नेपालगञ्जबाट दैलेख पठाउन लागेका गाई प्रहरी चेकपोष्टको नजिक पनि फालिएको भेटिएको छ।
शनिबार सुब्बाकुना प्रहरी चेकपोष्टभन्दा करिब १०० मिटर पर ६ वटा मरेका गाई भेटिएको वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले जानकारी दिए।
शुक्रबार त्यसभन्दा पर ब्यूरेनी नजिक फालिएकामध्ये ८ वटा गाई मरेका भेटिएका थिए। तिनै मृत गाई गाड्न जाने क्रममा प्रहरी चेकपोष्ट नजिक भिरबाट गाई तल फालिएको अवस्थामा भेटिएको उनले जानकारी दिए।
‘प्रहरी चेकपोष्टभन्दा १०० मिटर पछाडि गाई फालिएको रहेछ, ६ वटा मृत भेटिएका छन्,’ उनले भने, ‘ती गाईको मुचुल्का उठाउने काम भइरहेको छ, मुचुल्का उठाएपछि गाड्छौं।’
बुधबार राति वीरेन्द्रनगरभन्दा माथि कटकुवा जंगलमा गाई भिरबाट खसालिएको भेटिएको थियो। त्यहाँ १६ वटा गाईगोरु मरेका छन्। ७ वटा गम्भीर घाइते छन्। १०० भन्दा धेरै गाईगोरु कटकुवामा बेवारिसे समेत भेटिएका थिए।
नेपालगञ्जमा रहेको काञ्जी हाउसबाट दैलेख लाने भनेर २९१ वटा गाईगोरु जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा ८ वटा ट्रकमा ल्याइएको थियो। ती गाईगोरु बाटोमा फाल्दै ल्याइएको भेटिएको छ।
वीरेन्द्रनगर नगरपालिकाको क्षेत्र भेरी पुलसम्म पर्ने भएकाले त्यहाँसम्म खोजिएको नगरपालिकाका वरिष्ठ अधिकृत पौडेलले बताए।
उनका अनुसार वीरेन्द्रनगरभित्र कटकुवा, ब्यूरेनी र सुब्बाकुनासहित तीन ठाउँमा २६ वटा गाई मृत भेटिएका छन्।
एक सय गाई नेपालगञ्ज फिर्ता
वीरेन्द्रनगरको कटकुवा क्षेत्रमा बेवारिसे छोडिएकामध्ये १०० वटा गाई नेपालगञ्ज फिर्ता पठाइएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार १०० गाई शुक्रबार साँझ नै नेपालगञ्ज फिर्ता पठाइएको हो।
बाँकी गाई पनि पठाउने तयारी भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए।
नियन्त्रणमा लिइएका पाँच वटा ट्रक र चालकलाई भने जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको उनले बताए।
उनीहरूको बयान लिएपछि अरु कुरा खुल्न सक्ने डिआइजी जोशीले बताए।
घटनामा ट्रक चालक मात्रै नभई अन्य व्यक्तिको संलग्नता रहन सक्ने भन्दै निष्पक्ष छानबिन गर्न उनको आग्रह छ।
नगर प्रहरीको नेतृत्वमा ल्याइएको थियो गाईगोरु
नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलका अनुसार दैलेखका लागि ल्याइएका गाईहरू नगर प्रहरीको नेतृत्वमा ल्याइएको थियो।
नगर प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा ल्याइएका गाईगोरु बीच बाटोमा मरेपछि बाटोमै फालिएको हुन सक्ने उनले बताए।
‘छाडा पशुचौपाय व्यवस्थापनका लागि दैलेखको श्रीस्थान लैजाने भनेर ल्याइएको हो, बीचमै गाईगोरु मरेपछि स्थानीयले थाहा पाए विरोध गर्लान् भन्ने सोचेर हाम्रो यहाँको टोली बाटोमै छोडेर फर्किएको रहेछ,’ उनले भने।
कारबाहीको माग गर्दै प्रदर्शन
सुर्खेतमा भिरबाट फालिएका गाईहरूको बारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ।
इलेक्ट्रोनिक्स वस्तुगत समिति सुर्खेतको आयोजनामा शनिबार विरोध प्रदर्शन गरिएको हो।
समितिका अध्यक्ष भुवन ज्ञवालीले दर्जन बढी गाई मृत भेटिनु रहस्यमय भएकाले उचित छानबिन गर्न माग गरे।
यी पनि :
झन्डै तीन सय गाई भीरबाट खसालियो, २२ मरे अरू घाइते
भीरबाट तीन सय गाई खसाल्ने पाँच ट्रक नियन्त्रणमा