अहिले जुन ठाउँमा नयाँ धरहरा बनिरहेको छ, त्यो 'उपाकु' को मार्ग हो। इन्द्रजात्राको पहिलो दिन अर्थात् भदौ शुक्ल द्वादशीमा 'उपाकु वनेगु' भनेर वर्षभरि मृत्यु भएकाको नाममा परिवारजनले दियो बाल्दै हिँड्छन्।
यो दिन काठमाडौंको भित्री नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरहरूमा काँचो (नपोलेको) दियो बाल्दै हिँडेमा पितृहरू मोक्षको लागि जाने विश्वास छ।
लिच्छविकालमै सुरू भएको मानिने उपाकुमा भिमसेनस्थान, भगवतीबारी, कंग, नरदेवी, रक्तकाली, क्षेत्रपाटी, ठँहिटी, ज्याथा, कमलाछी, भोटाहिटी, महाबौद्ध, न्युरोड गेट, तेबहाल, सुन्धारा, बागदरबार, भोटेबहाल, गणबहाल, ताहागल्ली लगन, नायभाचो, चल्खु, ह्युमत, कोहिती हुँदै नगर परिक्रमा गरिन्छ।
उपाकु बेला परिक्रमा गर्ने परम्परागत बाटो खड्ग आकारको रहेको मानिन्छ। नगर खड्ग आकारमा बनेको हुँदा नगरको सीमा क्षेत्रबाट परिक्रमा गर्दा खड्ग आकारमै गर्नुपर्ने चलन छ।
अहिले यी सीमाका धेरै क्षेत्र मासिँदै गएका छन्। यसको जल्दोबल्दो उदाहरण हो धरहरा क्षेत्र। नयाँ धरहरा बनाउन ओगटिएको भूमिमा उपाकु परिक्रमा मार्ग परेको छ। पुरानो धरहराको ठीक अगाडि बन्दै गरेको नयाँ धरहराको जमिनमा पहिले बाटो थियो।
धरहराका नाममा 'झिल्के टावर' बनाउन लागिएको र यसले जीवित सम्पदा मासेको भन्दै केही महिनायता स्थानीयले विरोध गर्दै आएका छन्। यसले चलिआएको परम्परा र संस्कृतिमा धक्का पुगेको उनीहरूको भनाइ छ।
सम्पदा संरक्षण अभियन्ता एवं स्थानीय राजेश मानन्धरका अनुसार उपाकुबाहेक अन्य विविध साँस्कृतिक गतिविधिमा पनि धरहरा निर्माणले असर पुर्याउने देखिएको छ।
'तेबहालका मान्छे बित्दा मलामी जाने मार्ग यही हो। इन्द्रायणी देवताको बाला चतुदर्शीको दिनमा हुने जात्राको खट यही मार्ग भएर ल्याउनुपर्छ,' मानन्धरले भने, '१२ वर्षमा गथु प्याखः भनेर भद्रकालीको देवगण निकाल्छ, त्यसको पनि पूजा यहीँ गर्नुपर्छ। त्यसबाहेक अरू पनि साना-ठूला धेरै सांस्कृतिक गतिविधि यो मार्गसँग जोडिएका छन्। यसैले हामीलाई त्यो झिल्के टावर चाहिँदैन, परम्परा जोगाउने बाटो राख्देऊ भनेको हो।'
२०७२ सालको भुइँचालोपछि धरहराको ठूटो मात्रै बचेको छ। त्यसलाई संरक्षण गर्दै आडैमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २२ तले नयाँ धरहरा बनाउँदैछ। भित्री संरचना २२ तला भए पनि बाहिरबाट हेर्दा पुरानै जस्तो नौ तले देखिनेछ।
पहिले धरहरा करिब साढे चार रोपनीमा फैलिएको थियो। सानो बगैंचा अनि चारैतिर सार्वजनिक बाटो। अब आधुनिक शैलीमा बन्न लागेको नयाँ धरहराको फैलावट १० गुणा बढी छ। यसमा पहिले सडकमै रहेको सुन्धारा, गोश्वारा हुलाक कार्यालय र टक्सार विभागसम्मको जग्गा समेटेर करिब ४२ रोपनी जग्गा छ। अहिले चारैतिर जस्ताले छेकेर निर्माण भइरहको छ। यहीँभित्रको जग्गामा उपाकु मार्ग परेको हो।
अभियन्ता राजेशका अनुसार 'यो सांस्कृतिक मार्ग हो' भनेर २०६७ मा सर्वोच्च अदालतले पनि फैसला गरिसकेको छ। यसका बाबजुद बाटो मास्ने काम भएको उनी बताउँछन्।
'त्यो बेला साइड वाकर्स भन्ने कम्पनीले धरहरालाई २० वर्ष लिजमा लिँदा बाटो मिचेको थियो। उसले गेट हाल्दा स्थानीय र अभियन्ताले विरोध गरेका थिए। मुद्दा हालेपछि सर्वोच्चले त्यस्तो फैसला गरेको थियो,' उनले भने, 'यो सांस्कृतिक मार्ग हो, त्यसलाई मिच्न पाइँदैन, जस्ताको त्यस्तै हुनुपर्छ भन्ने सर्वोच्चको फैसला नमानेर सरकार आफैंले धमाधम झिल्के टावर बनाउनु कति जायज हो?'
