सुनसरीको इटहरी-५ का राजन अधिकारीले आफू साँच्चै अग्लो रैछु भन्ने कुरा १२ वर्षको पुगेपछि मात्र महशुस गरे। त्यतिबेला जब उनी साथीभाइबीच उभिन्थे अरूभन्दा उनी निकै लम्बु देखिन्थे।
अहिले ७ फिट ३ इन्चका अधिकारी त्यतिबेला नै साढे ६ फिट अग्ला थिए।
उनी नेपालको पहिलो र विश्वको तेस्रो अग्ला व्यक्ति हुन्। सबैभन्दा अग्लामध्ये पहिलोमा टर्की र दोस्रो चीनका नागरिक छन्।
बच्चैबाट अधिकारीको उचाइ अरू केटाकेटीकोभन्दा छिटो बढ्यो। यो कुरा उनले बुवाको मुखबाट सुने।
‘आमा त म अढाई वर्षको हुँदै सदाको लागि विदा हुनुभो। पछि बुवाले मेरो उचाइबारे भन्नुभयो,’ उनले सेतोपाटीसँग भने, ‘बुवा पनि बित्नुभएको अहिले १६ वर्ष भयो।’
१२ वर्षकै उमेरमा असामान्य उचाइ भएपछि उनका बुवा आत्तिए। त्यही बेला उनलाई बुवाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँचका लागि लगे।
‘जाँचको सबै रिपोर्ट सामान्य आयो। त्यसपछि हामी ढुक्क भयौं,’ उनले भने।
अधिकारीको परिवारमा उनी मात्र अग्ला हुन्। अरू सबै जनाको उचाइ सामान्य छ। उनका दुई सन्तान छन्। उनीहरूको उचाइ पनि सामान्य नै रहेको अधिकारीले बताए।
‘हजुरबुवा चाहिँ अलिक अग्लो हुनुहुन्थ्यो। बुवाको उचाइ त ठीकै थियो,’ उनले भने।
अग्लो भए पनि उनलाई कुनै असहज भएन। अरू साथीजस्तै हिँड्न सक्थे, दौडन सक्थे। उनलाई खेलकुदमा रूचि थियो। फुटबल खेल्थे।
पछि नेपाल भलिबल संघले उनलाई काठमाडौं झिकायो। त्यति बेला उनी १७ वर्षका थिए।
उनले दुई वर्ष भलिबल प्रशिक्षण लिए। खेल्न भने सकेनन् किनकी उचाइले साथ दिए पनि उनलाई उफ्रिन असहज भयो।
‘नेट त म सजिलै भेटाउँथे। तर मलाई उफ्रिन गाह्रो भयो। नउफ्री भलिबलमा सट हान्न पाइँदैन रैछ। त्यही भएर मैले खेल्न छाडेँ,’ उनले भने।
२०५७ सालमा हिमाली सांस्कृतिक समूह नामको संस्थाले अग्ला व्यक्तिहरू खोजीको लागि कार्यक्रम आयोजना गर्यो। यो कुरा उनको कानमा पनि ठोक्कियो।
बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन हलमा आयोजित कार्यक्रममा उनी पनि सहभागी भए। देशभरबाट आएका प्रतिस्पर्धीलाई पछि उछिन्दै उनी अग्ला व्यक्ति घोषित भए।
‘२०५७ सालदेखि अग्लो व्यक्तिको मेरो रेकर्ड कायमै छ,’ अधिकारीले भने।
त्यही वर्ष उनले आफ्नो ग्रोथ हर्मोनको शल्यक्रिया गराउनु पर्यो। उचाइका कारण उनको आँखा र कानमा असर गर्ने देखियो। चिकित्सकले नै शल्यक्रिया गर्न सुझाएको उनी बताउँछन्।
‘शल्यक्रिया नगरेको भए मेरो उचाइ अझ ३ इन्च बढ्ने रहेछ,’ उनले भने।
शल्यक्रियाबाट तङ्ग्रिएपछि उनी विभिन्न निजी कम्पनीको दूत भएर काम गरे।
२०६३ सालमा नेपाल सरकारकारबाट उनले ‘टुर प्याकेज’ पाए। त्यही प्याकेज अन्तर्गत उनले एसियाका अधिकांश देश घुमे।
‘वर्ल्ड पिस एण्ड लभ भन्ने नारा बोकेर गएको थिएँ। सबै ठाउँमा राम्रो सम्मान पनि पाए,’ उनले भने।
अग्लो हुनुका केही झन्झट र असहजता छन्। अरूले जस्तो झट्ट मन पराएको लुगा उनी लगाउन पाउँदैनन्। सबै कपडा अर्डर गरेर बनाएको लगाउँछन्।
‘जुत्ता, चप्पल सबै अर्डर गरेकै लगाउँछु। कहिलेकाहीँ साथीभाइले विदेशबाट पनि ल्याइदिन्छन्,’ उनले भने।
सार्वजनिक यातायातमा पनि उनलाई असहज हुन्छ। गाडीमा बस्दा गोडा सिटमा ठोक्किन्छ। त्यसैले उनी हत्तपत्त सार्वजनिक सवारी प्रयोग गर्दैनन्।
उनले आफ्नो घरको ढोका पनि आफ्नै उचाइलाई हेरेर बनाएका छन्। उनको उचाइभन्दा ढोका ३ इन्च अग्लो छ।
अग्लो भएकोमा उनलाई खुसी पनि लाग्छ।
‘मेरै छोराले स्कुलमा मेरोबारे पढेको कुरा घरमा आएर सुनाउँछ। त्यो सुनेर म पनि दंग पर्छु,’ उनले भने।
अधिकारीको ‘राजन अधिकारी फाउन्डेसन’ पनि छ। अहिले उनी फाउन्डेसनतिर अलिक निष्क्रिय र कृषितिर बढी सक्रिय छन्।
‘कृषि मेरो रूचिको क्षेत्र पनि हो। फेरि नेपालकै अग्लो मान्छेले यस्तो काम गरेको सुन्दा सबैले खुसी मान्छन्। अब यहीँ क्षेत्रमा अघि बढ्ने सोच छ,’ उनले भने।
देशकै अग्लो व्यक्ति भए पनि आफूले राज्यबाट कुनै सुविधा र सहुलियत नपाएको उनले गुनासो गरे।
कुराकानीको सिलसिलामै उनले दिवंगत विश्वकै होचो व्यक्ति चन्द्रबहादुर डाँगीलाई सम्झिए।
उनले डाँगीलाई विराटनगरमा आयोजित कार्यक्रममा भेटेका थिए।
‘उहाँलाई मैले बोकेको छु। र मैले दाई भन्दा उहाँ हाँस्नुभएको थियो,’ उनले विगत सम्झिए, ‘मैले उहाँलाई राज्यसँग के माग्नुभएको थियो भनेर सोधेको थिएँ। जवाफमा उहाँले एउटा सानो घर बनाउने काठ मागेको थिएँ तर वन कार्यालयले त्यो पनि दिएन भन्नुभो। यस्तो छ अवस्था।’
‘हामीलाई त खासै असहज हुँदैन तर होचा व्यक्तिहरुको पीर मर्का धेरै हुन्छ। हरेकजसो काममा सहयोगी चाहिन्छ। अनि राज्यले बुझ्नु पर्दैन यस्तो कुरा,’ उनको प्रश्न छ।