काठमाडौंको सबभन्दा ठूलो उत्सव ‘येँया’, अर्थात् इन्द्रजात्रामा लाखे, पुलुकिसी, देवीनाच, महाकाली नाच, दसअवतार र कुमारी रथयात्रा विशेष आकर्षण हुन्।
तर, येँया यति मात्र होइन। यो यस्तो पर्व हो, जहाँ मनोरञ्जन मात्र हुँदैन, परिवारका दिवंगत सदस्यको आत्माको चिरशान्तिको कामना पनि गरिन्छ।
त्यसैको उदाहरण हो, उपाकु र बौमतः।
हनुमानढोकामा यःसि ठड्याएको दिन मंगलबार केही मानिस उपाकु गएका थिए भने आज शुक्रबार कुमारी रथयात्राको पहिलो दिन बौमतः निकालिन्छ। यी दुवैमा आत्माको चिरशान्तिको कामना गर्दै बत्ती बाल्दै हिँडिन्छ।
‘उपाकु वनेगु’ भनेर काठमाडौंको भित्री नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरहरूमा धुप र काँचो (नपोलेको) दियो बाल्दै हिँड्यो उत्सवले पितृहरूको आत्माले मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ। लिच्छवि कालबाट सुरू भएको उपाकुमा भीमसेनस्थान, भगवतीबारी, कंग, नरदेवी, रक्तकाली, क्षेत्रपाटी, ठँहिटी, ज्याथा, कमलाछी, भोटाहिटी, महाबौद्ध, न्युरोड गेट, तेबहाल, सुन्धारा, बागदरबार, भोटेबहाल, गणबहाल, ताहागल्ली लगन, नायभाचो, चल्खु, ह्युमत, कोहिती हुँदै नगर परिक्रमा गरिन्छ।
यता बौमतः भने दागिं निकालिएको दिन हुन्छ। यसमा लामो बासँहरू सर्पझैं लस्कर लगाइन्छ र त्यसमा दियो राखेर हिँडिन्छ। बौमतः ले दागिंकै बाटो पछ्याउँदै नगर परिक्रमा गर्छ। दागिं इन्द्रकी आमा बसुन्धरा हुन्।
कुमारी रथयात्राको पहिलो दिन शुक्रबार मंगलमान डंगोल २४ औं पटक ‘दागिं’ का रूपमा सहर परिक्रमा गर्दैछन्। रथले यात्रा गरेको टोलमा उनी हिँड्छन्। पहिलो दिन काठमाडौंको तल्लो टोल (कोने) मा रथयात्रा हुन्छ। काठमाडौं मरुगणेशथानस्थित लुकुफल्चाबाट उनी दागिं बनेर निस्कन्छन्। गणेशथान घुम्छन्, प्याफल, यट्खा, टेंगल, बांगेमुडा, असन, इन्द्रचोक, हनुमानढोका, जैसिदेवल, लगन, ह्युमत, भीमसेनथान हुँदै मरुमै गएर दागिंको यात्रा टुंगिन्छ।
दागिंसँगै वर्षभरि निधन भएकाहरूको परिवारका सदस्य हिँड्छन्। उनीहरूले बाटोभरि सदबिउ छर्छन्। छरेर बाँकी रहेको गणेशस्थानमा खन्याउँछन्। त्यसपछि कोही त्यहीँबाट इन्द्रदहमा नुहाउन जान्छन्।
दहचोकस्थित इन्द्रदहमा नुहाए स्वर्ग जाने बाटो खुल्छ भन्ने जनविश्वास छ। करिब दुई वर्षयता दांगि इन्द्रदह जाने क्रम रोकिएको थियो। यसपटक फेरि जाने तयारीमा छन्।
