नेपाली सेनाले हावाहुरीले भत्काएका बारा र पर्सा जिल्लाका ८६९ पीडितको घर बनाएर हस्तान्तरण गरेको छ। सेनाले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत बारा जिल्लाका विभिन्न पाँच स्थानमा तीन सय चार र पर्साका सात स्थानमा पाँच सय ६५ घर बनाएर पीडित जनतालाई बुधबार हस्तान्तरण गरेको हो।
पर्सा वीरगन्जमा बुधबार एक कार्यक्रम आयोजना गरी सेनाले आफूले बनाएका घर पीडित जनतालाई हस्तान्तरण गर्यो।
सेनाले बनाएका घर कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका मन्त्रीहरू, प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षासचिव रेश्मीराज पाण्डे तथा प्रदेश नम्बर(२ का मुख्यमन्त्री लालबाबु राउले संयुक्त रुपमा हस्तान्तरण गरे।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो ‘गौरबपूर्ण परम्परा’को निरन्तरतालाई कायम राख्दै तोकिएको जिम्मेवारी समयमा नै सम्पन्न गरेकोमा खुसी व्यक्त गरे। उनले नेपाली सेना र जनता आवास घर निर्माणमा खटिएका सबै सेनाका कर्मचारीलाई धन्यवाद दिए।
कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले ‘राष्ट्र सबैभन्दा पहिला तथा कर्तव्य सधैं पहिला’ भन्ने संस्थागत मान्यतालाई आत्मसात गर्दै निर्दिष्ट जिम्मेवारीलाई सम्पन्न गर्न नेपाली सेनाले भूमिका खेलेको बताए। उनले भविष्यमा पनि सेनाले आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।
चैत १७ गते आएको विनाशकारी हावाहुरीले भत्काएका घर निर्माण गर्न सरकारले सेनालाई जिम्मा दिएको थियो। चैत २१ गतेको मन्त्रिपरिषदको निर्णयपछि सेनाले वैशाख २१ गतेबाट घर निर्माण थालेको थियो।
गत साउन ७ गते बसेको पुनर्निर्माण, पुनर्स्थापना, सहजीकरण र समन्वय समितिको बैठकको निर्णय अनुसार पुनर्निर्माण गर्नुपर्ने घरहरूको संख्या ८ सय ८१ कायम गरिएको थियो। जसमध्ये १२ वटा घर विवादित रहेकोले सो संख्या कटाएर ८ सय ६९ वटा घर निर्माण गरिएको जंगी अड्डाले जनाएको छ।
सेनाले पुनर्निर्माण कार्य साउन २६ गते सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर, असारको अन्तिम साता आएको भारी वर्षाको कारण पुनर्निर्माण कार्य ढिलो हुन पुगेको जंगी अड्डाले जनाएको छ।
जनता आवास कार्यक्रम अन्तर्गत प्रतिघर पाँच लाख ४५ हजार ९ सय ८५ रुपैयाँमा निकासा भएको थियो। सेनाले ती घर चार लाख ८४ हजार ८८८ रुपैयाँमै सम्पन्न गरेको जनाएको छ। घर निर्माणमा बचेको ११।१९ प्रतिशत रकम सेनाले सरकारलाई नै फिर्ता गरेको छ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार यी घर भूकम्पप्रतिरोधी छन्। ‘यी घर भूकम्पले भत्काउन सक्दैन, साथै हावाहुरीले छुन पनि सक्दैन,’ पाण्डेले सेतोपाटीसँग भने।
उनका अनुसार बनाइएका नयाँ घर गर्मीमा सितल र जाडोमा न्यानो दिने खालका ‘वातावरणमैत्री’ पनि छन्। ‘सरकारले दिएको जिम्मेवारीलाई हामीले छिटो र गुणस्तरीय रुपमा सम्पन्न गरेका छौं,’ सहायक रथी पाण्डेले भने।