सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्न बनेको समितिले काम सुरू गरेको छ।
गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा मन्त्रालयका उपसचिव सागरमणि पाठकको टोली आवश्यक छानबिनका लागि सुर्खेत आएको छ।
गत साताको शुक्रबार नेपालगञ्जबाट दैलेखका लागि भनेर लिइएको गाईगोरु सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवा, सुब्बाकुना र व्यूरेनीमा भीरबाट फालिएको अवस्थामा मृत भेटिएका थिए। मृत भेटिएका गाईगोरुको बारेमा अनुसन्धान अघि बढाइएको छानबिन समितिका संयोजक पाठकले बताए।
बाँकेबाट अनुसन्धान गर्दै आएको र घटनास्थलको अनुगमन गर्दै गाई लिने भनिएको ठाउँ दैलेखको श्रीस्थान जाने उनले जानकारी दिए।
‘दैलेखको श्रीस्थान क्षेत्रका किसानले पाल्छौं भनेकाले नेपालगञ्जको काञ्जी हाउसमा धेरै भएका गाईगोरु ल्याइएको बताइएको थियो।’ जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको सिफारिसमा पनि यही कुरा उल्लेख छ ।
तर श्रीस्थान पर्ने दैलेखको स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले भने गाईगोरु त्यस क्षेत्रमा ल्याउन नभनिएको विज्ञप्ति जारी गर्दै स्पष्ट पारेका छन्।
समितिले घटनाको वस्तुगत तथ्य पत्ता लगाएर गृह मन्त्रालयलाई प्रतिवेदन बुझाउने संयोजक पाठकले बताए।
गृह मन्त्रालयले समिति गठन गरेकै दिन १५ दिनभित्र प्रतिवेदन बुझाइसक्न समितिलाई निर्देशन दिइसकेको छ। यस अनुसार यो समितिका लागि प्रतिवेदन बुझाइसक्न अब १० दिनमात्र बाँकी छ।
छानबिन समितिका संयोजक पाठकका अनुसार मंगलबार नेपालगञ्जमा रहेको काञ्जी हाउसमा अनुगमन गरिएको छ।
यस्तै, नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको छानबिन समिति पनि आफ्नो काममा लागिसकेको छ। यो छानबिन समिति पनि सुर्खेतमा छ। उक्त समितिले सुर्खेत र दैलेखमा पुगेर छानबिनको काम गरेको संयोजक विकास आचार्यले जानकारी दिए।
यो विषयमा छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि छानबिन समिति गठन गरेको छ। कार्यालयमा कार्यरत प्रहरी उपरीक्षकको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ।
नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २ सय ९१ गाईगोरुमध्ये वीरेन्द्रनगरको कटकुवा, ब्यूरेनी र सुब्बाकुना गरी ३६ वटा मरिसकेका छन्। तीमध्ये केही सुरूमै मरेको अवस्थामा भेटिएका थिए भने केही भीरबाट फाल्दा घाइते भएका गाईगोरु मर्ने गरेका थिए।
मंगलबार पनि एउटा गाई मरेको छ। बाँकी जीवित गाईहरूलाई नेपालगञ्ज नै फिर्ता गरिएको छ।
यस अभियोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच वटा ट्रक, तिनका चालक र सहचालक गरी ७ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि अनुसन्धानका लागि जिल्ला अदालत सुर्खेतबाट सात दिनको म्याद थपिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा गाईगोरु ल्याइएको भए पनि चालक, सहचालकबाहेक यसमा सहभागी अरु कोही पक्राउ परेका छैनन्।