बागलुङस्थित सर्कुवा नगरपालिकाका-४ का अमिट केसीको सगरमाथा चढ्ने सपना फेरि पलाएको छ। दुई वर्षअघि उनलाई सगरमाथा चढ्न प्रतिबन्ध लगाइएको थियो।
आँट भएको सामान्य हट्टाकट्टा मान्छेलाई हिमाल चढ्न त्यत्ति गाह्रो हुँदैन। अपांगता भएकाहरूलाई भने मुश्किल हुन सक्छ। र, उत्तिकै खतरनाक पनि।
अमिट दृष्टिबिहीन हुन्। उनले हामीले जसरी हिमाल देखेका छैनन्। सानो बेला स्कुलमा पढेको आधारमा हिमालबारे जे बुझेका थिए, आफ्नो दिमागमा त्यहीअनुसार कल्पना गरे।
उनले नगरेको कल्पना थियो- आफैं हिमाल आरोही हुने।
'जीवनमा कहिल्यै सोचेको थिइनँ, मलाई हिमाल चढ्ने रहर पलाउला भनेर,' अमिटले भने, 'हिमालमा उकाली-ओराली हुन्छ भन्नेसम्म बुझेको हुँ। मलाई त्यो महशुस गर्नु थियो।'
बागलुङकै सरकारी विद्यालयमा शिक्षक थिए अमिट। त्यही समयमा उनका पोखराका साथी खोमराज शर्माको फोन आएको थियो। खोमराम अहिले राष्ट्रिय अपाङ्ग महासंघ, गण्डकी प्रदेशका अध्यक्ष हुन्। उनी आइसी नेपालमा काम गर्थे जसले दृष्टिबिहीनहरूका लागि प्रविधिक तालिम दिने र अन्य 'इनडोर' खेल खेलाउँथे।
एक दिन खोमराजले क्लेफ नामक अमेरिकी नागरिक भेटेका थिए। क्लेफले अमेरिकामा अपांगता भएकाहरूलाई रक क्लाइम्बिङ तथा माउन्टेनियरिङ सिकाइरहेका थिए। क्लेफ र खोमराजले पोखरामा दृष्टिबिहीनहरूका लागि रक क्लाइम्बिङ तथा माउन्टेनियरिङ सेमिनार गर्ने भए। त्यसैमा खोमराजले अमिटलाई बोलाएका रहेछन्।
अमिट पोखरा आए।
उनले क्लेफलाई आफैंमाथि प्रश्न उठाउँदै सोधेका थिए रे, 'के म पनि सगरमाथा चढ्न सक्छु?'
'माछालाई पौडन सिकाउन पर्दैन,' क्लेफले उत्तर दिए, अमेरिकीहरू यहाँ आएर सगरमाथा चढेर गइसके। तिमीहरूकै देशको सगरमाथा चढ्न तिमीहरूले नसक्ने कुरै हुँदैन।'
क्लेफको यही भनाइ प्रेरणा मानेर अमिट आरोहणतिर लागे। जागिर छाडे। २०७२ सालमा सोलुखुम्बुस्थित ६१८९ मिटरको 'आइसल्याण्ड पिक' चढे। त्यही वर्ष ६४७६ मिटरको 'मेरा पिक' पनि उक्लिए।
उनको ध्येय सगरमाथातिर थियो। नेपाल क्लाइम्बिङ एसोसिएसनबाट सगरमाथा चढ्ने तालिम लिए। तालिममा राम्रो प्रदर्शन गर्नेहरूलाई छानेर आरोहणका लागि लगिने अमिट बताउँछन्। उनको नाम त्यो सूचीमा परेन।
अमिट पछि हट्नेवाला थिएनन्। तालिम, दुई हिमाल चढेको अनुभव र शेर्पाको सहयोगमा सगरमाथा चढ्ने निधो गरे। उनको प्रयासले ८००० मिटरमाथि रहेको बेस क्याम्पसम्म साथ दियो।
'अप्ठ्यारा ठाउँ छिचोलेर गए, बेस क्याम्पबाट अलि हिडेपछि काँडा भएको जुत्ता लगाउन पर्ने ठाउँ आउँछ,' उनी अनुभव सुनाउँछन्, 'त्यसपछि ठाडो तेर्सो परेको करिब २० देखि २६ वटा भर्याङ आँउछ। उकालो र ओरालो चढ्नपर्छ। कतै घिस्रिँदै जान पर्ने ठाउँ पनि हुन्छ।'
अनुभवले मात्र सगरमाथा चढाउने होइन। कहाँ कस्तो ठाउँ छ, कसरी टेक्न पर्छ सबै जानकारी आफूलाई नभएको उनी सुनाउँछन्। आत्मविश्वास पनि उत्तिकै चाहिन्छ।
'मलाई अरूलाई भन्दा बढी सहयोग चाहिन्छ। अरूलाई एक जना गाइड भए पुग्छ भने मलाई दुई-तीन जना चाहिन्छ,' अमिटले भने।
त्यो बेला सगरमाथा चुचुरोमा पुग्ने सपना भने अधुरै भयो।
'दुइटा थप अक्सिजन सिलिन्डर भएको भए त्यही बेला सगरमाथा चुचुरोमा पुग्थेँ होला। अक्सिजन अभाव भएकैले यात्रा रोकियो,' उनले सुनाए, 'हावाहुरी पनि आएर साउथपोलको हल्टेज क्याम्पमा २४ घण्टा बस्न परेको थियो।'
मौसमले पनि साथ दिएन रे।
फेरि जाने योजना बुन्दै फर्केका थिए उनी। सरकारी निर्णयले उनको योजना भताभुंग भयो। अमिट क्याम्पबाट फर्किएलगत्तै सरकारले हातखुट्टा नभएका र आँखा नदेख्नेलाई सगरमाथा चढ्न प्रतिबन्ध लगाइदियो। अपांगता भएकाहरूलाई जोखिम हुने भनेर सरकारले रोक लगाएको थियो।
प्रतिबन्धपछि अपांगता भएका व्यक्तिहरू माथि प्रश्न उठेको थियो। अमिटलाई पनि 'सकिएला र' भनेर अलमल भएको थियो। तर अमेरिकाका दृष्टिबिहीन नागरिक एरिक वेहिनमायरले सन् २००१, मे २५ मै सगरमाथा चढेर कीर्तिमान राखिसकेका छन्। यो थाहा पाएपछि अमिटको हुटहुटी झनै बढ्यो।
अमिटले समानताको हक र मानव अधिकारविरुद्ध नीति ल्याइएको भन्दै सरकारी प्रतिबन्धविरुद्ध अदालतमा रिट हाले। उनको पक्षमा फैसला हुँदै सरकारले प्रतिबन्ध हटाएको छ।
उनको सपना फेरि ब्यूँतिएको छ।
'अब सगरमाथा चढ्ने तयारीमा छु। भ्रमण वर्ष २०२०को अवसर पारेर चढ्ने तयारी हो,' उनले सुनाए, 'तर आर्थिक समस्याले सताइरहेको छ।'
त्यसैले उनी पैसा जुटाउन लागेका छन्। उनले भ्रमण वर्ष २०२० मा 'सबै नागरिक सक्षम छन् है' भन्ने सन्देश दिन खोजेका छन्।
'म त्यहाँ पुगे पछि सबैको प्रेरणा बन्नेछु,' उनले भने।