काठमाडौंको सबभन्दा ठूलो उत्सव येँया पुन्ही, अर्थात् इन्द्रजात्रामा रथ तान्नेदेखि प्राय: बाह्य गतिविधिहरूमा पुरूष मात्र सरिक हुन्थे। आठ वर्षअघि आएर महिला र पुरूषलाई समावेशी ढंगले सरिक गराउनुपर्छ भन्ने कुरा उठ्यो।
त्यसपछि सुरू भयो, एउटा नयाँ परम्पराको थालनी- तीन दिन हुने कुमारी रथयात्रामा एकदिन महिलाहरूले मात्र रथ तान्ने।
सुरुआतमा सजिलो भएन। रथ तान्दा प्रयोग हुने डोरीलाई शेष नागको प्रतीकका रुपमा लिइन्छ। पुरातन सोच बोकेका बूढापाकामा डोरी महिलाले छुनै नहुने र नाघ्नै नहुने मान्यता थियो। त्यो सोच कसरी तोड्ने भन्ने अन्योलजस्तो भयो।
त्यही अन्योलबीच समाजसेवी मोहनकृष्ण डंगोलले ‘कुमारीको रथ नानिचाको दिन नानीहरूले नै तान्छ’ भनेर सञ्चार माध्यममा बताइदिए।
'नानिचा' भनेको तेस्रो तथा अन्तिम दिनको रथयात्रा हो, जब कुमारीको रथ सहरका भित्री बस्ती घुमाइन्छ। आज त्यही दिन हो।
डंगोलले सञ्चार माध्यममा घोषणा गरिदिएपछि महिलाहरूलाई रथ तान्न लगाउनैपर्ने बाध्यता भयो। धेरैले यसलाई चुनौती ठाने। यसमा ‘श्री श्वेत भैरव हाथा हायकेगु व्यस्थापन समिति’ ले नेतृत्वदायी भूमिका खेल्यो। ‘नेवारी समुदायमा ज्यापूहरूलाई बलियो मानिन्छ। ज्यापूझैं ज्यापूनी पनि बलिया हुन्छन् भन्ने सोच्यौं। अनि ज्यापू महिला गुठीको सहयोगमा रथ तानियो,’ समितिकी सचिव ज्योत्सना सिन्दुराकारले सेतोपाटीसँग भनिन्।
कुमारी रथ तान्न कम्तीमा सय जना चाहिन्छ। त्यो बेला जेनतेन पुर्याइएको थियो। अचेल बर्सेनि ठूलो समूह दर्ता हुन आउने ज्योत्सनाले बताइन्।
त्यसको दुई वर्षपछि येँयामा अर्को पनि परिवर्तन भयो- महिलाहरूलाई हाथु द्य: अर्थात्, श्वेतभैरवको मुखबाट जाँडरक्सी खुवाउन छुट्टै दिन तय गर्ने। यो माथिल्लो टोल (कोहने) मा रथ तानेको भोलिपल्ट हुन्छ।
झन्डै १५ फिट अग्लो श्वेत भैरव वर्षभरि हनुमानढोकाको नौझ्याले घरमा बन्द हुन्छ। द्वादशीको दिन यःसिं (लिंगो) ठड्याएपछि जात्रा नसकिदाँसम्म खुला राखिन्छ। द्वादशीकै दिन श्वेत भैरवलाई कर्कलोको पानीले नुहाइदिने चलन छ। यसो गर्दा सुनको जलप नजाने, कालो नहुने र मूर्ति टल्कन्छ भन्ने मान्यता छ। त्यसै दिन बेलुकी ‘हाथा हायकेगु’ हुन्छ। यो भनेको श्वेत भैरवको प्रसादस्वरुप जाँड–रक्सी खुवाउनु हो।
आठ दिन चल्ने यो जात्रा अवधिभर जाँड–रक्सी खुवाइन्छ। भैरवको मुखमा पाइप लगाएर दिनको करिब ८० लिटर जाँड-रक्सी अनवरत रूपमा खुवाउने परम्परा छ। खानेको पनि भिड्मभिड हुन्छ।
यति धेरै जाँड कसरी तयार हुन्छ?
