अवस्था छ,’ उनले भने।
आर्थिक वर्ष २०७१/०७२ सालमा बहुवर्षीय योजनामा राख्दै सरकारले उक्त सडकका लागि तीन अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको थियो।
इन्जिनियरहरूका अनुसार बाटोको भौगर्भिक अवस्था अनुसार यो अत्यन्तै कम बजेट हो।
बिपी राजमार्गको हरेक एक किलोमिटरमा बीस करोड खर्च भएको थियो।
‘कान्ति लोकपथमा प्रत्येक एक किलोमिटरमा चार करोड पैसा पर्न जान्छ, भौगर्भिक अवस्थाअनुसार यो कम रकम हो,’ आयोजना प्रमुख सापकोटाले भने, ‘सरकारले कम रकम खर्चेर बनाउन खोजेकाले पनि समस्या भएको हो।’
अहिले माग गरिएको एक अर्बले पनि दीर्घकालीन समाधान हुने ग्यारेन्टी गर्न नसकिने इन्जिनियर खड्काले बताए।
‘भौगर्भिक अवस्था कमजोर छ, एक अर्ब खर्चेर बनाउँदा पहिरो जाँदैन भनि शतप्रतिशत ग्यारेन्टी गर्न सकिँदैन, रोकथाम हुन्छ भनौं,’ खड्काले भने।
मुग्लिन-नारायणगढ सडकमा पहिरो जाने समस्या अझै हटेको छैन। मुग्लिन–नारायणगढ सडक संवेदनशील भौगर्भिक धरातलमा छ।
सडकको ७० प्रतिशत क्षेत्र खतरनाक भीमकाय पहिरोको फेदमा छ। भीमकाय पहिरो भनेको पूरानो पहिरो बिस्तारै बगिरहेको अवस्था हो।
ठाउँअनुसार यो सुसुप्त अवस्थामा हुन्छ। इन्जिनियरिङ डिजाइन त्रुटीपूर्ण रहँदा सो सडक पहिरोको जोखिममा परेको हो।
कान्ति लोकपथको ९० मध्ये ४५ किलोमिटर पिच भइसकेको छ। यहाँ अहिलेसम्म २ अर्ब ५१ करोड खर्च भइसकेको छ।
अर्को आर्थिक वर्षमा सडक हस्तान्तरण गर्ने योजना कार्यालयको थियो। ठाउँ-ठाउँमा पहिरो जान थालेपछि योजना असफल भएको छ।
‘सडक विभागसँग परामर्श गरिरहेका छौं, थप लाग्ने एक अर्ब बजेटबारे प्रस्ताव गरेका छौं,’ आयोजना प्रमुख सापकोटाले भने।
सडक विभागले कान्ति लोकपथको वर्तमान अवस्था अत्यन्तै नाजुक रहेको भन्दै तुरुन्तै मर्मतका लागि आयोजनाको प्रस्ताव अर्थ मन्त्रालयमा पठाउन लागेको छ।
‘आयोजनाले कान्ति लोकपथ मर्मत बारे केही प्रस्ताव ल्याएको छ, प्रक्रियागत रूपमा त्यसलाई अर्थ मन्त्रालय पठाउने योजना हाम्रो छ,’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने।
२०१३ सालमा राजा महेन्द्रले नेपाली सेना प्रयोग गरेर यो सडकको ट्रयाक खोल्न लगाएका थिए।
२०१६ सालमा ट्रयाक खोलिएको थियो। त्यसयता लामो समय यो सडक प्राथमिकतामा परेन।
२०६४ सालमा कान्ति लोकपथ सडक कार्यालय स्थापना भएको भयो। कार्यालयले सडक स्तरोन्नति गर्न थाल्यो।
आर्थिक वर्ष २०७१/७२ मा सरकारले देशैभरिका सडक बनाउन ठेक्का खोल्दा यो सडक राष्ट्रिय महत्वको आयोजनामा परेको थियो। त्यसयता कान्ति लोकपथ राजमार्गको काम थालिएको हो।
कान्ति लोकपथ हेटौंडाबाट राजधानी जोड्ने सबैभन्दा छोटो दूरीको राजमार्ग हो। मकवानपुरको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म कान्ति लोकपथ पर्छ।
बुद्धचोकदेखि टीकाभैरवसम्म ७९ किलोमिटर लम्बाइ छ। ७९ किलोमिटर सडक कान्तिलोकपथ आयोजनाले हेर्दै आएको छ। बाँकी ११ किलोमिटर उपत्यका सडक विस्तार कार्यालयको जिम्मामा छ। १३ वटा प्याकेजमा काम भइरहेको छ ।
हेटौंडातर्फ कान्ति लोकपथको प्रस्थान बिन्दु बुद्धचोक र काठमाडौंको प्रस्थान बिन्दु ललितपुर सातदोबाटो हो। लोकपथको निर्माण गर्न चालु हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किमि लम्बाइको रहेको यस मार्गमा साढे आठ मिटर चौडा बनाइएको छ। दुई लेनमा गाडी चल्ने गरी सात मिटरमा कालोपत्रे गरिएको आयोजना कार्यालयले जनाएको छ।
स्वदेशी लगानीमा निर्माण भइरहेको यो नेपालको पहिलो सडक हो। कुनै पनि दातृ निकायको सहयोगबिना नै सरकारले कान्ति लोकपथ निर्माण गरिरहेको छ।