रुपन्देहीमा तीन दिनको अवधिमा ३८ जना डेंगीका बिरामी थपिएका छन्। गत मंगलबार सम्म ४२ जनामा डेंगीको संक्रमण देखिएकोमा शुक्रबार ७० जना पुगेको छ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीहरुको तथ्यांकका आधारमा जिल्ला जनस्वास्थ्य कार्यालयले ७० जनामा डेंगीको संक्रमण देखिएको पुष्टि गरेको हो।
जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बिहिबार मात्रै १६ जना डेंगीका विरामी उपचारको लागि विभिन्न अस्पतालहरुमा गएको बताएका छन्। शाहका अनुसार बुधवार १४ र शुक्रबार पनि थप आठ जनामा संक्रमण देखिएको छ।
अहिले लुम्बिनी प्रादेशिक अस्पताल, भिम अस्पताल भैरहवा, भैरहवा मेडिकल कलेज लगायत जिल्लाका सबैजसो निजी अस्पतालहरुमा डेंगीका विरामीहरुको चाप बढेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा धेरै बुटवल क्षेत्रका ४० जना बढीमा डेंगीको संक्रमण पाइएको छ। दिनप्रतिदिन डेंगीका विरामी थपिदै जाँदा अस्पतालमा बेडको अभाव देखिएको छ।
डेंगीका कडा खालका विरामीलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने हुँदा आईसियु कक्षको समेत अभाव देखिएको छ। रुपन्देहीमा आईसियु भएका अस्पतालहरुमा यसअघि नै विरामीहरु भर्ना भएका कारण नयाँ थपिएका कतिपय विरामीलाई भरतपुर तथा काठमाडौं पठाउने गरिएको अस्पतालहरुले जनाएका छन्।
यो वर्ष साउनको अन्तिम सातामा देखिएको डेंगी संक्रमण भदौ लागेसँगै महामारीको रुपमा फैलिरहेको छ। वर्षायाममा पुराना भाँडा, खाडल, फलफुलका गमला लगायत क्षेत्रमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने हुँदा भदौदेखि मङ्सिरसम्मको अवधिमा डेंगीको संक्रमण सार्ने लामखुट्टेको लागि अनुकुल समय मानिन्छ।
विगतका वर्षहरुमा जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा डेंगी नियन्त्रणको अभियान संचालन हुने गरेपनि यसवर्ष बुटवल, तिलोत्तमा लगायतका कुनै पनि स्थानीय तहहरुले नियन्त्रणको पहल थालेका छैनन्।
संक्रमितहरुको संख्या थपिँदै जाँदा डेंगी परीक्षण गर्ने किटको भने अभाव देखिएको छ। भेक्टर कन्ट्रोल निरीक्षक शाहले जनस्वास्थ्य कार्यालयमा अब १ सय वटा मात्रै किट रहेको र अहिलेकै अनुपातमा संक्रमण फैलिए तीन चार दिनलाई मात्र पुग्ने बताए।
उनले लुम्बिनी प्रादेशिक अस्पतालले मात्रै ७५ वटा किट माग गरेको र ती दिएपछि २५ वटा मात्रै बाँकी रहने बताए। एउटा किटबाट एकजना विरामीको एक पटक मात्रै डेंगी परिक्षण गर्न सकिने भएकोले डेंगीको अधिकांश लक्षण भेटिएका र अति आवश्यक विरामीको मात्र परिक्षण गर्न इपिडिमियोलोजी महाशाखाले परिपत्र गरेको छ।
भेक्टर कन्ट्रोल निरीक्षक शाहले तीन दिनसम्म ज्वरो आएको प्लेटलेसको मात्रा १ लाख भन्दा कम देखिएका विरामीको मात्र डेंगी परीक्षण गर्न परिपत्र आएको बताए।
सरकारी अस्पतालहरुले जनस्वास्थ्य कार्यालय मार्फत किट ल्याएर डेंगीको परिक्षण गरेपनि निजी तथा सामुदायिक अस्पतालहरुले भने आफैले किट ल्याउने गरेका छन्।
रुपन्देहीका लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज भैरहवा, क्रिमसन अस्पताल मणिग्राम, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा डेंगी परीक्षण हुने गरेको छ।
चिकित्सकले ज्वरो आइहालेमा कुनै औषधि नखाई अस्पतालमा परीक्षणका लागि आउन आग्रह गरेका छन्। स्थानीय तहलाई किट किन्नका लागि र नागरिकलाई सचेत हुन आग्रह गरेका छन्।
डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो। वर्षाको पानी जम्ने डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमलामा यसले फुल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन चिकित्सकहरुले आग्रह गरेका छन्।
यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउन उनीहरुको सुझाव छ।