निलो आकाश यतिबेला रंगीबिरंगी देखिनुपर्ने हो- राता, हरिया, बैजनी, सुन्तला, गुलाबी लगायत चंगाका रङहरूले।
तर, हेर्नुस् त, आकाश शून्य छ। चित्र बनाउन बाँकी रित्तो क्यानभासजस्तै। बरू फाट्टफुट्ट काला बादल उड्छन्। पानीका छिटाछिटी हान्छन्। मनसुन अबेरसम्म आकाश ढाकेर बसेको छ। शरद डाक्न चंगा उडाएर इन्द्रलाई सन्देश नपठाई हुन्न। झरीको बीचमा कसरी चंगा उडाउनु! कहाँ पाएर सन्देश पठाउनु!
भनाइ नै छ– सहकालका देउता इन्द्रलाई वर्षा पुग्यो भन्ने सन्देश पठाउन चंगा उडाउनुपर्छ रे। खेतीपाती नसकिँदै कसैले चंगा उडाएको देखे किसानहरू झपार्थे रे। उनीहरूलाई डर हुन्थ्यो, इन्द्रले सन्देश सुनेर आकाशको नल बन्द गरिदिए भने!
यसपालि त मौसम मात्र होइन, हाम्रो आनीबानी पनि चंगाको दुश्मन छ। चंगा र लट्टाइमा झुम्मिने केटाकेटी मोबाइल र ल्यापटपमा लहसिएका छन्। चंगासँगै आकाशमा उड्नुको साटो इन्टरनेटमा संसार डुल्न थालेका छन्।
चिकमुगलका दीपेन्द्रकुमार रञ्जितकार र असनका चंगा व्यापारी दिनोज चित्रकार यो परिवर्तनका भुक्तमान हुन्।
दीपेन्द्र चंगा बेच्ने मात्र होइन, आफैं बनाउँछन् पनि। उनको पसलमा भारतबाट आयातीत रंगीविरंगी चंगासँगै नेपाली कागजबाट बनाइने चंगा पाइन्छन्। कागज महँगो पर्ने भएकाले यसको लागत आयातीत चंगाभन्दा दस गुणा बढी छ। साधारण चंगा पाँचदेखि दस रुपैयाँमा पाइन्छ, कागजी चंगाको पचास रुपैयाँसम्म पर्छ।
'यो चंगा भारतीयभन्दा हलुको हुने भएकाले हावा कम चल्दा पनि राम्ररी उड्छ,' उनले भने, 'महँगो हुने भएकाले कमैले मात्रै किन्छन्।'
दिनोज तीन पुस्तादेखि चल्दै आएको 'चित्रकार चंगा पसल'का सञ्चालक हुन्। असनबाट क्षेत्रपाटी जाँदा बाटैबाट उनको पसल देखिन्छ, जहाँ पहेँलो रङका चंगा घर माथिदेखि तलसम्म लस्करै छ।
खुद्रा व्यापारी भएकाले यहाँ चंगा किन्न काठमाडौं उपत्यकाभरिका मान्छे आउँछन्। रसुवा, धुन्चे, सोलुलगायत ठाउँबाट पनि ग्राहक आउने दिनोज बताउँछन्।
'भारतबाट वीरगन्ज हुँदै आउने चंगा कहिले वीरगन्जकै मान्छेले किनेर लान्छन्,' दिनोज सुनाउँछन्।
उनका अनुसार यो काठमाडौंकै पुरानो चंगा पसल हो। नेपाली चंगा महँगो हुने भएकाले उनीहरू पहिल्यैदेखि भारतको पटनाबाट ल्याउने गर्थे। अहिले पनि कलकत्ता, लखनउ र पटनाबाट आउने क्रम जारी छ। दसैं-तिहारमा चंगा धेरै बिक्ने भए पनि उनको पसलमा बाह्रै महिना चंगा पाइन्छ।
यहाँ तीनदेखि सय रुपैयाँसम्मका चंगा पाइन्छ। चंगाबाहेक हराउँदै गएका पुराना चक्लेट, अैंठे, घुर्रा, सुन्तले मिठाए पनि उनले बेच्न राखेका छन्।
व्यापारिक हिसाबले मात्र होइन, काठमाडौंमै जन्मे-हुर्केकाले पनि दिनोज र दीपेन्द्र चंगासँग नजिक छन्।