किम्बदन्तीअनुसार इन्द्रकी आमा बसुन्धरालाई एकपटक ब्रत बस्नु थियो। त्यसका लागि पाल्जा स्वाः (पारिजातको फूल) चाहिने भयो। त्यो इन्द्रलोकमा पाइन्नथ्यो। उनले छोरा इन्द्रलाई पाताल पठाइन्। फूल खोज्दै आएको इन्द्रलाई किसानले चोर ठानेर समात्छन्। डोरीले पाता कसेर बीच सडकमै जात्रा गर्छन्।
इन्द्रलाई यहाँका बासिन्दाले पक्रेर राखेपछि दागिं आफैं पाताल आउँछिन्। बाँधेर राखेको इन्द्रलाई छुटाउन उनले दुई सर्त मान्नुपर्ने हुन्छ; शीत ल्याइदिने र मृत आफ्न्तलाई स्वर्गमा भेट्न लैजाने।
स्वर्ग लान यकिँ दह अर्थात् इन्द्रदह पुगेपछि उनी र इन्द्र कुहिरो लागेको मौका पारेर चलाखीपूर्वक त्यहाँबाट भाग्छन्। उनीहरूसँगै गएका मान्छे अलपत्र हुन्छन्। त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक त्रिरत्न मानन्धरका अनुसार अलपत्र भएका मान्छे खोज्दै हिँड्न बौमतः निकालिएको हो।
‘दागिंको पछि लाग्ने मान्छे कहाँ गए भनेर खोज्न मानन्धरको चार टोल (चसान्दु, ल्याकुसा, न्हुसा र दैसाः) बाट बौमतः निस्कन्छ,’ मानन्धरले भने, ‘दागिं र बौमतःको भेट हुनुहुन्न भन्ने विश्वास छ। त्यसैले दागिंले माथिल्लो टोल परिक्रमा गरेर तल्लो टोल परिक्रमा गर्न हिँड्नेबित्तिकै बौमतः निस्कन्छ।’
मानन्धरका अनुसार गठेमंगलमा बौआयेगु भनेर खराब आत्मालाई हटाउने काम हुन्छ। इन्द्रजात्राको बौमतः पनि त्यसैअनुसार आत्माको सद्गति र शान्तिको कामना गर्दै मनाइएको उनी बताउँछन्।
इन्द्रजात्राको केही महिनाअघि मात्र हामीले यसरी नै दिवंगतहरूको आत्माको शान्तिको कामना गर्दै गाईजात्रा मनाएका थियौं। इन्द्रजात्राको उपाकु र बौमतःका क्रममा त्यही प्रचलन दोहोरिएजस्तै देखिन्छ।
‘दुवै पर्व आत्माको मुक्तिका लागि मनाइने भए पनि गाईजात्रा शैव (हिन्दु) नेवारको हो भने इन्द्रजात्राको उपाकु र बौमतः बौद्ध नेवारको,’ मानन्धरले भने।
उपाकु र बौमतःमा बौद्ध स्तुप, बहा र बहीहरूमा बत्ती बाल्दै हिँड्ने चलन छ। यसले यो यात्रा खासगरी बौद्धमार्गीहरूको हो भन्ने देखाउँछ। पछिल्लो समय भने हिन्दु र बौद्ध दुवैको संलग्नता सराबरी छ। इन्द्रजात्रामा पनि हिन्दुहरूले भाग लिन्छन्, गाईजात्रामा पनि बौद्धहरू सहभागी हुन्छन्।
मानन्धरका अनुसार येँयाका धेरै प्रचलन शाहकालमा आएर परिवर्तन भएका छन्। भदौ शुक्ल चतुर्दशीका दिन इन्द्रजात्रा भनेर दिइने विदाले शाह राजाको विजयोत्सवलाई इंगित गर्छ। काठमाडौं जितेपछि यही ठाउँलाई देशको राजधानी घोषित गरी शाह राजाहरूले शासन गरेका थिए।
यःसि गाडेर द्वादशीका दिन जात्रा मनाउने चलन पनि पृथ्वीनारायण शाहको पालामा प्रतापसिंह शाहले सुरू गरेको उनको भनाइ छ।