सिरहाको एक विद्यालयका शिक्षकले पाँच महिनादेखिको तलब पाएका छैनन्।
लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -४ धन्छवारको आधारभूत विद्यालयका शिक्षकले अरू कारणले नभई प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षबीच विवादले तलब नपाएका हुन्।
प्रअ तारिणीप्रसाद चौधरीले समिति अध्यक्ष हरिप्रसाद सदायलाई अध्यक्ष अस्वीकार गरेपछि विवादले उग्र रूप लिएको छ।
विद्यालयमा विवाद देखिएपछि गाउँपालिकाले विद्यालयको बैंक खाता नै रोक्का गरिदिएको छ।
मंसिर १० मा अभिभावक भेलाबाट समितिका सदस्य भएका सदाय पुस २७ गते अध्यक्ष चयन भए।
सदाय विद्यालयको अध्यक्ष चयन भएको नौ महिना हुँदा पनि विवाद ज्युँ का त्युँ छ।
‘मलाई जानकारी नै नदिई कसरी समिति अध्यक्ष चयन गर्न मिल्छ?,’ प्रअ चौधरीले
सेतोपाटीसँग भने, ‘म नभएको मौकामा दुई जना सदस्य मनोनित गरेछन्। मलाई यो स्वीकार्य छैन।’
समितिमा प्रअ सदस्य सचिव हुन्छन्।
तर विवादको कारण उपस्थित हुनु र नहुनुभन्दा फरक छ।
समिति अध्यक्ष सदायले भने प्रअले आफू मुसहर समुदायको भएकै कारण अध्यक्ष अस्वीकार गरेको दाबी गर्छन्।
‘उहाँले पटक/पटक दलितलाई अध्यक्ष मान्दै मान्दिनँ भन्दै आउनुभएको छ,’ उनले सेतोपाटीसँग भने, ‘अभिभावक भेलाले गरेको निर्णय प्रअले लत्याउन मिल्दैन, दलित भनेर होच्याउन पनि मिल्दैन।’
गाउँका केही गन्नेमान्नेको कुरामा लागेर प्रअले आफूलाई अध्यक्ष अस्वीकार गरेपछि विवाद भएको उनले बताए।
‘एक/दुई जना सामन्तवादी व्यक्तिका आडमा प्रअ लागेका छन्, नियमअनुसार अध्यक्ष चुनिएको हुँ, हामीलाई अध्यक्ष मान्न नहुने के छ?,’ उनले भने।
प्रअले आरोप लगाएजस्तो थाहै नदिई समिति गठन भएको भन्ने झूटो भएको उनले बताए।
‘त्यो दिन उहाँ उपस्थित हुनुहुन्थ्यो,’ सदायले भने, ‘आफ्नो मान्छे राख्न नपाउनेजस्तो भएपछि निमित्तलाई जिम्मेवारी दिएर उहाँ हिँड्नुभएको हो।’
विवाद मिलाउन गाउँपालिकामा भएको बैठकमा पनि प्रअले जिम्मेवार भूमिका निर्वाह गर्न नसकेको उनले बताए।
‘स्रोतव्यक्ति, गाउँपालिका प्रतिनिधिलगायत बसेको बैठकमा पनि केही सहमति भएन,’ उनले भने, ‘बैठकमा आउँछु भनेर प्रअ आउनुहुँन्न। आए पनि आफ्ना कुरा राखेर हिँड्नुहुन्छ।’
विवाद बढाउनभन्दा सहमति गरी अघि बढ्न चाहेर पटक/पटक बैठक गरे पनि समस्या समाधान हुन नसकेको सदाय बताउँछन्।
‘सहमतिका लागि छलफल गर्दा दलितलाई सदस्यमा मात्रै चुनेको हो अध्यक्षमा होइन भन्दै उल्टै प्रअले निहुँ खोज्नुहुन्छ,’ सदायले भने।
विवाद बढेपछि अभिभावकहरूले गाउँपालिका गुहारे।
गाउँपालिका अध्यक्ष रामबल्लभ साहका अनुसार प्रअ चौधरीलाई पत्र लेखेर किन समिति पूर्णता नदिएको भनेर सोधे पनि आलटाल गर्दै आएका छन्।
‘तलब रोक्का गर्दा पनि प्रअ चौधरीले आफ्नो व्यवहार सुधार्नु भएन,’ उनले भने, ‘वैशाखभन्दा अघिको तलब रोक्का गरिदिएको छु। तै पनि समस्या समाधान भएन।’
शिक्षकहरूको तलब गत चैतदेखि रोक्का भएको तर प्रअ चौधरीको भने गत मंसिरदेखि नै रोक्का हुँदै आएको गाउँपालिका अन्तर्गत शिक्षा शाखा प्रमुख एकलास यादवले जानकारी दिइन्।
‘मनपरी ढंगले प्रअले काम गरेको उजुरी परेपछि खाता रोक्का गरेका हौं,’ उनले सेतोपाटीसँग भनिन्।
विद्यालयमा एक सय ७७ जना विद्यार्थी पढ्छन्। यीमध्ये अधिकांश मुसहर समुदायका हुन्। तर विद्यालयको पठनपाठनमा भने प्रभावित भएको छैन।
विद्यालयको खाता नै रोक्का हुँदा विद्यालयबाट पाउने सुविधा भने विद्यार्थीले पाएका छैनन्।
‘पटक/पटक प्रअलाई चिठी काट्दा पनि समस्या समाधान भएन,’ उनले भनिन्, ‘गाउँपालिकाले पठाएको पैसा बैंकमै रोकिएको छ, शिक्षकले तलब खान पाएका छैनन्। समितिको विवाद पनि मिलेको छैन।’