के तपाईं एक-दुई मिनेट ढिलो भएकै कारण कुनै डाक्टरको क्लिनिकबाट फर्किनुपरेको छ?
'फिजिसियन' डाक्टर सुन्दरमणि दीक्षितकहाँ जँचाउन जाँदै हुनुहुन्छ भने समयको ख्याल राख्नुस्, निराश भएर फर्किनुपर्ला।
कोही बिरामीलाई डा. दीक्षितसम्म पुग्नु छ भने चलनचल्तीको 'नेपाली टाइम'मा होइन, उनकै अर्थात् घडीकै समयअनुसार चल्नुपर्छ। जो कोहीले होस्, भेट्न समय लिनैपर्छ, भनेको समयमा पुग्नैपर्छ।
हामीले दिउँसो एक बजेको समय लिएका थियौं। १२ः३० मै दीक्षितको क्लिनिकका सहायक महेन्द्र श्रेष्ठले फोन गरेर भने, 'एक बज्नुअघि नै आइपुगिसक्नु है।'
पहिल्यै समय लिएर पनि तलमाथि भयो भने महेन्द्रले गाली खाने खतरा हुन्छ। त्यसैले महेन्द्र फोन घुमाउँदै हरेक बिरामीलाई 'रिकल' गराउँदै 'रिकन्फर्म' गराइरहन्छन्। नाम लेखाएर नजानेहरूले फेरि अर्को पटक समय पाउँदैनन्।
समयसँगै अनुशासनमा पनि कडा छन् डा. दीक्षित। उनीकहाँ सूर्ति, चुरोट, गुट्खा खाएर वा दुर्गन्धित मुख लिएर जान निषेध छ। जाँच कक्षमा छिर्दा कथमकदाचित मोबाइल 'अफ' वा 'साइलेन्ट' गर्न बिर्सनुभयो र त्यही बेला घन्टी बज्यो भने बुझ्नुस् तपाईंको दिन खराब भयो। तपाईंलाई सोझै घर फर्काइदिन्छन्।
'फलोअप'का लागि जाँदा डाक्टरले बनाइदिएको कागज लैजान भुल्नुभएको छ भने पनि तपाईंले गाली खाने पक्का छ। यस्तै कडा नियम र स्वभावका कारण डा. दीक्षित केही बिरामीका नजरमा 'मुडी' र 'कठोर' डाक्टर हुन्।
उनको व्यक्तित्वको अर्को पाटो पनि छ। ५५ वर्षदेखि घर र क्लिनिकको काममा सघाउँदै आएका माइला बोगटी दीक्षितलाई संवेदनशील डाक्टर भन्छन्।
'डाक्टर साब अनुशासनमा चल्ने मान्छे। भनेजस्तो नहुँदा रिसाउनुहुन्छ, गाली पनि गर्नुहुन्छ। तर उहाँको रिस पाँच मिनेटको मात्र,' आधा शताब्दीभन्दा धेरै समयको माइलाको अनुभवले भन्छ, 'उहाँ बिग्रोस् भनेर होइन, सप्रोस भनेर रिसाउने हो।'
धेरै वर्ष रोगले थलिएकाहरू डा. दीक्षितकहाँ आएपछि सुधार भएका माइला र महेन्द्र सुनाउँछन्। ०६४ सालदेखि काम गर्दै आएका महेन्द्र असल र सफल डाक्टरकहाँ काम गर्न पाएकोमा सन्तोक मान्छन्।
दीक्षितको नियममा चल्नुभयो भने तपाईंलाई पनि लाग्नेछ, 'सही ठाउँमा आइपुगेँ।'
पाटन गेट नपुग्दै बसपार्कलगत्तै दायाँतिर छिर्ने एउटा गल्ली छ। यलमाया केन्द्रलाई बायाँ पारेर दुई सय मिटर कटेपछि दाहिनेतिर उनको क्लिनिक र देब्रेतर्फ उनको घर पर्छ। रुद्राक्षदेखि अम्बासम्म हुर्किएका क्लिनिकको कम्पाउन्डमा छिर्दै गर्दा तपाईं सूचनाहरू देख्नुहुनेछ–
बिरामीले हल्ला नगर्नुहोला। धूम्रपान निषेध। जुत्ता यहाँ राख्नुहोला। मोबाइलको स्वीच बन्द गर्नुहोला...आदि।
गुलाबी दुईतले घरको भुइँतलामा छ बिरामी जाँच्ने कक्ष। बाहिर प्रतीक्षा कोठामा राखिएका किताब पढेर समय कटाउन सकिन्छ। भित्तामा टाँगिएका डा. दीक्षितकै तस्बिरहरू हेरेर केहीबेर भुल्न पनि सकिन्छ। उनी गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, पूर्वराजा ज्ञानेन्द्र शाह, अर्थविद् देवेन्द्रराज पाण्डेसँगै देखिन्छन्। नागरिकका हैसियतमा राजनीतिक आन्दोलनमा भाग लिँदाका तस्बिर हुन् उनका।
