चितवनको भरतपुर नगरपालिका-२ गंगोत्री मार्गका ७१ वर्षीय एक वृद्धको डेंगु संक्रमणबाट शनिबार मृत्यु भयो। ज्वरो आएपछि भरतपुर सामुदायिक अस्पताल उपचारका लागि गएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।
चितवनदेखि टाढा डोटीको दिपायलस्थित सिलगढी नगरपालिका -६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीको पनि डेंगु संक्रमणबाटै गत साता मृत्यु भएको थियो।
गत जेठदेखि नै देशका विभिन्न जिल्लामा डेंगु संक्रमण देखिए पनि नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु हुन थालेको छ।
एडिज नामको लामखुट्टेले दिउँसो टोकेपछि मानिसमा डेंगु संक्रमण हुन्छ। चितवन र डोटीमा मात्र होइन, काठमाडौं उपत्यका पनि डेंगुको उच्च जोखिममा छ। पानी जम्ने खाल्डो, पानी भरेर राखिएका भाँडाहरूमा लामखुट्टे हुर्कने भएकोले डेंगु नियन्त्रणमा समस्या देखिएको हो।
स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बर्खा सकिएपछि लामखुट्टे केही नियन्त्रणमा आउँछ।
‘बर्खामा लामखुट्टे बढेको छ। त्यसैले डेंगुको संक्रमण कात्तिकसम्म रहन पनि सक्छ,’ महाशाखा डेंगु रोग हेर्ने सम्पर्क व्यक्ति उत्तमराज प्याकुरेलले भने, ‘लामखुट्टेको वृद्धि, विकास बर्खामा धेरै हुँदो रहेछ।’
महाशाखाका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुरलगायत प्रदेश नम्बर ३ मा डेंगुको संक्रमणका बिरामी छन् भने प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा पनि डेंगुको समस्या देखिएको छ।
प्रदेश नम्बर १ र ३ मा गरी नौ सय २८ जना र गण्डकी प्रदेशमा दुई सय ३३ जना डेंगुका बिरामी छन्।
सुनसरीमा विगत तीन महिनादेखि देखा परेको डेंगु अझै नियन्त्रणमा लिन सकिएको छैन।
सुनसरीमा दुई सय ४१ जना बिरामी छन् भने मकवानपुरमा दुई सय ८७ जना छन्।
‘डेंगु देखिएका सबै ठाउँमा नियन्त्रणको प्रयास भइराखेको छ,’ प्याकुरेलले भने, ‘केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर काम गरिएको छ।’
डेंगु लागेका बिरामीलाई खुवाउने औषधि भने छैन। अस्पताल जाने, चिकित्सकहरूको रेखदेखमा भने बस्नु पर्छ।
‘डेंगुबाट जोगिन टोल-टोलमा सचेतना कार्यक्रम सुरू गरेका छौं,’ उनले भने, ‘पानी जमेका खाल्डाहरू पुर्ने, घरभित्र पानी संकलन गरेका भाडाहरू छोपेर राख्न भनेका छौं।’
सरसफाइ तथा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरिएको उनले जानकारी दिए।
सुनसरीमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोग र स्वास्थ्य सेवा निर्देशनलायबाट डेंगु नियन्त्रणका काम सुरू गरिएको उनले बताए।
‘बाहुला भएको कपडा लगाउन भनेका छौं,’ उनले भने, ‘दिउँसो लामखुट्टेले टोक्यो भने डेंगु लाग्ने हो। त्यही भएर बाहुला भएको लुगा लगाउनुपर्छ।’
उनले सचेतना कार्यक्रम विद्यालयका विद्यार्थीदेखि गाउँलेहरूलाई पनि दिएको बताए।
डेंगु परीक्षणका लागि किट अभाव देखिएको छ। तर माग भएअनुसार नै किट पठाइएको दाबी प्याकुरेलले गरेका छन्।
‘सबै बिरामीलाई किटको आवश्यकता पर्दैन,’ उनले भने, ‘माग भएका ठाउँमा अभाव हुन भने दिएको छैन।’ सुनसरीमा भने किटको अभाव छ। ‘सबभन्दा राम्रो बिरामीको रगत जाँच नै हो,’ उनले भने।
काठमाडौं उपत्यकामा पनि डेंगु सार्ने एडिज लामखुट्टेको बिगबिगी भएकोले सचेत रहन आग्रह गरेको उनले बताए।
‘शुक्रबारसम्म काठमाडौं उपत्यकामा डेंगुका ५९ बिरामी भेटिएका छन्,’ उनले भने, ‘उपत्यकाभित्र २३ केश देखिएको छ भने बाहिरबाट आएका ३६ जना बाहिरबाट आएका देखिन्छ।’
उपत्यका केन्द्रित सचेतना अभियान सञ्चालनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहहरूसँग छलफल गरिसकिएको उनले बताए।
‘डेंगु नियन्त्रणका लागि सबै मिलेर अघि बढ्नुपर्छ। समयमै सचेत हुन सकिएन भने नियन्त्रण गर्न गाह्रो हुन्छ। नगरभित्रका टोलमा सरसफाइलगायत सचेतनाका कार्यक्रमहरू गरिएका छन्,’ प्याकुरेलले भने।
डेंगु लागेपछि ज्वरो आउने, रूघाखोकी लाग्ने, खान मन नलाग्ने, जीउ दुख्नेजस्ता लक्षण देखा पर्छ। समयमै स्वास्थ्य संस्था गएर चिकित्सकलाई नदेखाए बिरामीको मृत्युसमेत हुन्छ।
यो पनि पढ्नुहोस् :
'स्मार्ट' हुँदैछन् काठमाडौंका लामखुट्टे