काठमाडौंमा दसैं र चंगा कति अभिन्न थियो भन्ने यी दुवैले देखे-भोगेका छन्। उनीहरू सानो हुँदा अहिलेजस्तो मोबाइल, इन्टरनेट थिएन। सबै केटाकेटी चंगामै झुत्तिन्थे। वैशाख–जेठदेखि नै चंगा उडाउन सुरू हुन्थ्यो।
'हामी बिक्रीमा राखेको चंगा चोरेर पनि उडाउँथ्यौं,' दीपेन्द्रले भने, 'घरहरू प्राय: उत्रै आकारका हुन्थे, चंगा उडाउन समस्या हुन्थेन। अहिलेका बच्चाहरू ग्याजेटमा व्यस्त छन्। आमाबुबाले पनि छतबाट खस्छ, छाला कालो हुन्छ भनेर उडाउन दिँदैनन्।'
काठमाडौं उपत्यकाका नेवारहरू चंगालाई 'भुटीमाली' भन्छन्। माथिल्लो आधा भाग एक रङ र तल्लो भाग अर्कै भएकालाई 'वापाच्या भुटीमाली' भनिन्छ। दायाँ–बायाँ कालो रंगाएको भए 'दाह्रीवाल', दुई धर्का छेउमा बनाएको भए 'दुई धर्के'। त्यस्ता चंगा अहिले कम पाइन्छ। झिल्के र प्लास्टिकका चंगाले बजार ओगटेका छन्। चंगा उडाउन जान्नेहरू भने अहिले पनि कागजकै खोज्ने दिनोज बताउँछन्।
'हामीले चंगाबीचमा धागो हालेर कःका बनाउँछौं, त्यो मिल्यो भने जुन चंगा पनि राम्रो उड्छ,' उनले भने।
धागो पनि नामअनुसारका हुन्छन्- टिपु सुल्तान, पान्डा फाइभ, टाइगर, डाइमन्ड, माकाल, १२ तार, १६ तार लगायत। ग्राहकको सुविधाअनुसार घुम्ने र कस्न मिल्ने लट्टाइ पनि पाइन्छ।
'जान्नेहरू निश्चित धागो खोज्दै आउँछन्। बच्चाहरू भने लहलहैमा धागो किन्न आउँछन्। भर्खरै चंगा उडाउन सिक्दै गरेकाले राम्रो धागो किनेर पनि काम छैन,' दिनोज सुझाउँछन्, 'पातलो सस्तो माझा भएको धागोमा उडाउँदा हुन्छ। धागोले मात्रै काट्छ भन्ने छैन, सीप हुनुपर्छ।'
आकाशमा हवाइजहाज उडाउने श्रेय चंगालाई जान्छ। ओलिभर र विल्भर राइट नामका दुई दाजुभाइले सन् १९०३ मा हवाइजहाज उडाउने अनुसन्धानक्रममा चंगा प्रयोग गरेका थिए। बेन्जामिन फ्रयांकलिनले चंगा उडाएरै बिजुली र विद्युतशक्तिको रहस्य पत्ता लगाएका थिए। मौसमको जानकारी प्राप्त गर्न उन्नाइसौं शताब्दीसम्म चंगा उडाइन्थ्यो।
संस्कृतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार चंगा आविष्कार गौतमबुद्ध जन्मनुभन्दा चार–पाँच सय वर्षअघि नै चीनको हान वंशको समयमा भएको हो। करिब तीन हजार वर्षअघि सुरू यो परम्परा पछि फैलिँदै नेपालसम्म आइपुग्यो।
केही समयअघि नेपाली कागजका चंगासँगै धागोमा 'मजा' राख्ने काम पनि हुन्थ्यो। नेवारी भाषामा 'म' भनेको माड र 'जा' भनेको भात हो। परम्परागत रूपमा भातको माडको सहायताले धागोमा काँचको धूलो टाँस्ने प्रविधि नै 'मजा' हो। यही अपभ्रंश हुँदै 'माजा' भनिन थालेको छ। श्रेष्ठका अनुसार असल धागो र धारिलो माजाको प्रतिस्पर्धा पनि चंगा उडाउने खेलको महत्वपूर्ण अंग हुन्थ्यो।
