सरकारले नेपालबाटै उन्मूलन भएको घोषणा गर्ने तयारी गरिरहँदा कालाजार रोगबाट बुटवलमा एकजनाको ज्यान गएको छ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन रानाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा कालाजारबाट मृत्यु भएको अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले जानकारी दिए।
युनिभर्सल मेडिकल कलेज भैरहवामा परीक्षण गर्दा कालाजार देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि ल्याइएको थियो।
सरकारले सन् २०२० सम्म नेपालबाट कालाजार उन्मुलन गर्ने लक्ष्य लिएको छ। तर पश्चिम नेपालमा भने यसका विरामी बढ्दै गएका छन्। सन् २०१३ मा गरिएको सर्वेक्षणले पर्सादेखि झापासम्मका तराई तथा भित्री मधेसका जिल्लामा मात्र कालाजार रहेको तथ्यांक सार्वजनिक गरेको थियो।
भुसुनाको टोकाईबाट लाग्ने कालाजारको उपचार यो क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै हुने गरेको छ। विशेषगरी तराई क्षेत्रमा मात्रै बसोबास गर्ने व्यक्तिलाई हुने गरेपनि पछिल्लो समय उच्च हिमाली क्षेत्र र पहाडमा समेत देखिन थालेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले पहाडी जिल्लामा तापक्रम बढ्दै गएकोले कालाजार सार्ने सेण्ड फ्लाईपनि पहाडी र हिमाली क्षेत्रमा फैलिदै गएको बताए। ‘लेसमानिया डोनोभानी’ नामक जिवाणुबाट संक्रमित सेण्ड फ्लाईले टोक्दा यो रोग सर्ने गर्दछ।
माटो, गोबर र ओसिलो ठाउँमा बासस्थान गराउने सेण्डफ्लाई लाई १६ देखि ३० डिग्री तापक्रम उपयुक्त मानिन्छ। पाँच वर्ष पहिले पूर्वी तराईमा फैलिएको संक्रमण विभिन्न अभियान संचालन पछि नियन्त्रण भएपनि अन्यत्र भने फैलिन थालेको छ।
अहिले नेपालका ४२ जिल्ला कालाजारबाट प्रभावित भएको शाहले बताए। अँध्यारो र चिसो स्थानमा छिटो हुर्कने सेण्डफ्लाई हावामा माथि उड्न नसक्ने भएपनि घरभित्र सुतेको बेला मानिसलाई टोक्ने शाहले जानकारी दिए।
शाहका अनुसार प्रदेश नं. ५ का पाल्पा र प्यूठानमा कालाजारका विरामी देखिएका छन्। ‘गतवर्ष यो क्षेत्रमा १४ जना कालाजारका विरामी देखिएकोमा उपचार पछि निको भएर घर फर्किएका थिए’ उनले भने।
कालाजारका बिरामी बढ्दै गएपछि कालाजार उन्मूलन गर्ने सरकारले लिएको लक्ष्यमाथि नै चुनौति थपिएको छ। नारायणी पश्चिमका जिल्लाहरुमा कालाजारको संक्रमण नरहेको भन्दै रोकथाम र औषधि वितरण रोकिएको अवस्थामा २०१४ मा प्युठानमा कालाजारको बिरामी भेटिएपछि पश्चिम नेपालमा पनि यसको निशुल्क उपचारको व्यवस्था गरिएको छ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पनि कालाजारको उपचार निशुल्क हुंदै आएको छ। पछिल्लो ५ वर्षमा पाल्पा, प्यूठान, दाङ, अर्घाखांची, गुल्मी, रोल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासी र बाँकेमा कालाजारका विरामी भेटिएका छन्।
कालाजारको संक्रमण हुँदा लगातार ज्वरो आउने, फियो बढ्ने, वजन घट्ने, खानामा रुची नहुने, पेट बढ्दै जाने र समयमा उपचार हुन नसके बिरामीको मृत्यु हुने डा. खनालले जानकारी दिए।