भारतले लगाएको बाँधको कारण कपिलवस्तुको सयौं विघा धानबाली डुबानमा परेको छ।
सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रूपमा निर्माण गरेको बजाहा बाँधका कारण मायादेवी गाउँपालिका तुलसीडिहवा गाउँ आसपासको करिब ३ सय विघा खेतीयोग्य जमिन डुबानमा परेको हो।
नेपाली सीमाक्षेत्र नजिक भारतीय भूमि बजाहा क्षेत्रमा बाँध निर्माण गरे पनि त्यसको पानी संचित भने नेपाली किसानको खेतमा हुने गर्छ।
अंग्रेज सरकारको पालामा नै निर्माण गरिएको यो बाँधका कारण हरेकवर्ष सीमावर्ती क्षेत्रका किसानहरूको खेतीयोग्य जमिन हरेक वर्ष डुबानमा पर्दै आएको छ।
वर्षायाममा बाँधको ढोका बन्द गरी नेपाली भूमिमा पानी संचित गर्ने भारतले हिउँद याममा सबै ढोका खोलेर भारततर्फ पानी लैजाने गरेको छ। वर्षाभरि बाँधमा रहेका २८ वटा फाटक सबै बन्द गर्दा स्थानीय सयौं किसानको धानबाली नोक्सान भएको स्थानीय कृषक जितबहादुर यादवले बताए ।
वर्षा नभएको बेला पानी नहुँदा धान रोप्न नपाएका किसानहरू जेनतेन रोपेको धानबाली साउन भदौमा परेको वर्षापछि भने बाँधका कारण डुबानमा पर्ने गरेको उनले बताए।
भदौको चर्को घामले तातेको पानीमा डुबानमा पर्दा खेतमा रोपिएको धान कुहिँदै गएको उनले बताए ।
नेपाली भूमिनै डुबानमा पर्ने गरी बाँध बाँधे पनि नेपाली किसानले सो पानी प्रयोग गर्न पाउँदैनन्।
वर्षायाममा भारतीय पक्षले बाँधको ढोका बन्द गर्छ। हिउँदका बेला बाँधको ढोका खोलेर चाहिने पानी लैजान्छ। नेपाली कृषकलाई पानी नचाहिँदा खेत डुबानमा हुन्छ। पानी चाहिँदा सुख्खा हुन्छ।
अहिले डुबान भएको ३ सय विघामध्येको आधा खेत वर्षभरि नै डुबानमा पर्ने कृषक बताउँछन्। दर्जनौं विघा खेत भए पनि हिउँद वर्षा कुनै याममा पनि खेती लगाउन नपाइने किसान यादवले दु:खेसो गरे।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले कपिलवस्तु मात्र नभई नेपालको पूर्वदेखि पश्चिमसम्म दक्षिणी सीमावर्ती क्षेत्रको समस्या एउटै भएको बताए।
उनले कपिलवस्तुमा महलीसागर र बजाहा दुइटा बाँधका कारण सयौं विघा जग्गा डुबानमा पर्दै आएको र यो समस्या अहिलेमात्र सिर्जित नभइ वर्षौंदेखिको समस्या भएको बताए।
‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दै आएकोबारे जिल्लास्तरमा पनि पटक/पटक भारतीय समकक्षीसँग छलफल भइरहेको छ, तर यो जिल्लास्तरबाट समाधान गर्न नसकिने भएकोले केन्द्रीयस्तरबाटै कूटनीतिक पहल गर्न आवश्यक छ’, उनले भने।
नेपालीतर्फको जमुवार नदीको पानी र सो क्षेत्र वरपर जम्मा हुने पानीलाई भारतले बाँध बनाएर सीमावर्ती नेपाली भूमिमा सञ्चय गर्ने गरेको छ।
वजाहा बाँध जस्तै कपिलवस्तु जिल्लाको सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको महली सागर बाँध र मर्थी मझौली बाँधका कारण पनि नेपाली कृषकको थप सयौं विघा खेतीयोग्य जमिन वर्षेनी डुबानमा पर्ने गरेको छ।
बाँध पीडित कृषकहरूलाई यतिबेला भारतीय पक्षले फाटक बन्द गरिदिँदा आफूहरूले लगाएको धानबाली डुबानका कारण गल्छ कि भन्ने चिन्ताले सताएको छ।
धानबाली मात्र होइन बाँधका कारण सो क्षेत्रका किसानको घरगोठ र खलियान पनि डुबानमा पर्ने गरेको छ।