बिहीबार अपराह्न चार बजे त्रिभुवन विमानस्थलको गेटबाहिर चार युवा पर्यटक बस लिएर कसैलाई कुरिरहेका थिए। एल्ली गुरूङ, उनकी श्रीमती र आठ महिनाकी छोरी त्रिभुवन विमानस्थलमा अपराह्न ओर्लिएका थिए।
प्रहरीका अनुसार उनीहरू बुद्ध एयरको जहाजमा भद्रपुरबाट काठमाडौं आएका थिए। आन्तरिक टर्मिनल भवनबाट बाहिर निस्केपछि उनीहरूलाई केही व्यक्तिले समातेर गाडीमा हाले।
तीनै जनालाई कलंकीको एउटा क्याफेमा लगे। त्यहाँ पुगेपछि फिरौती तिर्नुपर्ने भन्दै ती युवाले एल्ली र उनकी श्रीमतीसँग ‘बार्गेनिङ’ थाले।
एल्लीले आफूसँग तत्काल त्यति रकम नभएको सुनाए र रकमको जोहो गर्नुपर्ने बताए। चार युवाले पत्नी र आठ छोरीलाई छोडिदिए। उनीहरूलाई छोड्नुअघि सर्त राखिएको थियो- फिरौती रकम लिएर आउनू।
छोरी र आफू छुटेपछि एल्लीकी श्रीमती निस्किइन्। महिलाले फिरौती रकम जोहो गर्न होइन, प्रहरीमा खबर गर्न थालिन्।
एल्लीकी श्रीमतीले घटना सुनाएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट प्रहरी टोली निस्कियो। प्रहरीले अपहरणमा संलग्नलाई तत्काल समातेर एल्लीको उद्धार गर्यो।
प्रहरीका अनुसार प्रहरी पुग्दा युवाले अढाइ लाख फिरौती रकमका लागि एल्लीलाई तनाव दिइरहेका थिए।
काठमाडौं महानगरपालिका-९ स्थित विमानस्थलको गेट अगाडिबाट कास्की पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने ३८ वर्षीय एल्लीसहित श्रीमती र छोरीलाई अपहरण गरी फिरौती रकम मागेको अभियोगमा प्रहरीले चारै जनालाई साँझ पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड बस्ने नुवाकोट लिखु गाउँपालिका-४ का ३१ वर्षीय मिलन राई, काठमाडौं सितापाइला बस्ने काभ्रे भुम्लु गाउँपालिका घर भएका ३० वर्षीय विनेश पहरी, काठमाडौं सोल्टीमोड बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-२ घर भएका ३० वर्षीय दिनेश लामा र काठमाडौं सोल्टीमोड बस्ने २३ वर्षीय सुशील उप्रेती छन्।
उनीहरूले गुरुङलाई ग१ञ १०६५ नम्बरको पर्यटक बोक्ने ट्याक्सीमा राखेर सोल्टीमोडस्थित हंगेरी फुडल्याण्ड एण्ड क्याफे पुर्याएका थिए। क्याफेमा पुगेपछि उक्त रकम फिरौती मागेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ।
वृत्तको टोलीले क्याफेबाटै संलग्नहरूलाई पक्राउ गरी पीडितको उद्धार गरेको बृत्तका प्रहरी नाउब उपरीक्षक रुगम कुँवरले बताए।
उनका अनुसार अपरहणकारी र पीडितबीच लेनदेन विवाद रहेको खुल्नमा आएको छ।
‘बारम्बार विवाद भइरहने गरेको र काठमाडौं उत्रिएलगत्तै पर्यटक बसमा चढाएर अपहरण गरी फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ कुँवरले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ।’
अपहरणमा संलग्नहरूलाई हिरासतमा लिएर अनुसन्धान थालिएको कुँवरले बताए। उनीहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान थालिएको छ।
प्रहरीले एल्ली र उनलाई अपहरण गर्नेहरूसँग के कस्तो लेनदेन थियो भन्ने विषय खुलिनसकेको बताएको छ। र, पोखराका उनीहरू झापा पुगेर काठमाडौं आउने प्रयोजन के थियो, त्यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
‘काठमाडौं उत्रिनुअघि उनीहरूसँग सम्पर्क भएको थियो वा थिएन र आन्तरिक लेनदेन विषयमा के-कस्तो कुराकानी भइरहेकोबारे अनुसन्धान गर्न बाँकी छ,’ डिएसपी कुँवरले भने, ‘शुक्रबार काठमाडौंमा सार्वजनिक विदा परेकाले उनीहरूबीचको सम्पर्कबको टेलिफोन रेकर्ड झिकाउन सकिएको छैन।’