सन् २००६ को कुरा हो, 'राधा दिदी' भर्खर मृत्युको मुखबाट फर्किएकी थिइन्। आगाले पोलेको घाउहरू खाटा बसिसकेकै थिएनन्।
'कत्ति घरभित्र बस्नु' भनेर उनी बाहिर निस्किन्थिन्। बाहिर हिँड्दा मनको घाउ निको भएको भान हुन्थ्यो। एक दिन जमल चोक पुगेकी थिइन्। साथमा भाइहरू पनि थिए। उनका आँखा नाचघरसँगै जोडिएको मःमः लेखिएको होडिङ बोर्डमा पर्याे। आँत रसाएर आयो।
होटलभित्र पसेकी मात्र थिइन्, ग्राहकहरू खाँदाखाँदैको मःमः छाडेर जर्याकजुरुक्क उठेर बाहिरिए।
'ती मान्छेले आगाले डढेको अनुहार हेर्दा 'साइत बिग्रिने' ठाने वा खानै दिङदिङ मानेर हिँडे, मलाई थाहा छैन,' उनले सुनाइन्, 'मेरै कारणले उठेर हिँडे भन्ने थाहा छ।'
आफू छिरेपछि रित्तोप्रायः भएको पसलले उनको मःमः खाने रहर मरिसकेको थियो। तर, भाइले डाढस दिए।
'यिनीहरू उठेर हिँडे त के भयो, साहुजीले केही भनेका छैनन्,' त्यति बेला भाइले भनेका यी वाक्य राधाले बिर्सेकी छैनन्। बिर्सिऊन् पनि कसरी, परिवारले दिएको यही आडभरोसाले आज उनलाई 'राधा दिदी'लाई बनाएको छ। उद्यमी बनाएको छ। आगोले डढाएर घरमै थन्किन बाध्य महिलाहरूको प्रेरणा बनाएको छ।
बसुन्धरा चोकको व्यस्त सडकबाट अलिकति भित्रपट्टि छ– राधा दिदीको उद्यम केन्द्र। तीनतले घरको आँगनमा एउटा अस्थायी टहरा बनाइएको छ। टहरामा छन् दुइटा कोठा। ४२ वर्षीया राधा दिदी अर्थात् राधा श्रेष्ठ हरक्षण त्यहीँ भेटिन्छिन्- आगाले पोलेर खाटा बसिनसकेको 'घाउ'लाई सान्त्वना दिइरहेको र सहाराको मल्हम लगाउँदै गरेको अवस्थामा।
उद्यम केन्द्र पस्दा-नपस्दै बाहिर ढोकामै एक जोडी कृत्रिम खुट्टा देखिन्छन्, राधाका होइनन्। आगाले जलेर पुनर्जीवन पाएका अरू महिलाका सहारा हुन् यी खुट्टा। राधाको उद्यम आगाको लप्काबाट उम्किएर आएकाहरूको जीवन अघि बढाउने माध्यम बनेको छ। उनीहरू राधाका हिम्मत हुन्। र, राधा सबैकी प्रेरणा।
भुइँभरी छरिएका रंगीचंगी पोतेका दाना, क्रिस्टल, धागो, कपास र कपडाका ससाना टुक्राबाट अनुमान लगाउन सकिन्छ- यहाँ पोते, माला, चुरा, गुडिया, किरिङ आदि बनाउने काम भइरहेको छ।
'हाम्रो दिन यसरी नै बितिरहेको छ, जम्मा भएर आफ्नो दुःखसुख बाँड्छौं। दुई चार पैसा कमाएर खुसी हुन्छौं,' कोठाभित्र प्रवेश गर्नासाथ पोतेको काम गरिरहेकी एक जनाले भनिन्। उनको शरीर राधाकोभन्दा धेरै जलेको छ।
उनको 'होमा हो' मिलाउँदै राधा थप्छिन्, 'यहाँ तयार गरिने धेरैजसो सामानका डिजाइन यूट्युबबाट सिकिएको हो। सबैले त्यहीँबाट तालिम लिनुहुन्छ।'