'माडका अतिरिक्त गुँदको लस्सा, साबुदाना वा आरारोटको माड, आलस दानाको लस्सा, कुखुराको काँचो फुल, घिउकुमारीको चोपलगायत अनेक पदार्थ प्रयोग गर्ने चलन थियो,' श्रेष्ठले भने, 'बिजुली जलेको चिमलाई फलामे सिलौटामा कुटेर मसिनो कपडाले छानेको धूलो- 'खाचूँ' सर्वोत्तम मानिन्थ्यो। धागोमा पातलो माड लगाई त्यसमा खाचूँ एकनासले दलेपछि माजा लगाउने काम समापन हुन्थ्यो। बढी माजा परेकाे खस्राे धागाेभन्दा चिप्लाे सर्ने छुराजस्ताे धागाेले खेल जित्न सजिलाे हुन्छ।'
चंगा उडाउने रहरभित्र चंगा लडाउने खेल तीव्र हुनु चंगाबाजका विशेषता हुन्। श्रेष्ठका अनुसार आफ्नो चंगा अरू कसैसँग जुधाउनु छैन भने चंगामा लामो पुच्छर पनि जोड्न सकिन्छ। त्यस्तो चंगा बेइमान नहुने र 'फुइँ' पनि गर्दैनन्।
'यस्ता चंगा जुधाउन भने काम लाग्दैनन्,' उनले भने, 'यो कमजोर हुन्छ। फुइँवाल चंगाले यसलाई सजिलै काट्छ।'
चंगा 'चेट' गर्ने परम्परा नेपालमा फरक छ। भारतमा जस्तो अरूको चंगालाई झट्का दिएर धागो काट्ने दाउ नेपालमा छैन्। नेपालीहरू धागो छाडेर चंगा लडाउँछन्। धागो छाड्न रोकियो भने तुरुन्तै आफ्नो चंगा चेट हुन्छ। श्रेष्ठका अनुसार चंगा लडाउँदा आफ्नो चंगाको धागो माथि परेको छ र चंगाले चकचकी खाएर धागो तान्दैछ भने त्यसले अरूको चंगालाई छिट्टै काटेर चेट गराउँछ।
सबै चंगा सन्तुलित भएर उड्दैनन्। चंगाकाे बनावट नमिलेमा कःका सन्तुलित नभएमा वा बतासकाे वेग तलमाथि भएमा चंगाले बेइमानी देखाउन थाल्छ। अनियन्त्रित भई फन्काे मार्छ। यस्ताे चंगाकाे पखेटामा (पपु कठी) कागजकाे टुक्रा जाेडिन्छ। दाहिने फन्किने चंगामा देब्रेतिर र देब्रे फन्किनेमा दाहिनेतिर वजन मिलाएर 'ग्वय' राख्ने काम हुन्छ। बेइमान चंगालाई तह लगाउने याे सजिलाे उपाय हाे।
बतासको बहाव पश्चिमबाट पूर्वतिर हुन थालेपछि चंगा राम्रो उड्छ। दसैं बेला काठमाडौंमा उड्ने सबै चंगा पूर्वतिर उडिरहेका हुन्छन्। तर काठमाडौंको वातावरणमा चंगाको निम्ति आकाश साँघुरो हुँदै गएको श्रेष्ठ बताउँछन्।
'काठमाडौं अचेल बिजुलीको तारमा जेलिएको छ। घरहरू पनि ठूल्ठूला भए, चंगा उडाउने वातावरण छैन,' उनले भने, 'प्लास्टिकका चंगा त वातावरणका लागि अर्को चुनौती।'
बिक्रेताहरूका अनुसार अहिले मानिसमा चंगा उडाउने फुर्सद नहुनु र साना केटाकेटीले पनि चासो नदिनुले व्यापार घट्दो छ। सजावटका लागि चंगा किन्ने प्रचलन भने बढ्दो छ।
'हामी अरूले चंगा उडाएनन्, हाम्रो पेसा धराशयी भयो भन्छौं, तर हामी आफैंसँग पनि चंगा उडाउने समय छैन। त्यस्तै हो भने विस्तारै चंगा उडाउने परम्परा हराएर जान्छ,' उनीहरू भन्छन्।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी