सडकछेउको जंगलमा खरले छाएको एउटा सानो झुप्रो। पानी पर्दा चुहिएर भित्रै आहाल हुन्छ।
झुप्रोको तल्लो छेउतिरको जमिन खोलाले कटान गर्ने जोखिम बढ्दैछ। नौ वर्षीय र तीन महिने छोरा साथमा छन्। उनले दैनिक मजदुरी गरेर आफू र परिवारका अरु तीन सदस्यको दुई छाक टार्छन्।
जाजरकोटको गर्खाकोटका करण शाही अहिले ४३ वर्षका भए। १४ वर्षको उमेरमा भारत गएका शाही २०७५ साउनमा आफ्नो जन्मघर फर्किएका थिए। श्रीमती र दुई छोरालाई लिएर घर फर्किएका उनले आफ्नो दाइसँग अंश लिएर छुट्टै बस्ने इच्छा देखाए। तर, अंश पाएनन् ।
अहिले उनको परिवार सुर्खेतको भेरीगंगा नगरपालिका–२ मा पर्ने सुर्खेत–नेपालगञ्ज सडकको छेउमा झुप्रो बनाएर बसिरहेको छ। ‘पहिले नै कमाउन भनेर भारत गएँ, सोचेजस्तो कमाइ नभएपछि घर नफर्किएर उतै यति समय बित्यो,’ शाहीले भने, ‘उतै विवाह भयो, कमाउन सकिएन। जन्मथलो बस्छु भनेर आउँदा दाइबाट अंश नै पाइएन।’
उनी भारत गएको केही वर्षपछि उनका बुवा-आमाको मृत्यु भएको थियो। उनी बुवा-आमाको काजकिरिया गर्न घर आउन सकेका थिएनन्। यसैलाई विषय बनाएर दाइले आफूलाई अंश नदिने बताएको करणले बताए। ‘धेरै उत्पादन नभए पनि गाउँमा जग्गा धेरै छ, मैले पाउनुपर्ने अंश पाए परिवार पाल्न भइहाल्थ्यो,’ उनले भने।
२०७५ साउनमा घर (जाजरकोट) फर्किएका शाहीले दाइबाट अंश नपाउने भएपछि मंसिरमा सुर्खेतस्थित सडक छेउमा खाली भएको ठाउँमा झुप्रो बनाएर आफू बसेको बताए। ‘चार महिनाजति घरमा बसेँ, अंश मागेपछि दाजु-भाउजुले नै मसँग झगडा गर्नुभयो,’ उनले भने, ‘तैँले बाबुआमाको किरिया गरिनस्। मैले किन अंश दिने भनेपछि म यहाँ आएको हुँ।’ दाजुले अंश दिएमा आफू घर फर्किने उनले बताए।
करण यहाँ अहिले परिवारको खर्च चलाउन छिन्चु, वीरेन्द्रनगर लगायतका बजारमा मजदुरी गरिरहेका छन्। ‘पाएसम्म काम गर्छु, नत्र यतिकै हुन्छ,’ उनले भने, ‘गाउँमा भए दुस्ख गरेर भए पनि खेती गरिन्थ्यो, यहाँ त मजदुरीबाहेक अरु गर्ने केही छैन।’
छोराको पढ्ने रहर
उनका छोरा किरण शाही ९ वर्षका भए। उनले भारतमा तीन कक्षासम्म पढेका छन्। यहाँ भने उनले पढ्न पाएका छैनन्। बस्ती नै नभएको ठाउँमा बसाइ हुनु, नजिक विद्यालय नहुनु, टाढा पढ्न जानका लागि खर्च नहुनुले उनी पढाइबाट नै बञ्चित छन्।
‘उतै पढेको, यहाँ नजिक विद्यालय छैन,’ किरणले भने, ‘बजारमा पढ्न जाउँ भने पैसा हुँदैन, पढ्ने रहर त छ।’ कसैले सहयोग गरेमा अरुको घरमा बिहान-बेलुका काम गरेर भए पनि विद्यालय जाने इच्छा भएको उनले बताए।
किरणकी आमा कमला घर्तीले छोरालाई पढाउने इच्छा हुँदाहुँदै पनि नसकिएको दुखेसो पोखिन्। ‘छोराछोरीलाई नपढाउने मन त को बाबु-आमाको होला, छाक टार्नै नसकेका बेला उसलाई कसरी पढाउनु,’ उनले भनिन्, ‘कापीकलम किन्ने पैसा हुँदैन, कसैले पढाइदिए म बरु गुन मान्ने थिएँ।’