यसपालि नयाँ वर्ष सुरू भएसँगै सुनसरीको धरानमा नयाँ रोग देखिन थाल्यो।
ज्वरो आउने, रूघाखोकी लाग्ने, बिबिरा आउने भएपछि धरानवासी अस्पताल गए। वैशाख ३० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका एक जनामा डेंगी पोजेटिभ देखियो।
त्यसपछि डेंगीको संक्रमण दिनदिनै बढेको बढ्यै भयो।
असार २ गतेसम्म प्रतिष्ठानमा परीक्षणका लागि आएकामध्ये पाँच सय पाँच जनामा डेंगी संक्रमण देखिएको थियो।
विजयपुर अस्पताल र इटहरी अस्पतालमा पनि डेंगी संक्रमित भेटिए। असारसम्म सुनसरीमा छ सय चार जनामा डेंगी संक्रमण देखिएको थियो।
धरान उपमहानगर, जिल्लास्थित स्वास्थ्य कार्यालय र प्रदेश सरकारले यसबीचमा डेंगी नियन्त्रणका लागि सचेतनादेखि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरेको थियो।
इटहरी उपमहानगरभित्रका वडामा लामखुट्टेबाट जोगिन र सरसफाइ अभियान सञ्चालन गर्न अभिमुखीकरण गरिएको थियो।
प्रतिष्ठानमा डेंगी संक्रमितको परीक्षण गराउनेको संख्या बढेपछि (आरटिडी किट) अभाव भएकोमा स्वास्थ्य कार्यालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट गरी तीन सय किट उपलब्ध गराइएकोमा डेंगी संक्रमित बढेपछि त्यो पनि पर्याप्त भएन।
अहिले प्रदेश नम्बर -१ का सुनसरीसहित, झापा, मोरङ, भोजपुर, उदयपुर, धनकुटा, इलाम, संखुवासभा र पाँचथरमा गरी आठ सय ३१ जनामा डेंगी देखिएको छ। डेंगीबाट सुनसरीमा एक जनाको मृत्यु भइसकेको छ।
डेंगी प्रदेश नम्बर -२ मा पनि देखिएको छ। सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा गरी ३९ जनालाई डेंगी संक्रमण देखिएको हो।
धरानबाट टाढा प्रदेश नम्बर-३ काठमाडौं उपत्यकामा पनि डेंगी संक्रमण देखिएको छ। काठमाडौंमा मात्रै दुई सय ५४ जना संक्रमित छन्।
काभ्रे, ललितपुर, भक्तपुर, धादिङ, मकवानपुर, चितवन, नुवाकोट, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र दोलखा गरी दुई हजार दश जना डेंगी संक्रमित छन्। प्रदेश ३ मा डेंगीबाट चार जनाको मृत्यु भइसकेको छ।
गण्डकी प्रदेशमा पनि आठ सय ९६ जनामा डेंगी संक्रमण देखिएको छ। गोरखा, स्याङ्जा, कास्की, तनहुँ, बाग्लुङ, पर्वत, नवलपरासी पूर्व, लमजुङ, मनाङ, म्याग्दीमा डेंगी देखिएको हो। पोखरामा मात्रै सात सय १५ जनामा डेंगी देखिएको छ। हिमाली जिल्ला मनाङमा पनि एक जना संक्रमित छन्।
प्रदेश नम्बर ५ मा पनि डेंगीबाट पीडित छन्। रूपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी पश्चिम, दाङ, बाँके, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, बर्दियामा गरी ९७ जना संक्रमित छन्। कर्णाली प्रदेशका दुई जिल्लामा पनि डेंगी संक्रमित भेटिएको छ।
दैलेख र रूकुम पश्चिममा गरी तीन जना डेंगी संक्रमित छन्। सुदूरपश्चिम प्रदेशमा पनि डेंगीका २३ जना बिरामी छन्। डोटी, कैलाली, दार्चुला, अछाम र कञ्चनपुरमा डेंगी संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंले जनाएको छ।
