सुर्खेत जिल्लाको सदरमुकाम र कर्णाली प्रदेशको राजधानी हो, वीरेन्द्रनगर।
नामबाटै थाहा हुन्छ, यो सहरसँग तत्कालीन राजा वीरेन्द्रको साइनो छ। त्यो साइनो पचास वर्षभन्दा पूरानो छ।
राजा वीरेन्द्र २०२३ सालमा पहिलो पटक सुर्खेत आएका थिए।
उनलाई सुर्खेत उपत्यका खुब मन पर्यो। उपत्यका ठूलो थियो, हावापानी पनि राम्रो थियो तर भौतिक विकास थिएन, पूर्वाधारको अभाव थियो।
२०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमालाई साथमा ल्याएर वीरन्द्रले सुर्खेत उपत्यकाको गुरूयोजना बनाउन लगाए।
त्यतिञ्जेलसम्म कटकुवा नगर पञ्चायत भनिने उपत्यकालाई वीरेन्द्रनगर पञ्चायत नामाकरण गरियो।
तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि बनाइयो।
राजा वीरेन्द्रको त्यही योगदानको सम्झनामा वीरेन्द्रनगरको मुख्य चोकमा उनको शालिक राखियो।
भारतको जयपुरमा बनाएर ल्याइएको शालिक अनावरण गर्न २०४४ मा राजा वीरेन्द्र र रानी ऐश्वर्य सुर्खेत पुगे।
झन्डै २० वर्ष वीरेन्द्र चोकमा उनको शालिक उभिइरह्यो।
२०५२ सालदेखि सुरू भएको द्वन्द्वकालमा मध्यपश्चिमका धेरै जिल्ला प्रभावित भए। सक्नेहरू जग्गा किनेर, नसक्नेहरू विस्थापित भएर वीरेन्द्रनगर आइपुगे। भौतिक विकाससँगै यो सामाजिक चक्रको पनि साक्षी बन्यो वीरेन्द्रको शालिक।
२०६२/०६३ मा जनआन्दोलन भयो। लोकतन्त्र मागियो, गणतन्त्रको नारा लाग्यो। आन्दोलनकारीले राजा वीरेन्द्रको शालिक तोडफोड गरे। हातखुट्टा भाँचेर भुइँमा लडाइदिए।
१३ वर्षपछि अहिले त्यही वीरेन्द्र चोकको पुनर्निर्माण गरिएको छ। चोक पहिलेभन्दा चिटिक्क बनेको छ।
माथिल्लो भागमा वरिपरि गमला राखिएको छ। नाम वीरेन्द्र चोक नै राखिएको छ तर राजाको नाममा बनेको चोकमा उनको शालिक भने छैन।
चोकदेखि केहीपर नगरपालिकाको कार्यालयभित्र उनको शालिक बेवारिसे लडिरहेको छ।
नगरपालिका कम्पाउन्डभित्र दमकल पार्किङ गर्न बनाइएको ठाउँमा दमकलसँगै एउटा टिपर छ। त्यहीँ बेवारिसे मिल्किएको शालिकको टाउको र खुट्टा छैन, बीचको भागमात्र छ।
चोकमा वीरेन्द्रको शालिक राख्न दबाब नपरेको होइन तर नगरपालिकाले आफ्नो नामसँग जोडिएका वीरेन्द्रको सालिक राख्न आवश्यक ठानेन।
वीरेन्द्रनगर–६ का वडाध्यक्ष मोतिप्रसाद कँडेलले अहिले बनेको संरचना नै चोकको अन्तिम संरचना भएको बताएका छन्।
चोकमा वीरेन्द्रको शालिक राख्नु पर्ने जनदबाब भने कायमै छ।
स्थानीय मुकुन्दश्याम गिरी शालिकबिनाको वीरेन्द्र चोकको अर्थ नरहने बताउँछन्।
‘तत्कालीन राजा वीरेन्द्रकै योग्दानले अहिले वीरेन्द्रनगर वीरेन्द्रनगरजस्तो बनेको छ,’ गिरीले भने, ‘उनको शालिक राख्नैपर्छ, हामी जनदबाब सिर्जना गरेर भए पनि शालिक राख्न बाध्य पार्छौं।’
अरू देशमा आफ्नो इतिहासको सम्मान गर्ने चलन भए पनि नेपालमा त्यस्तो नहुनु दु:खद भएको गिरीले बताए।
‘भारत स्वतन्त्र हुनुअघि बेलायतको साम्राज्य थियो, त्यतिबेला बेलायती शासकहरूले बनाएका शालिक अहिले पनि भारतमा देख्न पाइन्छ,’ राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका गिरीले भने,‘भारतीय सरकार वा जनताले इतिहासका रूपमा ती शालिक जोगाएर राखेका छन्। नेपालमा भने शालिक भत्काएर इतिहास मेट्ने प्रयत्न भएको छ।’