पशुपति क्षेत्र विकास कोषले पशुपतिमा साँझको आरती सुरू गर्नुअघि राष्ट्रिय गान बजाउन छाडेकोमा बागमती गंगा आरती परिवारलाई कारबाही गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषमार्फत् निर्देशन दिएपछि भदौ १३ गतेबाट साँझ आरती सुरू हुनुअघि राष्ट्रिय गान बजाउन थालिएको थियो। आर्यघाटमा मानिसहरू शोकमा भएका बेला राष्ट्रिय गान बजाउन निर्देशन दिएको भन्दै कतिपयले विरोध गरेका थिए।
विरोधपछि दश वर्षदेखि आरती गर्दै आएको गंगा आरती परिवारले सोमबार साझँबाट आरती बन्द गरेको थियो। कोषले आफूसँग कुनै सल्लाह नगरी पहिले दिएको निर्देशनविपरीत आरती रोकेको भन्दै कारबाही अघि बढाउन लागेको हो।
‘हामीले निर्देशन दिएर राष्ट्रिय गान बजाउन सुरू गरिएको थियो। उहाँहरुले हिजो आफैं बन्द गर्नुभएछ,’ कोषका सदस्य सचिव प्रदीप ढकालले सेतोपाटीसँग भने, ‘मैले छलफलका लागि बोलाएको थिएँ, उहाँहरू आउनु भएन।’
सो संस्थालाई आरती सञ्चालन गर्न दिएको अनुमति अब रद्द गर्ने ढकालले जानकारी दिए।
‘उहाँहरूको अनुमति रद्द गर्नेतर्फ हामी अगाडि बढ्छौं,’ उनले भने, ‘भविष्यमा कोष आफैंले आरती सञ्चालन गर्नेछ।’
पशुपतिनाथ आर्यघाटमा २०६४ सालदेखि साँझपख आरती हुँदै आएको छ। सोही आरती सुरू गर्नुपहिले अनिवार्य राष्ट्रिय गान बजाउन मन्त्रालयले निर्देशन दिएपछि समर्थन र विरोधमा टिकाटिप्पणी हुँदै आएका छन्।
कोषका पूर्वसदस्य सचिव गोविन्द टण्डनले आर्यघाट र सिनेमा हलमा राष्ट्रिय गान बजाउँदा मर्यादा र सम्मान नहुने बताए।
‘राष्ट्रिय गान जहाँ पायो त्यहाँ बजाउने होइन। यसको आफ्नै मर्यादा र सम्मान छ,’ उनले भने, ‘यस्ता कामले जड राष्ट्रवादलाई बढाउँछ, जीवन्त राष्ट्रवादलाई बढाउँदैन।’
आर्यघाटमा बागमती गंगा आरती सञ्चालन हुँदै आएको उल्लेख गर्दै त्यहाँ ठाउँका हिसाबले पनि आरती गर्न नमिल्ने जिकिर उनले गरे।
‘त्यो शव ल्याउने ठाउँ हो। खुट्टा नदीमा तेर्साएर अर्घजल दिने ठाउँ पनि हो। त्यहाँ शोकाकुल र भावुक अवस्थामा मानिसहरू हुन्छन्,’ उनले सेतोपाटीसँग भने, ‘आरती गर्नेमात्रै ठाउँ हुन्थ्यो भने राष्ट्रिय गान गाउँदा केही फरक पर्दैनथ्यो। एक नम्बर र दुई नम्बरका चिता त्यही छ त्यहाँ दनदनी शव जलिराखेका हुन्छन्।’
शोकाकुल परिवार रोइराखेको बेला राष्ट्रिय गानको मर्यादा कायम हुन नसक्ने उनले बताए।
‘रोइराखेको मान्छे राष्ट्रिय गान बजेपछि आँशु पुछ्दै उठ्नुपर्यो,’ उनले भने, ‘सेता लुगा लगाएर शव जलाइराखेको शोकाकुल पनि चुप लागेर खडा हुनुपर्यो। लाश बोकेर जाँदै गरेको मानिस पनि खडा हुनु पर्यो। यस्ता नमिल्ने कुरा धेरै छन्। राष्ट्रिय गानको महत्व बढाउन खोजेको हो भने मर्यादालाई स्खलन हुने काम गर्नु हुँदैन।’
आरती सुरू हुनुपहिले राष्ट्रिय गान बजाउने निर्णयको सामाजिक सञ्जालमा पनि विरोध भएको छ।
पत्रकार कनकमणि दीक्षितले धर्मलाई राष्ट्रवाद र राष्ट्रियतासँग जोड्न नहुने तर्क गरेका छन्।
उनले लेखेका छन्, ‘पशुपतिमा हुने सन्ध्याकालीन आरती पूर्व राष्ट्रिय गान बजाउनुपर्ने आदेश सम्बन्धित मन्त्रालयबाट गएछ। धर्मलाई राष्ट्रवाद त के, राष्ट्रियतासित पनि जोड्नु हुँदैन। फेरि आर्यघाटकै छेउ, निर्णय उल्टाइयोस्।’
आर्यघाटमा आरती पहिले राष्ट्रिय गान बजाउने निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विरोध जनाएको छ। कांग्रेस सांसद भीमसेनदान प्रधानले संसदमा बोल्दै आरतीमा राष्ट्रिय गान बजाउने निर्णय धर्म, संस्कृति तथा परम्परा विरोधी भएको प्रतिक्रिया दिएका छन्।
गत आइतबार संसदमा उनले आरती हुने ठाउँ नजिकै दाहसंस्कार पनि हुने उल्लेख गर्दै भने, ‘संसदमा राष्ट्रिय गान बज्दा सभामुखदेखि हामीहरू उभिन्छौं। दाहसंस्कार प्रक्रियामा रहेकाहरूको पुत्रपुत्री पनि उभिने कि के गर्ने? दाह समात्ने कि उभिइरहने?’