स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएसँगै विभिन्न देशका सरकारी तथा गैरसरकारी क्षेत्रकोे चासो बढेको छ। स्थानीय तहले अगाडि सारेका पर्यटन, कृषि, उद्योग लगायतका योजनामा विभिन्न देशका सरकारले चासो देखाएका छन्।
प्रदेश ५ का विभिन्न स्थानीय तहसँग चीनका विभिन्न प्रान्तहरुले भगिनी सम्बन्ध कायम गरी लगानीको वातावरण बुझ्ने गरेका छन्। प्रदेश ५ मा गौतमबुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम लगायतका दर्जनौं ऐतिहासिक तथा पुरातात्विक क्षेत्रहरु रहेका कारण विशेषगरी बौद्ध पर्यटन र त्यसैमै आधारित कृषि क्षेत्रमा चीनका प्रान्तहरुले चासो दिएका हुन्।
यसैबीच नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित भएर म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोलीले बुटवल उपमहानगरपालिकामा भेटघाट गरेको छ।
म्यानमारको नीति निर्माण तहको विशेषज्ञसहितको अध्ययन भ्रमण टोलीले बुटवलको सामाजिक सुरक्षा कार्यक्रमबारे अध्ययन गरेको छ।
नेपालमा २५ वर्ष अघि प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु भएको सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट प्रभावित भएर अहिले म्यानमारले समेत लागू गर्ने तयारी गरेको छ। सोही कार्यक्रमका बारेमा जानकारी लिन त्यहाँका सामाजिक विकास मन्त्रीको नेतृत्वमा विज्ञसहितको टोली यहाँ आएको हो।
म्यानमारको चाइन स्टेटका सामाजिक मन्त्री पाउलुन मिन थानसहित १२ जना सहभागी टोलीले बुधबार बुटवल उपमहानगरपालिकाको अध्ययन गरेको हो। उक्त टोली गत आइतबार देखि नेपालमा छ। टोलीले बुद्ध जन्मस्थल लुम्बिनीको समेत अवलोकन गरेको छ।
बुटवल उपमहानगरपालिकाले नेपालमै नमुना तरिकाले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको जानकारी पाएकाले सुरुमै यहीँ आएको टोलीका संयोजक म्यानमारका मन्त्री थानले बताए।
सो टोलीलाई उपमहानगरपालिकाका कार्यवहाक प्रमुख गुमादेवी आचार्य र प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले स्वागत गर्दै बुटवलको पञ्जीकरणको अवस्था र सामाजिक सुरक्षा कार्यक्रमका बारेमा जानकारी गराए।
त्यस टोलीमा डिएसडब्लूका कार्यक्रम निर्देशक क्य लिन टिन, निर्देशक ज मिन, योजना विभागका सह–निर्देशक लाक्याथिन, बजेट विभागका सहायक निर्देशक म्यो–म्यो आइ, ओएजीका सहायक निर्देशक ई मोन अङ, डिएस डब्लूका सहायक निर्देशक मोए–मोए सान सहभागी छन्।
त्यस्तै विश्व खाद्य कार्यक्रम म्यानमारका कार्यक्रम प्रमुख मार्कस प्रायर, सोही कार्यक्रमका सहायक प्रमुख सोए–सोए वीन तथा विश्व खाद्य कार्यक्रम अन्तर्गतको सिबिटी कार्यक्रमका नीति अधिकारी थिन–थिन आए पनि टोलीमा सहभागी छन्।
उनीहरुले नेपालको सामाजिक सुरक्षा कार्यक्रम र पञ्जीकरणको अध्ययनपछि म्यानमारको सामाजिक सुरक्षा कार्यक्रमको नीति तयार पार्ने छ।
बुटवल उपमहानगरपालिकाले सेवाग्राहीलाई वितरण गर्दै आएको सामाजिक सुरक्षा रकम, वितरण प्रणाली र सेवाग्राहीको सन्तुष्टि र पञ्जीकरणबारे टोलीले विशेष चासो दिएर अध्ययन गरेको कार्यवाहक प्रमुख आचार्यले बताइन्।
उक्त टोलीले बुटवलका वडा स्तरबाट र महाशाखाहरुबाट भइरहेका कामहरु र पञ्जीकरणको अवस्था, सामाजिक सुरक्षा भत्ता लिनेहरुको अवस्थाका बारेमा जानकारी लिनुका साथै सेवाग्राहीसँग अलग–अलग प्रतिक्रिया समेत लिएको थियो। बुटवलमा ८ हजार ५ सय जनाले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन्।