प्रदेश नंं ५ प्रदेशसभामा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा बम बिष्फोट गराएको अभियोगमा रुपन्देही प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ११ बस्ने बिक्रम यादव, गैडहवा गाउँपालिका वडा नं ६ का रुदल यादव र सियारी गाउँपालिका वडा न. ४ ओर्लहवाका बिष्णुप्रसाद तिवारी छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्मराज भण्डारीका अनुसार पक्राउ परेकाहरुमाथि गत साउन ३१ गते राति नेकपाका नेता तथा प्रदेशसभामा सत्तापक्षका मुख्य सचेतक भुमिश्वर ढकालको घरमा बम बिष्फोट गराएको आरोप छ।
पक्राउ परेका मध्ये बिक्रम यादव नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा रुपन्देहीद्वारा गठित जनसरकार उपप्रमुख, रुदल यादव प्रादेशिक जनसरकारका सदस्य र बिष्णु प्रसाद तिवारी उक्त पार्टीको जिल्ला कमिटी सदस्य रहेको रुपन्देही प्रहरीको दावी छ।
उनीहरुले सैनामैना नगरपालिका वडा नं ८ शान्ति टोलमा रहेको ढकालको घर अगाडि पार्किङ गरिराखेको लु १ झ ४५६ नं. को गाडीमा वियरको बोत्तलमा मट्टितेल भरी आगो लगाई क्षति पु¥याएको प्रहरीको दावी छ।
साथै रुदल र बिक्रमले गत साउन १५ गते राति गैंडहवा गाउँपालिका वडा नं.२ सानो धुपहीमा रहेको एनसेलकोे टावर र मेसिन जोडिएको तारहरुमा आगो लगाई बम पड्काइ क्षति पु¥याएको समेत प्रहरीले जनाएको छ।