बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) बीच नेपाल सहरी उत्थानशीलता परियोजना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयका स्थायी सचिव म्याथु रिक्रफ्ट र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मंगलबार हस्ताक्षर गरेका छन्।
विशेषगरी तीन वटा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको यो परियोजनाले बुटवल शहरको सुदृढीकरणका लागि आर्थिक वृद्धिलाई पहिलो प्राथमिकतामा राखेको छ। त्यस्तै पूर्वाधार निर्माणलाई दोस्रो र संस्थागत क्षमता विकासलाई तेस्रो प्राथमिकतामा राखिएको छ।
परियोजनामा हस्ताक्षर गर्दै डिएफआईडीका स्थायी सचिव म्याथु रिक्रफ्टले परियोजनाको मुख्य लक्ष्य समृद्ध सहर निर्माणको सपना साकार पार्नु रहेको बताए। बुटवललाई उत्थानशील सहर बनाउन प्रभावकारी र सक्षम संस्था पहिलो शर्त भएको भन्दै उनले यसका लागि परियोजनाले काम गर्ने बताए।
त्यस्तै वातावरण संरक्षणका लागि हरित क्षेत्र निर्माण, सबैका लागि सेवा प्रवाह, सुरक्षित आवास, खानेपानीको सहज पहुँच, उचित सडक, शिक्षादीक्षाका लागि पनि परियोजना सफल हुने उनले विश्वास व्यक्त गरे।
स्थानीय अर्थतन्त्रको समृद्धिका साथै अन्य स्थानीय तह र प्रदेशहरुसँग जोड्ने काम पनि परियोजनाले अगाडि बढाउने उनले बताए। ‘परियोजना मार्फत समृद्ध र समुन्नत सहर कसरी बनाउन सकिन्छ भनेर समझदारीपूर्ण काम गर्ने हाम्रो लक्ष्य छ’–रिक्रफ्टले भने ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले संस्थागत क्षमता विकाससँगै बुटवलको आर्थिक समृद्धि र मानवीय तथा भौतिक विकासका लागि यो परियोजना कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले यो परियोजनाले बुटवलको मानवीय र भौतिक विकासलाई सँगसँगै जोडेर लैजान सहयोग पुर्याउने बताइन्।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले परियोजना सफल रुपमा कार्यान्वयन भए बुटवल आर्थिक रुपले समृद्ध हुने भन्दै यसका लागि निजी क्षेत्रकोसाथ र सहयोग लिएर अघि बढ्ने बताए।