अघिल्लो साता सुर्खेतको कटकुवा जंगलमा भीरबाट गाईगोरु खसालियो। ती गाईगोरु बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले ट्रकमा हालेर पठाएको थियो। नगर प्रहरीकै नेतृत्वमा आएको टोलीले गाईमाथि त्यो निर्मम व्यवहार गरेको थियो।
राति जंगलको भीरमा खसाल्दा केही गाईगोरु मरे। केहीलाई चोटपटक लाग्यो।
नेपालगञ्जले ल्याएर भीरमा खसालेर पछि घाइते भएका गाईगोरुको चोटमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मल्हम लगाएको छ।
नगरपालिकाका वातावरण तथा विपद् न्यूनिकरण उपशाखाका प्रमुख यामलाल गिरीका अनुसार वीरेन्द्रनगरका विभिन्न ठाउँमा फालिएका ४२ वटा घाइते गाईगोरुको उपचार गरिएको छ। तीमध्ये दुइटाबाहेक सबै बाँचेका छन्।
उपचार गरिएका र बेवारिसे छोडिएका गाईहरू नेपालगञ्ज पठाउने काम भइरहेको गिरीले जानकारी दिए।
‘गाईगोरु व्यवस्थापन गर्ने काम अझै भइरहेको छ,’ उनले भने, ‘नेपालगञ्जबाट ल्याइएका ट्याग लगाइएका २२६ वटा गाईगोरु फिर्ता पठाइसकिएको छ, अरू पनि हुन सक्छन् भनेर खोजी भइरहेको छ।’
नगरपालिकाका अनुसार हालसम्म ३८ वटा गाईगोरु मरेका छन्। शुक्रबार वीरेन्द्रनगरको कटकुवामा नै एउटा मरेको गोरु भेटिएको छ भने एउटा घाइते गाई उपचारकै क्रममा मरेको छ।
अघिल्लो शुक्रबार राति नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखको श्रीस्थान लिने भन्दै ल्याइएको २९१ गाईगोरुमध्ये केही गाई वीरेन्द्रनगरमा पर्ने ब्यूरेनी, सुब्बाकुना र केही कटकुवाका भिरबाट फालिएको थियो।
घाइते गाईगोरुको उपचार गर्ने काम अझ पनि चलिरहेको गिरीले जानकारी दिए। नगरपालिकाको पशु सेवा उपशाखामार्फत् गाईगोरुको उपचार गरिएको छ। उपचारका क्रममा करिब १५ हजार रुपैयाँ खर्च लागेको उनले जानकारी दिए।
यस्तै मरेका गाईगोरु व्यवस्थापन गर्ने कार्यमा एक लाख रुपैयाँभन्दा धेरै खर्च भइसकेको गिरीले बताए ।
घटना रहस्यमय
जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसको आधारमा रातारात दैलख लिन लागिएका गाईगोरु केही भीरबाट फालिनु, धेरैजसो बेवारिसे अवस्थामा जंगलमै छोडिएको यो घटना रहस्यमय बनेको छ । यसमा गाईगोरुको हत्या गर्ने उद्देश्यले वा अन्य कुनै कारण भीरबाट फालिएको हो भन्ने विषयमा अनुसन्धानपछि मात्र पत्ता लाग्ने सुर्खेत प्रहरीले बताएको छ।
दैलेखको श्रीस्थान क्षेत्रका किसानले पाल्नका लागि मागेको भन्दै उपमहानगरपालिकाले आफ्नै व्यवस्थापनमा गत साता ८ वटा ट्रकमा गाईगोरु पठाएको थियो।
दैलेखको श्रीस्थान क्षेत्रमा गाईगोरु लैजाने भनिए पनि त्यस क्षेत्रका सरोकारवालाले भने अनभिज्ञता जनाएका छन्।
घटना भएको भोलिपल्ट श्रीस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवराज थापा र मन्दिरका महन्त गोकर्णनाथ योगीले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै गाईगोरु दैलेख मगाइएकोबारे समिति र मन्दीर रहेको स्थानीय तहलाई थाहा नभएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रकै गौरवमय इतिहास बोकेको श्रीस्थान ज्वालाक्षेत्र र सिंगो पञ्चकोशी क्षेत्रलाई बदनाम हुने गरी भएको यो घटनाको घोर भत्सर्ना गर्दछौं। यसबारे मन्दिर व्यवस्थापन समिति र भैरवी गाउँपालिकालाई कुनै जानकारी छैन।’