जाँड बनाउनुअघि ‘यचिंकायगु’ गर्ने चलन छ। यो भनेको सुचि–निधि अर्थात शुद्धि गर्ने दिन हो।
द्वादशीको दिनबाट आधिकारिक रूपमा येँया पुन्ही सुरु हुन्छ। त्योभन्दा चार दिनअघि जाँड बनाउन थालिएको हुन्छ। जाँड बनाउने तरिकालाई ‘प्वः हायगु’ भनिन्छ। यसमा मना (जाँड बनाउने सामान) र अनिवार्य रूपमा ताइचिनको चामल हाल्नुपर्छ। यो प्रक्रियाबाट तयार भएकोलाई ‘पोकः’ भनिन्छ।
भैरवको मुखबाट पठाउने दिन पानी हालेर जाँड बनाइन्छ। यसलाई ‘कवँचाः’ भन्ने माटोको भाँडामा पकाउन भण्डारण गरिएको हुन्छ। भैरवको मुखबाट ‘हाथा हायकेगु’ गर्ने दिनमा चार भाँडा जाँड खपत हुन्छ। प्रत्येकबाट २० लिटरजस्तो जाँड बन्छ।
भैरवको पछाडि ‘तेप’ भन्ने घ्याम्पो छ। त्यसमा जाँड राखेर भैरवको मुखमा पाइप फिट गरिन्छ। श्वेत भैरवका गुठियार सुनिल ताम्राकारका अनुसार भैरव महादेवका रूप हुन्। महादेवले भाङ, धतुरो, गाँजा खान्छन्। यसैले जाँड प्रसादकै रूपमा खुवाइन्छ।
यो नेवारी संस्कृतिसँग पनि जोडिएको छ।
‘हाम्रो नेवारी संस्कृतिमा जाँड–रक्सी सगुनका रूपमा खाने चलिआएको परम्परा हो,’ सुनिलले भने, ‘भैरवको मुखबाट आएको जाँड खान सक्ने मान्छे स्वस्थ हुने, बिरामी नहुने र हृष्टपुष्ट हुने मान्यता छ।’
इन्द्रजात्रामा सात दिन जाँड खुवाइन्छ। एकदिन रक्सी। रथयात्राको पहिलो दिन (पूर्णिमा) कुमारी, भैरव र गणेशलाई प्रसाद स्वरुप रक्सी खुवाइन्छ। बाँकी दिन जाँड हुन्छ। माथिल्लो टोल (थने) मा रथ तानेको भोलिपल्ट महिलाले मात्र जाँड खान पाउँछन्।
‘महिला पुरुष बराबर जानु छ भने सबै कुरामा किन नजाने?’ ज्योत्सनाले भनिन्, ‘महिला भएर जाँड खान जानु भनेको चानचुने कुरा थिएन। घरपरिवार एकातिर, समाजको डर अर्कातिर। एक प्रकारको क्रान्ति नै थियो।’
‘महिलाहरू पनि रथ तानेपछि थाक्छन्। त्यसबेला जाँडले स्फ्ट ड्रिङ्कजस्तो काम गर्छ र तागत पनि दिन्छ,’ उनले भनिन्।
काठमाडौंस्थित सतुंगलमा श्वेत भैरवको १०४ रोपनी जग्गा छ। त्यो सरकारले चलाइरहेको छ। गुठियार सुनिलका अनुसार त्यही जग्गा चलाएबापत वर्षमा एकपटक चामल, राँगा, बोका लगायतको जिन्सी सामान दिन्छ। यही सामग्री पूजाविधि एवम् जाँड बनाउन प्रयोग गरिन्छ।
श्वेत भैरवलाई स्थानीयहरू आजु भनेर पुकार्छन्। इन्द्रजात्राको इतिहास पुरानो भए पनि श्वेत भैरव इन्द्रजात्रासँग जोडिएको धेरै भएको छैन। सामान्य अर्थमा श्वेत भैरव भनेको सेतो भैरव हो। तर, यो सेतो छैन। सन् १८५२ मा रणबहादुर शाहले यसलाई सुनौलो स्वरुपमा निर्माण गरेका थिए।
त्यो बेला चार हजार रुपैयाँमा निर्माण गरिएको अभिलेख छ। परम्परादेखि चलिआएको इन्द्रजात्रामा रौनक थप्न श्वेत भैरव प्रदर्शन गर्न थालिएको गुठियार सुनिल बताउँछन्।
‘त्यो बेला काठमाडौंमा भूत, पिचासको डर थियो रे,’ सुनिलले भने, ‘भैरवको स्थापना गरिएपछि उनीहरू डराएर भागेको भन्ने मान्यता छ। सधैं प्रदर्शन गर्दा यसको महत्व नहुने र हेर्दै डरलाग्दो भएकाले इन्द्रजात्रामा मात्रै प्रदर्शन गरिएको हो।'