नेपालमा नवजात शिशु मृत्युदर प्रति हजारमा २१ हुँदा कर्णाली प्रदेशमा भने २९ छ।
कर्णाली प्रदेशमा एक हजार नवजात शिशु जन्मँदा महिना दिन नपुग्दै २९ जनाको मृत्यु हुने गर्छ।
तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७५/७६ मा मात्र कर्णाली प्रदेशमा १४३ नवजात शिशुको मृत्यु भएको छ।
कर्णाली प्रदेशमा नवजात शिशु मृत्युदर बढी हुनुको प्रमुख कारण भनेको बालविवाह र पोषणको कमी रहेको छ। कर्णाली प्रदेश अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा. नवराज केसीका अनुसार मृत्यु भएका नवजात शिशुमध्ये अधिकांश १९ वर्षमुनिका आमाले जन्माएका शिशु हुन्।
कर्णाली प्रदेश अस्पतालमा २०७६ साउनमा ६०० बच्चा जन्मिएका थिए। तीमध्ये १५ जनाको मृत्यु भएको डा. केसीले जानकारी दिए।
उनका अनुसार १० जना आमाको पेटभित्रै मरेका छन् भने ५ जना नवजात शिशुको १ महिनाभित्र मृत्यु भएको छ।
प्रदेश अस्पतालमा जन्मिएका ती ६०० नवजात शिशुमध्ये ९० जना त एक किलोग्राममुनिका रहेको उनले बताए।
आमाको शरीरलाई आवश्यक पोषणको व्यवस्थापन नहुँदा एक केजीमुनिका बच्चा जन्मिने डा. केसीले जानकारी दिए।
‘हाम्रो प्रदेशमा बालविवाह गर्ने क्रम अझ पनि उस्तै छ, यसकारण १९ वर्षमुनिका आमा बन्ने धेरै छन्,’ बालरोग विशेषज्ञ डा. केसीले भने, ‘त्यसैमाथि दुर्गम क्षेत्र र गरिब परिवारमा गर्भवतीलाई आवश्यक पर्ने पोषण व्यवस्थापन भएको हुँदैन, यसकारण पनि १ किलोमुनिका बच्चा जन्मिन्छन्।’
सामाजिक विकास मन्त्रालयका महिला तथा वालवालिका महाशाखाका अनुसार कर्णाली प्रदेशमा २० वर्षमुनिका आमा बन्ने महिलाको संख्या धेरै छ। आर्थिक वर्ष २०७४/७५ मा मात्र १३ हजार ६४० जना महिला २० वर्ष नपुग्दै गर्भवती भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको तथ्यांकमा उल्लेख छ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७२/७३ देखि ०७४/७५ सम्म ४० हजार ९६१ जना महिला २० वर्ष नपुग्दै आमा बनेका छन्।
मन्त्रालयको महिला तथा बालबालिका महाशाखाका अनुसार कर्णाली प्रदेशमा ५२ प्रतिशत बालविवाह हुने गरेको छ।
डा. केसीका अनुसार १९ वर्षमुनिका आमाले जन्माएका बच्चा ५० प्रतिशतभन्दा धेरै तौल नपुगेका हुन्छन्।
नवजात शिशुको मृत्यु हुनुमा विभेद पनि अर्को कारण रहेको छ।
छोरी जन्मिएमा अस्पताल नराखेर लैजाने चलन भएकाले उपचार, स्याहार नपाएर शिशुको मृत्यु हुने गरेको डा. केसीले बताए।
‘डेढ किलोमुनिका बच्चा जन्मिए अस्पताललाई पनि बचाउन दुई महिना लाग्छ,’ उनले भने, ‘हाम्रोमा यदि छोरी जन्मिए बुवाआमाले अस्पतालबाट घर लैजान्छन्, ती शिशु तौल नपुगेका रैछन् भने घरमा मर्छन्।’
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत विनोद आचार्यका अनुसार अघिल्लो आर्थिक वर्षमा सुर्खेतमा मात्र ५२ जना नवजात शिशुको मृत्यु भएको छ। ती सबै शिशुको जन्मिएको २८ दिनभित्र मृत्यु भएको हो।
यस्तै, सल्यानमा १९, रुकुम पश्चिममा १०, जाजरकोटमा १६, दैलेखमा १०, कालिकोटमा ८, जुम्लामा २१, मुगुमा ३, डोल्पमा ४ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।
नवजात शिशु मृत्युदर घटाउन समाजलाई पनि सजग गराउनुपर्ने बालरोग विशेषज्ञ डा. नवराज केसी बताउँछन्। पोषण, कम उमेरमा आमा बन्दा हुने बेफाइदा, बालविवाहका बेफाइदा जस्ता विषयमा समाजलाई सजग गराउन सकिएमा शिशु मृत्युदर कम हुने उनको भनाइ छ।
‘अस्पतालमा इक्वीपमेन्ट भएको भर परेर मात्र हुँदैन, नवजात शिशु मृत्युदर कम गर्न समाजलाई पनि सजग गराउनु जरुरी छ,’ उनले भने, ‘हाम्रो समाजमा घरका सबै परिवारले खाइसकेपछि मात्र श्रीमती वा बुहारीले खाना खाने चलन छ, यसलाई परिवर्तन गर्न सके पनि पोषण पुग्छ र शिशु मृत्युदर कम गर्न धेरै मात्रामा सघाउ पुग्छ ।’
सन् २०३५ सम्म नेपालमा हालको शिशु मृत्युदरको अवस्थालााई घटाएर प्रति १ हजारमा २१ बााट १२ मा झार्ने राष्ट्रिय लक्ष्य छ ।