रुपन्देहीमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा अहिलेसम्म ४२ जनामा डेंगीको संक्रमण देखिएको छ। ५ वर्षका बालबालिकादेखि ७५ वर्षका बृद्धबृद्धासम्ममा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यसक्षेत्रमा भदौ महिनामा सक्रिय भएको मनसुनपछि डेंगीको संक्रमण बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।
भदौपछि कात्तिक, मंसिरसम्म डेंगीका जीवाणु सार्ने लामखुट्टेको वृद्धि बढ्ने भएकोले संक्रमण फैलिन सक्ने शाहले बताए। विगतका वर्षको तुलनामा संक्रमण अझै नफैलिए पनि लामखुट्टेको वृद्धि हुने मौसम आउन बाँकी रहेकोले यो संक्रमण बढ्न सक्ने उनको भनाइ छ।
जिल्लामा पहिलोपटक साउन २८ गते एक जनामा देखिएको डेंगीको संक्रमण करिब २० दिनको अवधिमा ४२ जनामा देखिएको हो। शाहले दैनिक एक देखि चारजनासम्म संक्रमित थपिने गरेको बताए।
डेंगीको संक्रमण हुनेमा पुरुष भन्दा महिला धेरै छन्। संक्रमितहरुको अहिले जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मात्रै २६ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ।
प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले अहिलेको मौसम डेंगीको संक्रमण सार्ने लामखुट्टेको लागि अनुकुल मौसम भएको बताए। वर्षाका बेला करेसाबारी, गमलामा जमेको पानीमा लामखुट्टेलाई फुल पार्न र हुर्कन मिल्ने भएकोले यसको संक्रमण पनि बढ्दै गएको उनको भनाइ छ।
जोगिन पानी जम्ने ठाउँ पुर्ने, दिउँसो र रातिमा सुत्दा झुलको प्रयोग गर्ने, सचेतना फैलाउने, घरको झ्यालढोकामा जाली लगाउने र रोगको लक्षण देखिने वित्तिकै अस्पताल गएर उपचार गर्न सुझाव दिए।
डेंगी एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। रुपन्देहीमा २०६७/०६८ मा पहिलोपटक डेंगीका विरामी फेला परेका थिए। पहिलो वर्ष रुपन्देहीमा मात्रै डेंगीको संक्रमणबाट ४ जनाको मृत्यु भएको थियो।
यस्तै ०७३/०७४ र ०७४/०७५ मा २/२ जना गरी ४ जनाको मृत्यु भएको थियो भने त्यसयता हरेक वर्ष संक्रमण देखिने गरेपनि मृत्यु भएको छैन।
८ वर्षको अवधिमा रुपन्देहीमा करिब १५ सय जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ०७४/०७५ मा चितवन र रुपन्देहीमा महामारी नै फैलिएको थियो।
प्रत्येक वर्ष डेंगी संक्रमित भेटिए पनि रुपन्देहीमा पछिल्लो दुई वर्षयता रोकथामका लागि बजेट आएको छैन। स्थानीय तहमा जनप्रतिनिधि आए पनि रोकथामको प्रयास समेत भएको छैन।
यो पनि हेर्नुहोस्
हाम्रो घरलाई डेंगी लामखुट्टेबाट जोगाउने १० उपाय