केही बोल्न नसक्ने, केही सुन्न नसक्ने। शिक्षक हात र मुखको इशारा गरेर ती बालबालिकाहरूलाई अध्यापन गराउँछन्।
सुन्ने र बोल्ने क्षमता नभएका ८७ जना विद्यार्थी अध्ययनरत छन् विद्यालयमा। सुन्न र बोल्न नसक्ने बालबालिकाको शैक्षिक केन्द्रका रूपमा स्थापित वीरेन्द्रनगरको शिद्ध बहिरा बाल स्कुल आफैंले भने सधैं अभाव खेप्नुपरेको छ।
२०३७ सालमा स्थापना भएको यो विद्यालय भवन, खेल मैदान, पाठ्यपुस्तक, शिक्षक, आवश्यक बजेट जस्ता विभिन्न कुराको अभाव खेप्दै आएको छ। विद्यालयको भवन जीर्ण अवस्थामा पुगेको छ। त्यसैमा पनि कक्षा कोठाको नै अभाव छ।
वीरेन्द्रनगरमा रहेको यो विद्यालय अहिले सुन्ने र बोल्ने क्षमता नभएका बालबालिका अध्ययन गर्न एउटामात्र विद्यालयका रूपमा छ।
सुर्खेतका बड्डीचौर, मालारानी र गुल्मीमा रहेको यस्ता प्रकृतिका विद्यालयहरू गाँभेर यही विद्यालयमा ल्याइएको हो।
उचित स्रोतसाधन र अपर्याप्त शिक्षक दरबन्दीका कारण विद्यालयको स्थिति नाजुक रहेको प्रधानाध्यापक चन्द्र बहादुर कार्कीले बताए।
‘अहिले कक्षा ८ सम्म सञ्चालन गरेका छौं, जम्मा ८७ जना विद्यार्थी छन्,’ कार्कीले भने,’ ६ जना शिक्षकको दरबन्दी भए पनि अहिले चार जनामात्र शिक्षक छन्।’
विद्यालयको नौ कोठे भवनभित्र एउटा कोठामा कार्यालय सञ्चालनमा छ भने बाँकी कोठामा कक्षा सञ्चालन भइरहेका छन्।
बर्खाको समयमा विद्यालयमा बढी सास्ती हुने गरेको प्रधानाध्यापक कार्कीले बताए।
‘पानी पर्दा सबै कक्षाहरू चुहिएर पोखरी बन्छन्, गर्मीमा सिधै सूर्यको प्रकाश कोठाभित्रै पर्छ,’ उनले भने।
कक्षा १० सम्म सञ्चालन गर्ने अनुमति पाएको भए पनि कक्षा कोठा र शिक्षक अभाव हुँदा ८ सम्ममात्र सञ्चालन गरिएको उनले जानकारी दिए।
विद्यालयको भवनसँगै शौचालय समेत जीर्ण अवस्थामा रहेको कार्कीले बताए।
प्रधानाध्यापक कार्कीका अनुसार विद्यालयमा प्राथमिक तहमा एकजना, निम्न माध्यमिक तहमा ४ र माध्यमिक तहमा १ जना गरी ६ जनाको दरबन्दी रहेको छ।
विद्यालयमा कम्तीमा ९ जना शिक्षक आवश्यक पर्ने उनले बताए।
विशेष शिक्षामार्फत् सञ्चालन भएको विद्यालयमा बहिरा विद्यार्थीलाई पढाउने विशेष शैक्षिक सामग्री नहुँदा अध्यापनमा समस्या परेको विद्यालयका अंग्रेजी शिक्षक रमेशकुमार कार्कीले बताए।
‘चार वर्ष भयो यो विद्यालयमा पढाउन थालेको,’ उनले भने, ‘अंग्रेजी पढाइ रहेको छु, नेपालीमा ट्रान्सलेट गरी फेरि सांकेतिक रूपमा बुझाउन गाह्रो हुन्छ। यसका लागि विशेष शैक्षिक सामग्री भए सजिलो हुन्छ।’
विशेष शिक्षाअन्तर्गत् शिक्षा मन्त्रालयले केही सहयोग गरे पनि पूर्ण रूपमा सरकारकै तर्फबाट विद्यालयलाई सहयोग नभएको प्रधानाध्यापक कार्कीले बताए।
वीरेन्द्रनगर नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पर्खालका लागि दिएको ५० लाख रुपैयाँले अहिले राम्रो पर्खाल भने बनाइएको उनले जानकारी दिए।
प्रधानाध्यापक कार्कीले अन्य विद्यालयका शिक्षकसरह यहाँका शिक्षकहरूलाई सेवासुविधा नभएको गुनासो गरे।
‘अरु विद्यालयमा शिक्षकहरूलाई विभिन्न किसिमको सेवासुविधा, भत्ता हुन्छ,’ उनले भने, ‘हामी यहाँ अरु विद्यालयको भन्दा मेहेनतका साथ पढाउनुपर्छ, चोखो तलबमात्र खाएका छौं।’
आवाससहितको सुविधा भएको शिद्ध बहिरा बाल स्कुलमा पानीको व्यवस्था नहुँदा विद्यार्थीहरूलाई पसलबाट किनेर पानीको व्यवस्था गर्नुपरेको छ। यो विद्यालय अहिले पनि संघीय सरकारकै स्वामित्वमा छ। स्थानीय सरकार मातहत विद्यालय गएको भए केही सहयोग पाइने अपेक्षा प्रधानाध्यापक कार्कीको छ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको शिद्धबहिरा बाल विद्यालय। तस्वीर : दिपकजंग शाही/सेतोपाटी