रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १४ का मुक्तिराम मरासिनी ७३ वर्षका भए।
आफ्नै घरमा खुद्रा किराना पसल चलाउँदै आएका मरासिनीले विगत दुई वर्षदेखि पेन्सन बुझ्दै आएका छन्।
कुनै पनि सरकारी सेवामा जागिर नखाएका मरासिनीलाई मासिक रूपमा बुझ्ने गरेको एक सय रुपैयाँको पेन्सन हजारौं रुपैया जस्तो लाग्छ। वृद्ध अवस्थामा पनि किराना पसल चलाउँदै आएका मरासिनीलाई आफूले पाएको एकसय पेन्सन अनावश्यक खर्च गर्न मन लाग्दैन, जतन गरेर पसलमा लगाउँछन्।
बुटवल १५ कि चन्द्रकुमारी रेग्मी, बासुदेव उपाध्याय, बुटवल १४ का मोतीराज गौतम, बुटवल ६ का ज्ञानेन्द्र खनाल, र तोयनारायण न्यौपानेले पनि दुई वर्षदेखि मासिक एकसय रुपैयाँका दरले पेन्सन पाउँदै आएका छन्।
वृद्ध अवस्थामा सानो रकमले पनि ठूलो महत्व राख्ने भन्दै रुपन्देहीको भद्रकाली सहकारी संस्थाले आफ्ना जेष्ठ सदस्यहरूलाई पेन्सन दिन थालेको हो। सहकारीको यो पेन्सन योजनाले सदस्यहरूमा उत्साह जगाएको छ।
बुटवल उपमहानगरपालिका वडा नं १४ सेमलारमा मुख्य कार्यालय रहेको सहकारीले २०७४ सालदेखि ७० वर्ष उमेर नाघेका जेष्ठ सदस्यहरूलाई मासिक पेन्सन दिन थालेको हो।
हालसम्म सहकारीका ७० वर्ष उमेर नाघेका ९ जना जेष्ठ सदस्यले मासिक एकसय रुपैयाँ पेन्सन बुझ्ने गर्छन्।
बुटवल १२ का हरिप्रसाद अर्याल, बुटवल १४ कि सुनादेवी रिजाल र जमुनादेवी भट्टले पनि २०७५ सालदेखि पेन्सन बुझ्न थालेका छन्। उनीहरूले सहकारीको सदस्य रहेको अवस्थामा बाँचुञ्जेलसम्म पेन्सन पाउने छन्।
सहकारीको सदस्य भएको १० वर्ष अवधि पूरा गरेको र ७० वर्ष उमेर पूरा गरेका सदस्यहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत मासिक रूपमा पेन्सन वितरण गर्न थालिएको सहकारीका व्यवस्थापक तुलसीनाथ पौडेलले बताए।
‘सहकारीमा सदस्य भएको १० वर्ष अवधि पुगेको र ७० वर्ष उमेर पूरा भएका सदस्यलाई उनीहरूले जम्मा गर्ने मासिक किस्ता रकमका आधारमा पेन्सन दिन थालेका छौं,’ व्यवस्थापक पौडेलले भने।
जेष्ठ नागरिक पेन्सन कार्यक्रम अन्तरगत मासिक २ सय रुपैयाँ बचत गर्ने जेष्ठ सदस्यलाई ७५ रुपैयाँ, ५ सय रुपैयाँ बचत गर्नेलाई एक सय रुपैया, एक हजार रुपैयाँ बचत गर्नेलाई १ सय २५ रुपैयाँ र एकहजार रुपैयाँ भन्दा बढी बचत गर्ने सदस्यलाई एक सय ५० रुपैयाँ पेन्सन दिने गरिएको व्यवस्थापक पौडेलले बताए।
त्यस्तै, सहकारीमा महिलाहरूको आकर्षण बढाउन सुत्केरी भएको खण्डमा उनीहरूले गर्ने बचत संकलनका आधारमा २ पटकसम्मलाई सात सय रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म सुत्केरी भत्ता दिँदै आएको छ।
गएको आर्थिक वर्ष २०७५/७६ मा २ सय ६५ जना सदस्यलाई सुत्केरी भत्ता र उपचार खर्चका लागि ६ लाख ८ हजार २ सय ३० रुपैयाँ रकम खर्चेको संस्थाका अध्यक्ष कृष्ण भुसालले बताए।
सहकारीले अगाडि सारेको जेष्ठ सदस्य पेन्सन र स्वास्थ्य उपचार कार्यक्रमले सहकारी आफ्नै लागि आवश्यक रहेछ भन्ने भावनाको विकास गराएको जेष्ठ सदस्य हरि प्रसाद अर्यालले बताए।
२०५६ सालमा रुपन्देही जिल्लालाई कार्यक्षेत्र तोकेर २६ जना सदस्यहरूबाट सुरू गरिएको भद्रकाली सहकारीमा अहिले ३ हजार ३ सय ६९ महिला, १ हजार ८० जना पुरुष र ३ वटा संस्था गरी ४ हजार ४ सय ५२ सदस्य रहेको अध्यक्ष भुसालले जानकारी दिए।