रमाइलो मानेर काम गरिरहेका महिलाहरूको मुस्कानमा राधा आफ्नो खुसी देख्छिन्। कलात्मक पोते, माला, झुम्काबाहेक यहाँ मैनबत्ती पनि बन्छन्। र, यिनै मैनबत्तीले सहरका ठूला र राम्रा होटल उज्याला बनाउँछन्।
सुरूआत सानै किन नहोस्, असाध्यै सन्तुष्टि मिलेको बताउँछिन् उनी। झन् जब कोही आगो पीडित महिला कामको खोजीमा उनैलाई भेट्न केन्द्रमै आउँछन्, हौसला दुई गुना बढ्छ।
'नयाँ महिला भेट्दा उनीहरूको रुपमा आफूलाई पाउँछु। आफ्नै अवस्था याद गर्छु, जति बेला म सकिएर फेरि सुरू भएकी थिएँ,' विगततर्फ फर्किँदै उनले भनिन्।
सन् २००६ को मार्च महिना। सामाखुसीस्थित आफ्नै घरमा राधा र उनकी आमा सुत्ने तरखर गर्दै थिए। अचानक भान्साबाट अनौठो गन्ध आयो। आमाछोरी नै भान्सा छिरे। ग्यास सिलिन्डर 'लिक' भएछ। कुन बेला ग्यासमा आगो लाग्यो र पड्कियो, आमाछोरीले थाहै पाएनन्।
राधाका हात र अनुहार आगाले सोहोर्यो। आमाको उस्तै हालत। दुःख झनै थपियो जब घटनाको तीन दिनपछि आमा बितिन्। राधाको ३० प्रतिशत भाग जलेको थियो। डाक्टरलाई डर थियो, राधा पनि निको नहुने हुन् कि!
धन्न, उनको स्वास्थ्य सुधारियो। जीवनले पुनर्जीवन पायो। नयाँ जीवनले उद्यमको बाटो पहिल्यायो।
राधा चाबहिलको एउटा होटलमा म्यानेजरका रूपमा काम गर्थिन्। आफूले जिम्मा पाएको काम लगनशील भएर पूरा गर्ने राधाले शुष्मा कोइराला अस्पतालका ३९ दिन बढो मुश्किलले बिताइन्। घर र अफिसमा आफूले गर्ने काम आँखा अगाडि आइरहे। बेचैनी बढिरह्यो।
'मलाई आफू मर्नु न बाँच्नु हुँदासम्म पनि कामकै चिन्ता लागिरह्यो,' राधाले भनिन्, '४० औं दिनमा अस्पतालबाट विदा भएर सिधै अफिस गएँ। र काम पनि गरेँ। कतिपय महिला यस्तो घटनापछि कामबाटै निकालिएका छन्। हेपिएका छन्। चेपुवामा परेका छन्। धन्न मलाई कसैले केही भनेन।'
तर उनको योजना होटलमै काम गरेर बस्ने थिएन। अस्पताल बस्दा आफूजस्तै आगोले जलेका र जलाइएकाहरूको रोदन, चित्कार सुनेकी थिइन्। अब कसरी बाँच्ने र समाजमा पुनर्स्थापित हुने भन्ने छटपटीको डाङडुङ राधाको कानमा गुञ्जिरहन्थ्यो।
'आगोमा आमा गुमाएँ, हामी जस्ता धेरै महिलाको पीडा महशुस गरेँ,' आँटिलो स्वरमा राधाले सुनाइन्, 'मैले त्यतिबेलै ठानेँ–अस्पतालबाट निस्केर यस्तै महिलाका लागि सहयोग गर्छु।'
अस्पतालका डाक्टरहरूसँग उनले चिनजानी बढाइन्। अस्पताल परिसरमै रहेको 'सेल्टर' मा केही महिला भेटिन्। उनीहरूका कथा सुनिन्। केही वर्ष यसरी नै बिते।
