बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरस्थित चौराह अस्पतालले गरिब बिरामीको डेंगीको परीक्षण नि:शुल्क गर्ने भएको छ।
गत साउन अन्तिम सातादेखि फैलिएको डेंगीले जिल्लाभर भयावह अवस्था ल्याउन थालेपछि अस्पतालले गरिब तथा विपन्न वर्गका बिरामीहरूको परीक्षण नि:शुल्क गर्ने भएको हो।
अस्पतालले आयस्रोत राम्रो भएका व्यक्तिहरूले गरिब तथा विपन्न वर्गलाई छुट्याएको सुविधाको प्रयोग नगर्न पनि आग्रह गरेको छ।
अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले अस्पतालले शुल्क तिरेर डेंगीको परीक्षण गर्न नसक्ने गरिब तथा विपन्न वर्गका बिरामीहरूलाई नि:शुल्क गरिएको जानकारी दिए।
गरिब तथा विपन्न वर्गलाई लक्षित गरी ल्याइएको यो कार्यक्रममा डेंगी परीक्षणका लागि कुनै निवेदन र सिफारिस नचाहिने अध्यक्ष ज्ञवालीले स्पष्ट पारे।
एकजना पनि व्यक्तिको ज्यान बचाउन सकिए पनि ठूलो उपलब्धि हुने भन्दै गरिब तथा विपन्न वर्गलाई नि:शुल्क डेंगी परीक्षण गर्ने निर्णय गरिएको बताए।
उनले राज्यले एक्लै स्वास्थ्य क्षेत्रमा दायित्व पुरा गर्न नसक्ने भएकोले निजी क्षेत्रबाट पनि राज्यलाई सहयोग गर्नुपर्ने बताए।
अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले अस्पतालमा डेंगी परीक्षणको लागि ५ सय किट रहेको र थप ५ सय किटको व्यवस्था गरी करिब १ हजार व्यक्तिलाई नि:शुल्क डेंगी परीक्षण गर्ने योजना रहेको बताए।
अस्पतालले डेंगीको आशंका भएका ३ सय ६० जनामा गरिएको परीक्षणमा ३० जनामा डेंगीको संक्रमण देखिएको जानकारी दिएको छ।
पक्लिहवा कृषि क्याम्पसका निर्देशक डा.कृष्ण काफ्ले र भेटेनरी एसोसिएसन प्रदेश ५ का अध्यक्ष डा.वीरेन्द्र कुमार श्रेष्ठले डेंगी लगायतका संक्रमणजन्य रोगहरू नियन्त्रणका लागि भेटेनरी शिक्षण अस्पतालको सहयोगमा वान हेल्थ वान कन्सेप्ट अनुसार काम गर्न सकिने बताए।