कर्णाली प्रदेशमा रहेका छाडा पशुको व्यवस्थापन गर्न कार्यदल गठन गरिएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा बुधबार सात सदस्यीय कार्यदल गठन गरिएको हो।
पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डाक्टर टंक प्रसाद प्रसाईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको हो।
कार्यदलको सदस्यमा मन्त्रालयका पशुपंक्षी विकास महाशाखाका प्रमुख, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख, सुर्खेतका स्थानीय तहका पशुपंक्षी शाखाका प्रमुखमध्ये वीरेन्द्रनगर पालिकाको प्रतिनिधि सदस्य रहेका छन्।
मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीका अनुसार पशुपंक्षी व्यवसायीमध्येबाट एक जना, कानुन व्यवसायी एक जना र वन उपभोक्ता महासंघ सुर्खेतका प्रतिनिधि पनि कार्यदलमा सदस्य छन्।
सुर्खेतलगायत प्रदेशका अन्य ठाँउमा बेवारिसे रूपमा छोडिएका छाडा पशुको दीर्घकालीन व्यवस्थापन गर्न कार्यदल गठन गरिएको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन्।
कार्यदलले गठन भएको मितिले १५ दिनभित्र आफ्नो रायसहितको प्रतिवेदन मन्त्रालयलाई पेश गर्नुपर्नेछ।
कार्यदलको प्रतिवेदनपछि मन्त्रालयले आवश्यक निर्णय लिने मन्त्री केसीले जानकारी दिइन्।