अन्ततः दुई वर्षअघि उनले सहयोग जुटाएरै आफूजस्तै महिलाहरूका दुःख-पीडा हटाउने उपाय फेला पारिन्। उनीहरूको नयाँ जीवनलाई नयाँ तरिकाले जिउन मद्दत गरिन्। उनीहरू अहिले एकै ठाउँ भेला भएर पोते, माला, बाला लगायत सामग्री उत्पादन र व्यवसाय गर्छन्।
यिनै सामग्री किन भनेर सोध्दा राधा भन्छिन्, 'यो काम घरै बसेर गर्न सकिन्छ। ठूलो शारीरिक श्रम गर्नु पर्दैन र सुरू गर्न धेरै लगानी चाहिँदैन। हामीकहाँ मानिसको अनुहार हेरेर काम दिने/नदिने चलन छ। त्यस्तोमा हामीलाई यो काम धेरै सहज हुन्छ। बजार पनि राम्रो छ।'
यहाँ जोडिएका महिलाहरूको स्वाभिमान र आत्मविश्वास बढेको छ।
'केही काम गर्न नसकेपछि अरूको कुरा छाडौं, परिवारले नै पनि अवहेलना गर्छ,' राधा भन्छिन्, 'पीडितको मन बुझाउन सके दुखी समय पनि सजिलै टर्छ।'
केन्द्रमा जम्मा हुनेहरूले आफ्नो तीतो विगत भुलाउने बाटो पाएका छन्। आफैंजस्तो अवस्थाका अन्य व्यक्तिसँग भेटेर बोल्न पाए मन धेरै हलुका हुने राधाको अनुभव छ। आगोले जलेका घटनाहरूमा धेरै जसोको हात र अनुहारमा असर गरेको हुन्छ।
'हात नै नभएपछि कसरी काम गर्नू। अनुहार बिग्रेपछि धेरैको आत्मविश्वास गुम्छ। जुन फिर्ता ल्याउनु निकै चुनौतीपूर्ण काम हो,' उनी भन्छिन्।
केन्द्रमा यी महिलाहरूको काम गर्ने कुनै निश्चित समय छैन। आफ्नो समय र फुर्सद मिलाएर गर्न सक्छन्। केही महिला ढुक्कै यहीँ काम गर्छन् भने कोही सातामा ६ दिन अन्तै काम गरेर एक दिन मात्र केन्द्रमा आउँछन्। उनीहरूको कामप्रतिको लगावको कदर गर्छिन् राधा।
'हामी यहाँ काम मात्र होइन, एकअर्काको दुःखसुख र समस्या सुनाउँछौं। हल निकाल्छौं र हिम्मत जुटाउँछौं। पहिले मुख ढाकेर हिँड्ने महिला अचेल आफूलाई स्वीकारेर पर्दा हटाएर हिँड्न सक्छन्। आफूलाई अन्धकारमा राख्दैनन्,' उनी खुसी हुन्छिन्।
अनुहारमा जलेका खत देख्दा निधार खुम्च्याउनेहरूका अघि खुलेर हिँड्न रुचाउँछन् राधा र उनका सहकर्मी। कसैले नराम्रो बचन बोले खुम्चिएर बस्दैनन्, बरु जवाफ फर्काउँछन्।
'बाहिर कतै हामीलाई देख्दा साइत परेन, डढेको अनुहार देखियो भन्छन्। उनीहरूको साइत नपर्नुमा हाम्रो गल्ती कसरी हुन सक्छ,' उनी दिक्क मान्दै भन्छिन्, 'अबको समाजले यो भ्रम तोड्न सके हुन्थ्यो। सार्वजनिक स्थलमा हिंस्रक जनावर भए जस्तो व्यवहार भोग्न नपरोस्।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी