मेलम्ची नगरपालिका-१३, फटकशीलाका तोयानाथ लामिछाने ०७२ वैशाख १२ गते बिहानको खाना खाएर सुस्ताउँदै थिए।
खाट हल्लियो। खाट मात्र हैन, जमिन नै हल्लियो। सबै जना चिच्याउँदै कोठामा यताउता गर्न थाले।
लामिछाने र उनका साथीहरूलाई भाग्ने छुट थिएन। किनभने त्यो जेल थियो।
हेर्दाहेर्दै भित्ता चर्किए। दलिन खस्न थाल्यो। सामानहरू एकैठाउँ सोलोडोलो भए। पूर्वी भित्ता भत्कियो। कतिखेर घरै खस्छ र थिचिएर मरिन्छ भन्ने सोच्दा-सोच्दै भुइँचालो थामियो।
केही मिनेटमै फेरि हल्लियो।
प्रलय बेला कानुन कसले सम्झिन्छ? कसैले जेलको ताला खोल्यो। सबै जना बाहिर आँगनमा निस्किए। जमिन हल्लिन भने छाडेन। त्यहीँबाट उनीहरूले वरिपरिका घर भत्किएको देखे। त्यो सानो बजार हेर्दाहेर्दै भुइँचालोले तहसनहस पार्यो। पारि गाउँबाट धूलो उडिरहेको थियो।
त्यो बेला सिन्धुपाल्चोक जिल्ला कारागारमा २ सय १६ जना कैदी-बन्दी थिए। सबै त जेलको आँगनमा पनि नअट्ने। उनीहरू चौतारा बजारको टुँडिखेल मैदानमा गए। अरू सर्वसाधारणभन्दा अलग्गै एउटा समूहमा बसे।
साँझ ६ बजेतिर सिडिओ, जेलर र जिल्ला प्रहरी प्रमुख सँगै आए।
कैदी बन्दीले उनीहरूसँग सोधे, 'अब के गर्ने?'
'हामीलाई पनि थाहा छैन के गर्ने,' जेलरले भने।
'हामीलाई खाने-बस्ने व्यवस्था त हुनुपर्यो नि,' कैदी-बन्दीको समूहबाट कसैले भन्यो।
'हामीले तिमीहरूलाई यहाँबाट जाऊ भन्न मिल्दैन। तिमीहरू आफैं जान भने मिल्छ,' बिहीबार सेतोपाटीसँगको कुराकानीमा लामिछानेले त्यति बेला जेलरले भनेको सम्झिए।
कैदी-बन्दी आ-आफ्ना घरतिर लागे।
लामिछाने भोलिपल्ट आफ्नो गाउँ पुगे। घर भुइँचालोले लगिसकेको थियो। उनलाई देखेर ९५ वर्षीया आमा खुसी भइन्। श्रीमती र छोराछोरी ढुक्क भए।
जेलबाट घर आएको एक महिनामै उनी फर्किए। आफैं जिल्ला कारागारको कार्यालय पुगे। कार्यालयको आफ्नै ठेगान थिएन। पालभित्र थियो। जेलघर त उस्तै तहसनहस।
जेल प्रशासनले उनलाई मकवानपुरको भिमफेदी कारागार जानू भन्दै एउटा पत्र थमायो।
भिमफेदी कहाँ पर्छ लामिछानेलाई थाहै थिएन। उनी गएनन्। घर गएर बसे।
उनकी आमा बिरामी पर्दै गइन्। होस गुम्न थाल्यो। खाना खुवाउनदेखि दिसा-पिसाब गराउनसम्म अरूको मद्दत चाहिने भयो।
लामिछानेका छोराछोरी काठमाडौं पढ्न गएका थिए। आमाको जिम्मा पत्नीलाई मात्र छाडेर हिँड्न उनको मनले दिएन। त्यसमाथि उनी एक्ला छोरा थिए।
'म एक्लो छोरा हुँ, त्यस्तो बेला आमालाई छाडेर हिँड्न कसरी सक्थेँ?' उनले भने, 'पोहोर आमा बित्नुभयो। आमालाई स्याहार्न बसेबापत् जेल सजाय पाएको छु।'
लामिछाने अर्काको मिलमा आगो लगाएको अभियोगमा दोषी ठहरिएर जेल परेका हुन्। अदालतले ४ वर्ष कैद सजाय सुनाएको थियो। कैद काट्दा काट्दै भुइँचालो आएपछि जेलरले नै पठाएर घर गएका उनलाई अहिले जेलबाट भागेको आरोपमा ३ महिना २४ दिन कैद थप भएको छ।
२०६३ सालमा गाउँकै एक व्यक्तिको मिल भएको छाप्रोमा आगो लगाएको भन्दै सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई ६ महिना कैद सुनाएको थियो। अदालतको फैसला आउँदासम्म उनी पुर्पक्षका लागि १३ महिना थुनामा बसिसकेका थिए।
पछि उक्त मुद्दामा पुनरावेदन पर्यो। पाटन उच्च अदालत (तत्कालीन पुनरावेदन) ले जिल्लाको फैसला उल्ट्याएर ४ वर्ष बनाइदियो। उनी सर्वोच्च जान सक्थे, गएनन्।
'उच्च अदालतसम्म मुद्दा लड्दा दुई रोपनी जग्गा-जमिन हिँड्यो, वकिललाई देऊ, काठमाडौंसम्म मुद्दा धाउन जाऊ, खर्च त भैहाल्छ नि,' लामिछानेले भने, 'त्यसमाथि सात आना जग्गा मैले क्षतिपूर्ति तिर्न पर्यो। खर्च बढ्छ भनेर सर्वोच्च अदालत गइनँ।'
२०६९ सालमा उनी फेरि पक्राउ परे। पहिले १३ महिना कैद भुक्तान गरिसकेकाले २ वर्ष ११ महिना बाँकी थियो। २०७२ को भुइँचालोसम्म उनले २७ महिना काटिसकेका थिए, आठ महिना मात्र बाँकी थियो।
भुइँचालोपछि आमाको काम सकेर घर बसिरहेकै बेला २०७५ को अन्तिमतिर उनलाई प्रहरीले फेरि समात्यो। जेल आएरै उनले थाहा पाए, भगौडा मुद्दामा थप ३ महिना कैद सजाय भैसकेको रहेछ। उनले अब ११ महिना कैद काट्नुपर्ने भयो।
आफू ७३ वर्ष उमेर पुग्दा पनि जेलरले जेष्ठ नागरिक सुविधा नदिएको उनले गुनासो गरे। त्यो सुविधा पाएको भए दुई वर्ष मात्र कैद बसे पुग्थ्यो। अहिलेको कैद थप हुने थिएन।
नागरिकतामा जन्मेकै साल लेखाउनुभएको होला नि?
'नागरिकतामा त म बल्ल ६३ वर्षको भएँ होला,' उनले भने।
उनले जेष्ठ नागरिक सुविधा नपाएको त्यही भएर रहेछ। यो सुविधा ६५ वर्ष पुगेकाले मात्र पाउँछन्।
उनी यही कात्तिक १३ गते जेलमुक्त हुँदैछन्। 'मलाई पहिल्यै कैद नहुनुपर्ने हो। भुइँचालोपछि भागेको भनेर थपेको तीन महिना मात्र हो। बूढी आमाको स्याहार गर्न पाएकोमा मलाई सन्तोक छ। यो कैदभन्दा त त्यही कुरा ठूलो हो नि, हैन र? तीन महिना त यसै जाला!' उनले भने।
पाँचपोखरी गाउँपालिका- ३ का मानबहादुर तामाङ भने लामिछानेझैं ढुक्क छैनन्। आफू अझै १७ वर्षभन्दा बढी कैद बस्नुपर्नेछ भन्ने सोचेरै उनको सर्वाङ्ग छट्पटिन्छ।
यही छटपटीको कथा सुनाउन उनी निकै बेरदेखि कुरेर बसेका थिए। सुरूमै भने, 'जेल तोडेर भागेको भनेर मुद्दा लगाएछ। जेलरले नै जितेछ। मैले त यसमा पुनरावेदन गर्न पनि पाउँदिन रे।'
'तपाईं भुइँचालोमा भाग्नुभएछ, पछि फर्केर पनि आउनुभएन रे नि त?' मैले सोधेँ।
'भागेको हैन,' उनले भने, 'जेल बाङबुङ भयो। हामी टुँडिखेलमा गएर बस्यौं। जेलरले जहाँ जहाँ जान्छौ जाऊ, सूचना जारी भएपछि आउनुपर्छ भनेको थियो। अनि म गएको हो।'
भुइँचालो जानुअघि उनलाई जेलकै कर्मचारीले सुनाएका थिए- तिम्रो ६० प्रतिशत लागू भइसकेको छ। छुट पाउँछ अब।
गाउँकै महिला मारेको अभियोगमा मानबहादुरलाई अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो। २०६४ सालमै पक्राउ परेका उनी जेल परेको आठ वर्षभन्दा बढी भइसकेको थियो। हिसाब आउने भए त उनले भन्दा हुन्, बल्ल ४० प्रतिशत कैद भुक्तान गरेँ।
त्यति बेला अरूले भनेको पत्याएका मानबहादुर असल चालचलनमा छुट्न पाइन्छ कि भन्ने आसमा बसे। जबकि, ६० प्रतिशत कैद भुक्तान गरेका र जेलमा रहँदा असल आचरण देखाएकाहरूलाई मात्र सरकारले बाँकी कैद छुट दिनसक्ने कानुन छ।
उनी घर पुग्दा भुइँचालोको एक साता बितिसकेको थियो। गाउँका सप्पै घर जमिनमा धस्सिएका थिए। उनको घरमा कोही थिएनन्। श्रीमती बितेको धेरै भइसकेको थियो। छोरी विदेश थिइन्। भएको एउटा घर पनि भत्किएपछि उनी त्यहाँ धेरै बसेनन्। काठमाडौं गए। घर बनाउने मिस्त्रीको काम गरे।
भुइँचालोको एक महिनापछि गणतन्त्र दिवसको अवसरमा छुटिहालिन्छ भन्ने सोचेर उनी जेल फर्किहालेनन्। न त उनले जेलबाट जारी भएको सूचना नै सुन्न पाए।
एकैचोटि उनलाई भुइँचालोको झन्डै तीन वर्षपछि काठमाडौंमा प्रहरीले समात्यो र सिन्धुपाल्चोकमै ल्यायो। त्यतिञ्जेल पनि भुइँचालोले भत्काएको कारागार बनिसकेको थिएन। धेरै दिन उनलाई प्रहरी हिरासतमा राखियो। गएको जेठमा कारागार निरीक्षणमा आएका उच्च अदालतका न्यायाधीशसहितको टोलीसँग उनले आफ्नो गुनासो राखे। मानवअधिकार आयोगमा पनि कुरा पुर्याए। अहिले वकिललाई पुनरावेदन दिन पाउने माग गर्दै रिट दिन भनेका छन्।
'मलाई न्यायमा सरकारले निकै पेल्यो। भन्न त मैले निरीक्षणमा आएका न्यायाधीश र मानवअधिकार आयोगमा समेत कुरा पुर्याएको छु,' उनले भने, 'बल्लबल्ल वकिल खोजेको छु। उसले २५ हजार लगेको छ। त्यही पैसा पनि मैले बल्लबल्ल जुटाएको हुँ। तपाईंले लेखेर केही हुन्छ त?'
भुइँचालामा उनीहरू घर गएपछि कारागार प्रशासनले २०७२ जेठ २ देखि ९ गतेसम्म फर्केर आउनू भन्दै सूचना जारी गरेको थियो।
त्यो सूचनाले दिएको म्यादभित्र नआउनेलाई जेल प्रशासनले साउनमै भगौडा मुद्दा लगायो। मानबहादुरलाई प्रहरीले पक्राउ गरेर ल्याउनुभन्दा झन्डै एक महिनाअघि भगौडा मुद्दामा सजाय थप्ने फैसला भैसकेको थियो।
भुइँचालो आएको दिनबाट गन्दा कर्तव्य ज्यानसम्बन्धी पहिलेको मुद्दामा उनले ११ वर्ष १० महिनाजति कैद काट्न बाँकी थियो। जेलबाट भागेको मुद्दामा त्यसको आधा कैद थपिने फैसला भयो। अर्को १७ वर्ष १० महिना जेल बस्नुपर्ने फैसला सुनेदेखि छटपटी मात्र भइरहेको उनले बताए।
अदालतले दोषी ठहर गरे पनि उनी आफूलाई निर्दोष मान्छन्। 'पहिलेको मुद्दामा पनि म दोषी थिइनँ। निर्दोष भएर जेलमा बस्दा त साह्रै मुटु दुख्छ,' उनले भने।
पाँचपोखरी, बोताङका ३१ वर्षीय विशाल तामाङको कथा भने फरक छ। उनी पक्राउ परेका हैनन्। जेल बस्न भनेरै आएका हुन्।
जेलमा पहिलोपटक आउँदा उनी २६ वर्षका थिए। त्यति बेला पनि दोषी भएकाले हैन, फसाइएकाले जेल परेको उनी बताउँछन्।
'काका र गाउँकै एक जना मानिस कुलोको निहुँमा कुटाकुट गर्दै थिए। म उनीहरूलाई छुटाउन गएको थिएँ। त्यही बेला काकाको कुटाइले मान्छे ढल्यो,' उनले २०७१ माघको घटना सम्झिए।
त्यसपछि उनी आफैंले प्रहरी बोलाए। प्रहरीले काकालाई समात्यो। उनी भेट्न भनेर चौकीमा गए। प्रहरीले उनलाई पनि समात्यो। मृतकका परिवारले उनले पनि मारेको भन्ने उजुरी हालेका रहेछन्।
अदालतले उनलाई थुनामा राखेर मुद्दा अघि बढाउने आदेश दिएको थियो। फैसला भने भइसकेको थिएन। अदालतबाट आफू निर्दोष ठहरिनेमा उनी ढुक्क थिए रे।
जेलभित्र उनी कैदी-बन्दी व्यवस्थापनको काम गर्थे। भुइँचालो आयो। त्यसले उनको जीवन आनका तान बदलिदियो।
भुइँचालोपछि कैदीहरू नभागून् भनेर टुँडिखेलमा लगेको उनी बताउँछन्। 'हामीले नै सबैलाई टुँडिखेलमा बसौं भनेको हो। साँझ जेलर, सिडिओ र प्रहरी प्रमुख आएर हामी तिमीहरूलाई म्यानेज गर्न सक्दैनौं, घर जाऊ, पछि आउनू भन्नुभयो,' उनले भने, 'अनि हामी हिँड्यौं।'
हिँड्नुअघि उनले घरमा आमाबालाई फोन गरेका थिए। उनीहरूलाई केही भएको रहेनछ। उनको स्वर सुनेर आमाबा पनि ढुक्क भए।
घर जाँदा मेलम्ची बजार हुँदै जानुपर्थ्यो। मेलम्चीमा उद्धार निम्ति खटिएको सेनाको क्याम्प रहेछ। त्यहाँबाट हेलिकप्टरमा गाउँगाउँ पुगेर घाइतेलाई अस्पताल ल्याउने, पुरिएकालाई निकाल्ने, राहत बाँड्ने काम सेनाले गर्थ्यो। आफ्नो गाउँमा पनि सेना लैजान पाए हुन्थ्यो भन्ने उनलाई लाग्यो। सेनाको क्याम्पमा गएर आफ्नो गाउँमा पनि धेरै दुर्घटना भएको निवेदन दिए। सेनाले उनको गाउँमा हेलिकप्टर लैजाने भयो। त्यसैमा चढेर उनी गाउँ पुगे।
जेल परेको मानिस सेनाको हेलिकप्टरबाट ओर्लिँदा गाउँलेहरू छक्कै परेका थिए। सबभन्दा खुसी त आमाबा भए।
गाउँभरि कुनै घर बाँकी थिएनन्। गाउँलेलाई बस्ने टहरा बनाउन, घाइतेको उपचार र पुरिएकालाई उद्धार गर्न उनी जुटे। झन्डै एक महिनापछि उनले जेल सम्झिए। जेलकै नम्बरमा फोन गरे। जेल कहिलेदेखि खुल्छ र आउँ भन्दै सोधे। फोनबाटै उनले जेल नबनेको खबर पाए।
उनले तीन-चारपटक यसैगरी फोन गरेका थिए। हरेकचोटि जेलघर उस्तै भत्किएको छ, पछि आउनू भन्ने खबर पाए।
विशाल आमाबाका एक्ला सन्तान हुन्। ६० कटिसकेका आमाबाको ओतसमेत भुइँचालोले लगेको थियो। जेलबाट पनि आउनू नभनेपछि उनी दिल्ली गए।
एउटा होटलमा कुक काम भेटे। दिल्लीबाट पनि बेला-बेला जेलघर बन्यो कि बनेन भन्दै सोध्ने गरेको उनी बताउँछन्।
दिल्लीमा उनी ३० महिनाजति बसे। त्यहाँ कमाएको पैसाबाट गाउँमा आमाबालाई सानोतिनो घर बन्यो। एकदिन उनले हत्यामा आफू दोषी ठहर भएको खबर पाए। अदालतले आफ्नो कुरै नसुनी फैसला गरेको थाहा पाएपछि उनले जागिर छाडे।
सिधै काठमाडौं आए। उनले काठमाडौंबाटै आमाबालाई फोन गरेछन्। उनीहरूले घर आउनुअघि अदालत जानू भनेछन्।
'गाउँ आए पनि उजुर गर्नेले सुराकी लगाइहाल्छन्, तँ त्यतैबाट अदालत जा भन्नुभयो,' उनले सम्झे, 'अदालतमा आफैं उपस्थित भएँ।'
अदालतले उनलाई जेल पठायो। जेल बनिसकेको थिएन। प्रहरीले हिरासतमा राख्यो। जेठमा बल्ल यता सार्यो। जेल गएपछि पो उनले थाहा पाए- ज्यान मुद्दा मात्र हैन, भगौडा मुद्दामा समेत कैद सजाय भएको रहेछ। दुवै जोड्दा ३० वर्ष।
उनलाई ज्यान मुद्दामा २० वर्ष कैद सजाय भएको थियो। जेलबाट भागेको मुद्दामा त्यसको आधा कैद थपियो, अर्थात् झन्डै १० वर्ष। यसरी उनी ३० वर्ष कैद बस्नुपर्ने भयो।
उनले एक वर्ष मात्र कैद भुक्तान गरेका छन्, अब झन्डै २९ वर्ष बाँकी छ।
आफू २९ वर्ष जेल परेको सम्झेर उनलाई सुरूमा त भाउन्न भयो। अदालतको फैसला मान्न भनेर उनी दिल्लीबाट फर्केका थिए। दुवै मुद्दामा पुनरावेदन दिए। उच्च अदालतले दुवैलाई सदर गरेको छ।
उनलाई यसरी १०/१० वर्ष कैद सजाय गरेको चित्तै बुझेको छैन।
'म भाग्न सक्थेँ। कानुन मान्नुपर्छ भनेर फर्किएँ। अदालतमा आफैं आएपछि त छुट पाउनुपर्थ्यो। म आउँदा जिल्लाबाट गर्न मिल्दैनथ्यो, उच्च अदालतले त मलाई न्याय गर्न सक्थ्यो,' विशालले भने, 'एकपटक जेल परेर यहाँको वातावरण भोगेको मान्छे हत्तपत्त आफैं भाग्दैन। हामी बस्छौं भन्दाभन्दै जेलरले नै जाऊ भनेर गएको हो। त्यसको सजाय यति धेरै त कसरी गर्न मिल्छ?'
उनको अर्को गुनासो पनि रहेछ, पढ्न नपाएको।
'जेल बसेर पनि जाँच दिन पाइँदो रहेछ अन्त। मैले पनि बिएमा भर्ना हुन्छु भनेको, त्यो सुविधा यहाँ पाइन्न भन्नुभो,' उनले भने, 'पढ्न रहर गर्ने यहाँ अरू पनि छन्।'
नपढेका, तर पढ्न रहर गर्नेहरूलाई उनले पढाउने सोचेका थिए। पहिले जेल पर्नुअघि उनी गाउँकै स्कुलमा गणित शिक्षक थिए। तर जेल यति साँघुरो छ, पढ्ने-पढाउने ठाउँ नै छैन।
'यहाँ निकै साँघुरो छ। बल्लतल्ल अटेका छौं। पढ्ने-पढाउने ठाउँ र वातावरण दुवै यहाँ छैन। त्यही पनि अब केही न केही गर्ने सोचेको छु,' उनले भने, 'कसरी काट्ने यत्रो वर्ष? ३१ वर्ष पुगेँ, माथिल्ला अदालतबाट सफाइ पाइएन भने निस्किँदा ६० वर्षको भइन्छ। यस्सै खेर जान्छ जिन्दगी! तर अझै पनि सफाइ पाउने आस मरेको छैन।'
भुइँचालोपछि जेलबाट घर गएका सबैलाई अदालतले कैद थपेको छैन। सूचना जारी भएपछि आफैं आउनेलाई, भागेको मुद्दामा फैसला नहुँदै अदालतमा उपस्थित हुनेलाई, पुर्पक्षमा थुनामा रहँदा भुइँचालो आएर गएका र पछि सफाइ पाएका, जरिवाना मात्र पाएका र मूलमुद्दामा उच्च अदालतबाट सफाइ पाएकालाई भगौडा मुद्दाबाट पनि अदालतले सफाइ दिएको छ। यसरी सफाइ पाउनेहरू १ सय ४६ जना छन्।
भगौडा मुद्दामा कैद थप भएका कैदीहरू भने ७१ जना छन्। यीमध्ये अहिले सिन्धुपाल्चोक कारागारमा तोयानाथ लामिछाने, मानबहादुर तामाङ र विशाल तामाङ गरी तीन जना मात्र छन्।