डेंगीबाटै छ जनाको मृत्यु
डेंगी संक्रमितमध्ये भदौ २२ गतेसम्म छ जनाको मृत्यु भइसकेको छ। महाशाखाका अनुसार काठमाडौंमा दुई, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १/१ जना गरी छ जनाको मृत्यु भएको पुष्टि भएको छ।
डेंगी एडिज नामको लामखुट्टेको पोथीले टोकेपछि मानिसमा सर्छ। यो लामखुट्टेले सफा पानीमा फूल पार्छ।
मन्त्रीदेखि स्वास्थ्यकर्मीसम्म संक्रमित
संघीय सरकारका कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगी भयो। उपचारपछि उनी सोमबार डिस्चार्ज भएका छन्।
रगत जाँच गर्दा गत बुधबार डेंगी संक्रमण देखिएपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको थियो।
गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीलाई पनि डेंगी संक्रमण देखिएपछि ग्राण्डीमै भर्ना गरिएको छ।
पोखराका २१ जना ट्राफिक प्रहरी पनि डेंगी संक्रमण देखिएको छ।
पृथ्वीचोक र सिर्जनाचोक क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई डेंगी देखिएको हो। भक्तपुरका एक स्वास्थ्यकर्मीमा पनि डेंगी देखिएको थियो।
तिलगंगा आँखा केन्द्रका निर्देशक डाक्टर सन्दुक रूइत पनि डेंगी संक्रमणबाट पीडित छन्।
के गर्दैछ महाशाखा ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख प्रकाशप्रसाद शाहले डेंगी नियन्त्रण गर्न स्थानीय, प्रदेश र संघीय मन्त्रालयले सुरूदेखि नै लामखुट्टेका अन्डा, लार्भा नष्ट गर्ने अभियान चलाउँदै आएको बताए।
‘डेंगी संक्रमित लामखुट्टे मारेर र धपाएस सकिँदैन,’ उनले सेतोपाटीसँग भने, ‘फूल पार्न नदिने र लार्भा नष्ट गर्ने हो त्यो काम तीनै सरकारको सहयोगमा गरिराखेका छौं।’
लामखुट्टेलाई फूल पार्न रोक्न सके मात्रै संख्या कम हुने उनले बताए। यो लामखुट्टेले सफा पानीमा फूल पार्छ।
यसको फूल दश दिनमा वयस्क लामखुट्टे भइसक्छ भने यसको आयु एक महिनाको हुन्छ।
‘अहिले मनसुन नै छ। पोस्ट मनसुनको अवस्थामा पनि पानी परिराखेकै छ,’ उनले भने, ‘जतासुकै खाल्डाखुल्डीमा पानी जम्मा भएको छ। त्यही पानीमाथि लामखुट्टेले फूल पार्छ। मौसम प्रतिकूल हुँदा लामखुट्टे बढेका बढ्यै छन्।’
यो पनि हेर्नुहोस्:
हाम्रो घरलाई डेंगी लामखुट्टेबाट जोगाउने १० उपाय
डेंगीको संक्रमण लागेको लामखुट्टेले पारेका सबै अन्डामा डेंगी लाग्ने र ती वयस्क भएपछि टोकाइबाट मान्छेमा डेंगी सर्ने उनले जानकारी दिए।
‘संक्रमित लामखुट्टेले पारेका सबै अन्डामा डेंगी संक्रमण हुन्छ,’ उनले भने, ‘त्यो लामखुट्टेले टोकेपछि मानिसमा पनि डेंगी देखा पर्छ।’
चिसो मौसम सुरू भएपछि लामखुट्टेको संख्या कम हुने उनले बताए।
‘चिसो मौसम सुरू भएपछि लामखुट्टेको संख्या घट्छ,’ उनले भने, ‘पानी परिराखेकोले अझै केही दिन लामखुट्टै बढ्छ, सचेत हुनुपर्छ।’