दैलेखको नारायण नगरपालिका–५ का कृपा दमाई र तुलसी दमाईकी छोरी विर्मा नेपाली २०५६ मंसिर १६ गतेदेखि बेपत्ता भइन्।
सशस्त्र द्वन्द्वका क्रममा विद्रोही समूहमा आवद्ध रहेकी विर्मा बेपत्ता भएको केही महिनापछि यो दम्पत्ति सुर्खेतको वीरेन्द्रनगर झर्यो। अहिले ९ छोराछोरीसहित कृपा र दुलसीको परिवार वीरेन्द्रनगर–५ मा भाडामा बस्दै आएको छ।
विर्मा १६ वर्षकी हुँदा बेपत्ता भएकी हुन्। अझै पनि विर्माका बाबाआमा छोरीको खबर पाउने आशमा छन्।
‘राज्यले सके लास देखाउनुपर्यो, कि त सास देखाउनुपर्यो,’ बुवा कृपाले भने, ‘यदि मरेको हो भने मरेको ठाउँ देखाउनुपर्यो, हामी यहीँ पर्खिरहेका छौं।’
‘छोरी गएपछि त्यो गाउँमा बस्नै मन लागेन अहिले भाडामा बस्दै आएका छौं,’ आमा तृलसीले भनिन्, ‘यहाँ भाडामा बस्दै आएका छौं, रोजगारी नभएका हाम्रा नौ छोराछोरी साथमा छन्।’
उनले आफ्ना सन्तानलाई शिक्षा, रोजगारीको ग्यारेण्टी राज्यबाट हुनुपर्ने माग गरिन्।
विर्माका बुवाआमाको आफूहरूको जीवनयापनका लागि राज्यद्वारा ग्यारेण्टी हुनुपर्ने, दोषीमाथि कारबाही हुनुपर्ने माग छ।
२०६५ मंसिर ५ गतेदेखि विद्रोही पक्षबाट बेपत्ता पारिएका सुर्खेतको भेरीगंगा नगरपालिका–३ का मानबहादुर खड्काकी आमा चन्द्रकली खड्का न्यायका लागि पुग्नुपर्ने सबै ठाउँ पुगिसकेकी छिन्।
साविकको लेकपराजुल गाविस वडा नम्बर १ बाट बेपत्ता भएका छोराको अहिलेसम्म पनि उनले अत्तोपत्तो पाएकी छैनन्।
छोरा बेपत्ता भएपछि नाति, नातिना बोकेर बुहारी माइत गइन्। त्यसपछि उनले न्याय पाउने अवस्था पनि कमजोर हुँदै गयो। अझ पनि छोराको नाममा आउने राहत आफूहरूले पाउनुपर्ने माग माइती पक्षले गरेको उनले बताइन्।
‘छोराछोरी हामीले पालेका छौं, ज्वाइँको नाउमा आउने राहत हामीले पाउनुपर्छ भनेर माइतीले भन्छन्,’ चन्द्रकलीले भनिन्, ‘राहत जति आउँछ, केही मैले पनि पाउनुपर्छ।’
नातिनातिनालाई दिनुपर्ने जग्गा पनि आफैं दिने र राहत आफूले पाए छोराको नाममा केही गर्ने योजना रहेको उनले सुनाइन् ।
राज्य पक्षबाट यौन हिंसामा परेकी कालीकोटकी ‘सन्नीत्रिवेणी’ (नाम परिवर्तन) आफ्नो अहिले गाँस, बास, कपासको व्यवस्था राज्यबाट हुनुपर्ने माग गर्छिन्। उनी १३ वर्षको छँदा २०६९ सालमा उनीमाथि यौन शोषण गरिएको थियो । त्यो कुरा थाहा पाएपछि २ महिनाको बच्चा पेटमा छँदा नै उनका श्रीमानले सम्बन्ध विच्छेद गराएका थिए।
‘त्यसबेला मसँग चारजना केटा साथीहरू थिए, उनलाई सैनिकले मारिदिए, मलाई यस्तो गरे,’ सन्नीत्रिवेणीले भनिन्, ‘मेरो पछि बिहे भयो, त्यसबेलाको कुरा थाहा पाएपछि पेटमा दुई महिनाको बच्चा हुँदा श्रीमानले छोडपत्र गरिदिनुभयो। अहिले बाबु ९ कक्षामा पढ्छ, चिनेजानेकाले सहयोग गर्ने गरेका छन्।’
उनी अहिले वीरेन्द्रनगरमा बस्दै आएकी छन्।
छोराको पढाइ, कोठा भाडा, खाद्यान्नलगायत सबै कुरा एकल महिला समूहले व्यहोरेको उनले बताइन्।
‘मेरो पाठेघरमा रिङ राखिएको छ, म काम गर्न पनि सक्दिनँ। सानो सहयोग पनि अरुले गर्छन् ।’
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकका अनुसार कर्णाली प्रदेशमा ३ हजार २३६ जना सशस्त्र द्वन्द्वबाट प्रत्यक्ष रूपमा प्रभावित छन्। तीमध्ये २ हजार ७ सय ५ जना मारिएका छन् भने ९९ जनाको अवस्था अझसम्म पनि पत्ता लाग्न सकेको छैन। ४३२ जना अपांगता भएका छन् ।