धरहरा निर्माण विज्ञ समितिका सदस्य राजुमान मानन्धर भने नयाँ धरहरा बन्न थालिसकेकाले अब वैकल्पिक मार्ग मात्र दिन सकिने बताउँछन्।उपाकुकै बाटोमा पर्ने जमिनमा जग खनिइसकेकाले अब पुरानै रूटको बाटो मिलाउन नसकिने उनको भनाइ छ। यसपालिको उपाकुमा अहिले वरपर लगाइएका जस्ता निकालिदिने र त्यो दिन परिक्रमा गर्न दिइने उनले बताए। मान्छेहरू बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर मिलाइदिने सहमति भएको पनि उनले जानकारी दिए।
तर यो सबै यसपालिका निम्ति मात्र हो। नयाँ धरहरा बनेपछि भने वैकल्पिक बाटो छाडिने उनले बताए।
'स्थायी रुपमा भने धरहराका बीचमा करिब १० फिट बाटो छाडेका छौं। पछि त्यहीँ उपाकु हिँड्ने बाटो हुनेछ,' उनले भने।
तर स्थानीय र अभियन्ताको यसमा चित्त बुझाइ छैन। उनीहरूको माग उपाकुका लागि बाटो मात्रै नभई 'झिल्के टावर' नै नबनोस् भन्ने हो। भिमसेन थापाले बनाएको भनेर चिनिने धरहरा मासिएर सानो ठूटो मात्र बचेको छ। यसकारण अब बन्ने संरचनाले धरहराको पहिचान र महत्व नबोक्ने उनीहरूको भनाइ छ। फेरि नयाँ धरहरा व्यवसायिक प्रयोजनका निम्ति बनाइएकाले यसको सम्पदामा कुनै योगदान नहुने स्थानीयले बताउँदै आएका छन्।
'संस्कृति र सम्पदा सरासर मासेर व्यापार केन्द्र बनाइँदैछ। अरू थुप्रै सम्पदा र संरचनाको पुनर्निर्माण र जिर्णोद्धार बाँकी छ,' स्थानीय राजेश मानन्धरले भने, 'यो झिल्के टावरमा खर्चिने पैसाले बाँकी काम गर्दा हुन्छ नि।'
डिजाइनअनुसार नयाँ धरहरा पुरानो शैलीको नभइ लिफ्ट चढेर माथि जाने सुविधा भएको आधुनिक टावर नै हुनेछ। हुलाक भएको ठाउँमा प्रवेशद्वार हुनेछ। टिकट काटेपछि भूमिगत दुई तलामुनिबाट लिफ्ट चढेर २२ तला माथि पुग्न सकिन्छ। हिँड्दै जान चाहनेलाई सिँढी र अपांगमैत्री पनि हुने भनिएको छ। यही डिजाइनका कारण स्थानीयले यसलाई ऐतिहासिक धरहरा नभई 'झिल्के टावर' को संज्ञा दिएका हुन्।
निर्माण व्यवसायी जिआइइटिसी–रमन जेभीले ३ अर्ब ८ करोड रुपैयाँमा धरहरा बनाउने ठेक्का पाएको हो। पुनर्निर्माण समितिका राजुमानका अनुसार अहिलेसम्म ५४ करोड खर्च गरेर २६ प्रतिशत जति काम सकिसक्यो।
'जगको काम सकिएको छ, केही दिनमा बेसमेन्ट र ढलानको काम गर्ने तयारी छ। त्यसका साथै हुलाकको भवन पनि धमाधम भत्काउने काम भइरहेको छ,' उनले भने, 'दसैंपछि सञ्चयकोष छेउको पसल हटाउने र काठमाडौं मलको केही भाग भत्काएर टुडिँखेल निस्कने नयाँ बाटो खुल्नेछ।'
ऐतिहासिक धरहराले १९९० र २०७२ सालको भुइँचालोका धक्का खाँदै आफ्नो अस्तित्व लगभग गुमाइसकेको छ। नयाँ पुस्ताले सायदै अब धरहराको वास्तविक स्वरूप देख्लान्।
'संसारभरका सहरमा आफ्नो ठाउँको पहिचान दिने टावर बनेका छन्। हामीले पनि ऐतिहासिक धरहराको अस्तित्व संरक्षण गरेर नयाँ बनाउन लागेका हौं,' राजुमानले भने, 'निर्माण सुरू गर्नुअघिसम्म कसैले केही भनेन। त्यो बेलै विरोध चर्किएको भए कुरा अर्कै हुन्थ्यो होला। तर अब यतिका खर्चेर बनाएको संरचना भत्काउन सम्भव छैन। धरहरा मेरो निजी होइन, भोलि राज्यले नबनाउने भन्यो भने बनाउँदैनौं।'
स्थानीयको भने यसमा चित्त बुझाइ छैन। जतिसुकै बनेको भए पनि सम्पदा मास्ने गरी कुनै संरचना बनाउन नपाइने भन्दै उनीहरू विरोध गरिरहेकै छन्।