बसन्तपुर, हनुमानढोकामा यःसिं (लिंगो) ठड्याएसँगै काठमाडौं येँया पुन्ही, अर्थात् इन्द्रजात्रामय भएको छ। मंगलबारबाट सुरू आठ दिन लामो जात्रामा पुलुकिसी, लाखे, सभा भकु, कुमारी रथ यात्रा लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि हुन्छन्।
काठमाडौंको यो सबभन्दा ठूलो उत्सव संसारका विभिन्न ठाउँमा बस्ने नेपालीहरूले मनाउने क्रम बढेको छ। गत वर्ष केही अमेरिकावासी नेपालीले पुलुकिसी र कुमारी डुलाउँदै इन्द्रजात्रा मनाएका थिए। भारतको सिक्किम, गान्तोकमा मनाउन थालेको भने पाँच वर्ष बढी भइसक्यो।
सन् २०१३ देखि ‘सिक्किम नेवाः गुठी’ मार्फत् जात्रा सञ्चालन हुँदै आएको गुठीका कार्यकारी सदस्य सुशेन प्रधानले सेतोपाटीलाई जानकारी दिए।
सिक्किम सुगौली सन्धिअघि नेपालसँगै गाभिएको थियो। नेपालका धेरै संस्कार, रितिरिवाज र पर्वहरू अझै पनि सिक्किममा जीवित छन्। त्यहाँ नेवार, गुरुङ, मगर लगायत जातजातिको बसोबास छ। नेवार समुदायको जनसंख्या मात्र ३२ हजार रहेको सिक्किम निर्वाचन आयोगको तथ्यांकले देखाउँछ।
प्रधानका अनुसार यो गुठी सन् १९८२ मा स्थापना भए पनि १९९४ मा दर्ता गरिएको थियो। गुठीले नेपालमा मनाइँदै आएका पर्वहरू त्यहाँ पनि जीवित राख्ने प्रयास गरेको छ। इन्द्रजात्राबाहेक गाईजात्रा, भिमसेन जात्रा, यःमरि पुन्ही, जनै पूर्णिमा लगायत पर्व मनाइँदै आएको छ। तिहारमा केही परिवारले म्हःपूजा पनि गर्छन्।
नेपालमा इन्द्रजात्रा ८ दिन मनाइने भए पनि सिक्किममा एक दिन मात्र मनाइने प्रधानले जानकारी दिए। त्यो दिन सिक्किम सरकारले जात्रा मनाउन विदा दिँदै आएको छ। हरेक वर्ष ठूलो समुदाय जात्रामा सहभागी हुन्छन्।
प्रधानका अनुसार गत वर्ष ५ देखि ६ हजार मानिस जात्रामा सहभागी थिए। जात्रा मनाउन काठमाडौंदेखि सिक्किम पुग्नेहरू पनि छन्। काठमाडौं निवासी किरण मानन्धर त्यसैमध्ये एक हुन्, जो अघिल्लो वर्ष जात्रा मनाउन त्यहाँ पुगेका थिए।
हनुमानढोकामा यःसिं ठड्याइएको भोलिपल्टै सिक्किम हिँडेका उनले काठमाडौंजत्तिकै रौनक भने त्यहाँ महशुस गरेनन्। मानन्धरका अनुसार त्यहाँ काठमाडौंमा जस्तै विधिवत् जात्रा हुँदैनन्। यःसिं ठ्डयाउने, ढाल्ने, भैरव सजाउने, दिवंगतका लागि बत्ती बाल्ने लगायतका गतिविधि त्यहाँ हुँदैनन्।
काठमाडौंमा जुन दिन कुमारी रथयात्रा हुन्छ, त्यही एक दिन गान्तोकमा इन्द्रजात्रा मनाइने उनले जानकारी दिए। यसपालि शुक्रबार परेको छ।
कुमारीलाई तलेजु भवानीको प्रतीकका रूपमा पूजा गरिन्छ। काठमाडौंमा जात्राको मुख्य दिन कुमारी घरबाट तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा गरिन्छ। त्यसै दिन राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा छ। त्यहाँ भने कुमारी रथ सजाइन्छ तर स्वयं कुमारी राखेर पूजा हुँदैन।
‘यहाँजस्तो कुमारीलाई नै राखेर पूजा गरिन्न रहेछ। यहीँको कुमारीको फोटो राखेर रथयात्रा हुने रहेछ,’ उनले भने।
सिक्किम नेवाः गुठीका सदस्य प्रधानका अनुसार यहाँजस्तो कुमारी छान्न नसकेपछि नेपालकै कुमारी पूजा गर्ने चलन चलाइएको हो। यसबाहेक काठमाडौंमा हुने पुलुकिसी, लाखे, महाकाली, सभा भकु लगायत मनोरञ्जनात्मक गतिविधिहरू सबै एकदिने जात्रामै समेटिएको छ। नेवारी धिमे बाजा बजाएर जात्रा गर्ने चलन पनि छ।
‘गुठीले यहाँको नेवार समाजका नयाँ पुस्तामाझ आफ्नो संस्कृति चिनाउने उद्देश्यले जात्रा सुरू गरेको हो,’ प्रधानले भने, ‘नयाँ पुस्ताको साथ र सहयोगका कारण जात्रा मनाउन सहज भएको छ। काठमाडौंझैं सिक्किम पनि सांस्कृतिक सहर बनाउने सोच छ।’
नेवार समुदायले मात्र नभई अन्य समुदायले पनि जात्रा मनाउन चासो देखाइरहेको उनी बताउँछन्। शुक्रबार जात्रासँगै गुठीको नयाँ भवनसमेत उद्घाटन गर्ने तयारी भइरहेको प्रधानले जानकारी दिए।
यता काठमाडौंमा भने मंगलबार बिहान ९ बजेर १७ मिनेटको शुभसाइतमा इन्द्रध्वज फहराएर यःसिं ठड्याएसँगै जात्रा सुरू भइसक्यो। असोज १ गते बिहान ५ बजेर ३५ मिनेटमा यःसिं ढालेपछि आठ दिन लामो जात्रा समापन हुन्छ।
सबै तस्बिरः सिक्किम नेवार गुठी युथ अफेयर्स