जिसस दैलेखले गर्यो नेपालगञ्जको बचाउ
३८ वटा गाईगोरु मर्ने गरी भएको यो घटना भएको भोलिपल्ट नै दैलेखका श्रीस्थान नजिक पर्ने विभिन्न स्थानीय तहले विज्ञप्ति जारी गर्दै नेपालगञ्जबाट सामूहिक रूपमा गाई नमगाइएको प्रष्ट पारिसकेका छन्।
तर जिल्ला समन्वय समिति दैलेखले भने ८ गतेको मिति भएको पत्र १८ गते सार्वजनिक गर्दै नेपालगञ्ज उपमहानगरपालिकाको बचाउ गरेको छ। गौहत्या प्रक्ररणमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणा, कार्यकारी अधिकृत हरि प्याकुरेल, नगर प्रहरी लगायतका कर्मचारी मुछिएका छन्।
उनीहरूको बचाउ गर्दै जिल्ला समन्वय समिति दैलेखले पछि पत्र सार्वजनिक गरेको छ। भदौ ८ गतेको मिति राखिएको जिससको नेपालगञ्ज उपमहानगरपालिकालाई ‘स्वच्छ गाई उपलब्ध गराइदिने’ व्यहोराको पत्र सार्वजनिक भएसँगै यो घटना फरक बनेको छ ।
१८ गते बाहिरिएको (८ गतेको मिति भएको) पत्रमा भनिएको छ– ‘श्रीस्थान, नाभीस्थान, कोटिला, धुलेश्वर, पादुकालगायतका धार्मिक क्षेत्रका साथै नारायण नगरपालिका लगायतका स्थानीय तहमा व्यवसायिक गाईपालन प्रयोजनका लागि स्वच्छ र पाल्नका लागि योग्य गाई उपलब्ध गराई सहयोग गरिदिनहुन सिफारिस साथ अनुरोध छ।’
यो घटना भएको चार दिनसम्म पनि जिल्ला समन्वय समितिको पत्र बाहिरिएको थिएन।
अचम्म लाग्दो कुरा के छ भने जिल्ला समन्वय समिति दैलेख र जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको सिफारिसमा एउटै मिति छ।
८ गते नै जिल्ला प्रशासन कार्यालय बाँकेले बर्दिया, दैलेख र सुर्खेतका जिल्ला प्रहरी कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जका साथै बाटोमा पर्ने अन्य चेकपोष्टहरुलाई बोधार्थ दिएर ३७० चौपाया दैलेखको श्रीस्थानसम्म पुर्याउनका लागि समन्वय गरिदिनु भन्ने व्यहोराको पत्र काटेको छ ।
थप दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटना भएको भोलिपल्ट नै गाई ओसारेका आठ ट्रकमध्ये पाँच वटा नियन्त्रणमा लियो। ती ट्रकका चालक र सहचालक गरी सातजनालाई प्रहरीले पक्राउ गर्यो। उनीहरूलाई अनुसन्धानका लागि भन्दै जिल्ला अदालत सुर्खेतबाट भदौ १५ गतेदेखि लागु हुने गरी सात दिनको म्याद थप गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार यही अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका नगर प्रहरी प्रमुख (प्रहरी निरीक्षक) सूर्य बोगटी र अर्का एकजना पनि पक्राउ परेका छन्। उनीहरूमाथि पनि अनुसन्धान कार्य भइरहेको उनले बताए।
‘यो घटनामा अनुसन्धान गर्दा कुनै पनि कमीकमजोरी हुँदैन, दोषी ठहरिएमा जोसुकै भए पनि कानूनबमोजिम कारबाही हुन्छ,’ रजौरेले भने ।
पशुपंक्षीसम्बन्धी कसुरअन्तर्गत कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कार्य गरे तीन वर्षसम्म कैद हुने कानुन छ। यस्तै गाई वा गोरुलाई अंगभंग बनाएमा ६ महिना कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था ऐनमा छ।