हिन्दु नारीको महान पर्व तीजको अवसरमा पशुपतिनाथ परिसरमा बिहानैदेखि भीड लागेको छ।
रातो सारीमा सजिएका नारीहरु पशुपतिनाथको दर्शन तथा नाचगानमा व्यस्त छन्। तीजको दिन ब्रत बसे मनले आँटेको पुग्ने विश्वासका साथ पशुपतिनाथ दर्शन गर्न पुगेका नारीहरुले यस पटकको व्यवस्थापन सहज भएको बताएका छन्।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालका अनुसार बिहान ३ बजेदेखि नै दर्शनार्थीलाई लाइन लागेर पूजा गर्ने व्यवस्था मिलाइएको थियो। कोषले यस वर्ष करिव ७ लाखले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।
तीजको अवसर पारेर सुरक्षाको उचित प्रबन्ध गर्न पशुपतिनाथ क्षेत्रमा करिव ४ हजार सुरक्षाकर्मी पनि परिचालन गरिएको छ। दर्शनार्थीलाई सहज ढंगले पशुपतिनाथको दर्शन गराउन स्वयम सेवक पनि परिचालन गरिएको छ। विभिन्न अस्थायी स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको छ।
विगत वर्षहरुमा भन्दा यस वर्ष तीजमा पशुपतिनाथमा दर्शनार्थी बढेको पशुपति क्षेत्र विकास कोषको दावी छ।
तस्वीर: निशा भण्डारी/सेतोपाटी