सुर्खेतका तीन जनामा डेंगीको संक्रमण भेटिएको छ।
कर्णाली प्रदेश अस्पतालमा उपचार गर्न पुगेका वीरेन्द्रनगर नगरपालिका–४ का ३५ बर्षीय उदय सुनार र बराहताल गाउँपालिका–१ हरिहरपुरकी १२ बर्षीया एलिना पुलामीलाई डेंगीको संक्रमण फेला परेको हो।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत तथा महामारी रोग नियन्त्रण फोकल पर्सन श्यामलाल आचार्यकाअनुसार सुनार र पुलामी अस्पतालबाट डिस्चार्ज भईसकेका छन्। उनीहरुले औषधी सेवन गरिरहेको उनले जानकारी दिए।
यस्तै वीरेन्द्रनगर–६ का ३५ बर्षीय जयकिसन विकलाई पनि डेंगीको संक्रमण भेटिएको छ। अधिकृत आचार्यका अनुसार उनको अहिले वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचार भईरहेको छ।
एलिना र जयकिसनलाई भएको डेंगी नयाँ भएपनि उदय सुनारलाई भएको यो संक्रमण अलि पुरानो भएको आचार्यले जानकारी दिए। उनी यसअघि भारत गएर फर्किएका थिए ।
भारत हुँदा नै उनीमा संक्रमण भएको देखिएको आचार्यले बताए। करिब ५ वर्षअघि पूर्वी सुर्खेतमा एकजनाको डेंगीका कारण मृत्यु भएको थियो।