सुनसरीको धरान उपमहानगरभित्र देखिएको डेंगीको संक्रमण तीन महिना हुँदा पनि नियन्त्रणमा आउन सकेको छैन।
डेंगी नियन्त्रणका लागि उपमहानगरले सचेतना अभियानदेखि लामखुट्टेका लार्भा नष्ट र सरसफाइलाई तीव्रता दिए पनि बिरामीको संख्या बढ्दो छ।
धरान उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादव डेंगी नियन्त्रणमा लिन नसकिएको स्वीकार गर्छन्।
‘जति प्रयास गरे पनि डेंगी नियन्त्रणमा लिन सकिएन, बिरामीहरू बढेका छन्,’ उनले सेतोपाटीसँग भने।
धरानमा तीन हजार पाँच सय जनामा डेंगीको संक्रमण देखिएको छ।
‘टोल-टोलमा जनचेतनाका कार्यक्रम सञ्चालन गरिएको छ,’ उनले भने, ‘लामखुट्टेका लार्भा खोजेर नष्ट गरिराखेका छौं।’
उपमहानगरले सचेतनाका साथै लामखुट्टेका लार्भा नष्ट गर्न फगिंङ स्प्रे प्रयोग गरेको जनाएको छ। पानी जम्मा हुने खाल्डा तथा पानी संकलन गरेर घरभित्र राखिएका भाडामा लामखुट्टेका लार्भा हुर्कन्छन्। ती खाल्डाहरू पुर्न उपमहानगरले आग्रह गरेको छ।
धरानदेखि टाढा चितवनमा पनि डेंगीको संक्रमण छ।
डेंगी संक्रमणले यहाँ एक वृद्धको मृत्यु पनि भइसकेको छ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार दुई सय २५ जना डेंगीका बिरामी छन्।
‘डेंगीको संक्रमण बढेपछि २९ वडामा सचेतना अभियान चलायौं,’ भरतपुर महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले भनिन्, ‘सबै वडामा सम्पर्क व्यक्ति नै खटाएर डेंगी नियन्त्रणका लागि प्रयास गरिएको छ।’
महानगरले वडाहरूमा पुगेर डेंगीका बिरामीको अवस्था बुझेको पनि उनले बताइन्।
‘डेंगी संक्रमण भएका बिरामीको अवस्थाबारे महानगरले जानकारी लिएको छ,’ उनले भनिन्, ‘लामखुट्टेको टोकाइबाट बच्न पनि आग्रह गरिएको छ।’ दिउँसो एडिज नामको लामखुट्टेले टोकेमा डेंगी लाग्छ। डेंगी लागेपछि ज्वरो आउने, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन्।
गण्डकी प्रदेशस्थित पोखरामा पनि डेंगीका बिरामी छन् तर नियन्त्रणमा आइसकेको छैन।
‘केही सुधार आएको छ तर पूरै नियन्त्रणमा आइसकेको छैन,’ पोखरा महानगर -८ का अध्यक्ष रूद्रनाथ बरालले भने।
यहाँ ६४ जनामा डेंगीको संक्रमण देखिएको छ।
डेंगी नियन्त्रणका लागि महिला समूह, वित्तिय संस्थाहरू र प्रहरीको सहयोगमा घरदैलो अभियान चलाएको उनले बताए। ‘सचेतना कार्यक्रम तथा पर्चा र पम्लेटहरू वितरण गरेका छौं,’ उनले सेतोपाटीसँग भने।
डेंगी रोग नियन्त्रणका लागि केन्द्रबाट किट पठाउनेबाहेक सहयोग नभएको उनले गुनासो गरे।
‘स्थानीय सरकारकै प्रयासमा डेंगी नियन्त्रण गर्न लागिएको छ,’ उनले भने, ‘केन्द्रले सहयोग गर्ने आश्वासन दिन्छ तर आर्थिक तथा प्राविधिक सहयोग गरेको छैन।’
डेंगी संक्रमणबाट डोटी र चितवनमा गरी दुई जना मृत्यु भएको थियो।