उदयपुरको बेलका नगरपालिकाको वडा नं ७ र ८ को सीमा कोसी नदीसँग जोडिन्छ। डेढ वर्ष अघिसम्म यी वडाका स्थानीय आफ्ना मरेको चौपाया कि त खाल्डो खनेर गाड्थे कि कोसीमा बगाइदिन्थे।
तर अहिले त्यसो गर्दैनन्। मरेको चौपायालाई सुगाचरी भीरमा लगेर गिद्ध भएको ठाउँमा राखिदिन्छन्। डेढ वर्षयता सुगाचरीमा यसरी नै मरेको चौपाया, गिद्धलाई आहारा हुँदै आएको छ।
‘हामीले ७ र ८ नम्बर वडालाई मरेको चौपाया गाड्न वा फाल्न निषेध गरेका छौं,’ नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले सेतोपाटीसँग भने, ‘बरु उहाँहरुले सक्नुभएन भने हामी नै मरेको चौपायालाई लगेर गिद्ध भएको ठाउँमा छोड्छौं।’
गाई, भैंसी मरेको खबर आउने बित्तिकै नगरपालिकाले ट्रयाक्टरसहितको टोली पठाउने र सो टोलीले गिद्ध भएको ठाउँमा चौपाया पुर्याउने थापाले बताए। डेढ वर्ष पहिले प्रमुख थापा सुगाचरी भीर पुग्दा उनले गिद्धको सानो बथान उडेको देखे। त्यसअघि उनलाई सो क्षेत्रमा गिद्ध पाउने कुराको मेसो पनि थिएन। ‘त्यसपछि गिद्धको संरक्षण हुने हिसाबले यस्तो कामको थालनी गरिएको हो,’ थापाले भने।
थापाका अनुसार अहिले झण्डै ६ सयको हारहारीमा गिद्धहरु छन्। थापाले भने, ‘हामी संख्या बढाउन थप संरक्षणमा जुट्छौं’ उनले भने ‘हामीले अध्ययन गर्दा गिद्धलाई सिमलको रुख मनपर्ने रैछ। हामी १ हजार सिमलको रुख रोप्ने तयारीमा छौं।’
यहाँ पाउने गिद्ध कुन प्रजातीको हो भन्ने बारे अध्ययन नभएको थापाले बताए। यद्यपी यसबारे पनि छिट्टै अध्ययन हुने उनले बताए। नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छन्। जसको संख्या २० हजार हारहारीमा रहेको ‘नेपाल पन्छी संरक्षण संघ’ गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुषालले जानकारी दिए।
‘१९९० को दशकमा नेपालमा १० देखि १६ लाख गिद्धको संख्या अनुमान गरिएको थियो। तर त्यो संख्या अहिले घटेर २० हजारमा झर्यो,’ भुषालले भने।