यो कोठामा राजनीतिक रूचिसँगै दीक्षितको धार्मिक आस्था झल्काउने किताब पनि छन्। यसमा 'श्री साईबाबा एक परिचय' शीर्षकको किताब छ, जुन उनैले लेखेका हुन्। यो निःशुल्क लिन पाइन्छ।
डा. दीक्षित बिहान ठीक २ बजे उठ्छन्। कसरत पनि घडी हेरेर ठीक ३८ मिनेट गर्छन्। हरेक आइतबार ३ः१५ मा 'वाक' जान्छन्। पाटन ढोकाबाट पशुपतिदेखि गुह्येश्वरीको चक्कर लगाएर फर्किन उनलाई सवा दुई घन्टा लाग्छ। खाने, पढ्ने र सुत्ने समय पनि निश्चित छ।
उनको दैनिकी घडीको सुईझैं उही समयमा उही ठाउँमा चल्छ। यति 'पंचुअल' छन्, हरेक काम ठीक समयमा गर्छन्। बिहान ६ बजेपछि दिउँसो १ बजेसम्म क्लिनिक खुला हुन्छ। आइतबार, मंगलबार र बिहीबार 'बिएन्डबी'मा बिरामी जाँच्छन्। नयाँ र पुराना बिरामी हेर्ने तालिका फरक छ।
क्लिनिकमा सुरूमा दुई सय रुपैयाँ शुल्क तोकिएको छ। 'फलोअप'मा आउने बिरामीले बीस रुपैयाँ तिरेर छ महिनाैसम्म जँचाउन पाउँछन्। जाँच्न पर्याप्त समय दिन्छन् उनी। सकेसम्म कम औषधि 'प्रेस्क्राइब' गर्नु र रोगको जरो केलाएर बिरामीको स्वास्थ्यमा सुधार ल्याउनु डा. दीक्षितका विशेषता हुन्।
आर्थिक समस्या भएकालाई निःशुल्क जाच्नेसँगै 'फलानो बिरामीसँग पैसा नलिनू' भनेर सिफारिश समेत गरिदिन्छन्। आर्थिक हैसियतअनुसार कसैलाई सरकारी त कसैलाई निजी ल्याब जान सुझाउँछन्।
उनका बुबा केदारमणि आचार्य दीक्षितले 'आफ्नै कुरा' किताबमा लेखेका छन्, 'उसको (सुन्दरमणि) मन साह्रै दयालु छ।'
यिनै कारणले धेरैका लागि सस्ता र भरपर्दा डाक्टर हुन् उनी।
डा. दीक्षितको क्लिनिक र घर भएको ठाउँलाई श्रीदरबार टोल भनिन्छ। राणाकालीन समयको अवशेष बोकेको यो ठाउँ श्रीदरबार परिसरभित्र पर्थ्यो। यही दरबारमा उनका बुबा केदारमणि काम गर्थे। उनी मदनशमशेरका निजी सहायक थिए।
दीक्षितका अनुसार उनका हजुरबुबाका पनि हजुरबुबा शिरोमणि आचार्य वीरशमशेरको पालामा भारतको वाराणसीमा ठूला यज्ञ गरेर 'दीक्षित' उपाधिबाट विभूषित भएका थिए। हजुरबुबा राममणि नारायणहिटी दरबारमा नायब सुब्बा थिए। यही पृष्ठभूमिमा बुबा केदारमणिले चन्द्रशमशेरसँग काम गर्ने मौका पाए।
उनी इतिहास बताउँछन्, 'चन्द्रशमशेरले बुबालाई आफ्ना कान्छा छोरा मदनका साथीका रुपमा पढ्नेदेखि खेल्नेसम्मको काममा साथ दिने जिम्मा दिएका थिए।'
१९८६ सालमा चन्द्रशमशेर बिते। उनकी पत्नी महारानी बालकुमारीदेवी कान्छा छोरा मदनसँगै पुल्चोकस्थित श्रीदरबार बस्न थालिन्। केदारमणि गैरीधाराबाट पाटन श्रीदरबार आउजाउ गर्थे। धाउन सजिलो होस् भनेर पुल्चोकमा हालको होटल हिमालय सामुन्नेको घर किने। यही घरमा १९९७ पुस ८ गते केदारमणिका कान्छा छोरा जन्मिए। उनको नाउँ रानी जगदम्बाले नै राखिदिए- सुन्दरमणि। घरकाले चाहिँ उनलाई 'बाबी' भन्छन्।
डा. दीक्षितको बाल्यकाल आफ्नो घरमाभन्दा बढी श्रीदरबारको रमझममा बित्यो।
उनी सम्झन्छन्, 'अरू दरबार हाइस्कुलमा पढेँ भन्छन्, मैले श्रीदरबारभित्र पुतली बगैंचाको गुम्बजमा बसेर पढेँ।' स्लेटमा अक्षर कोर्न उनका दिवंगत लेखक दाजु कमल दीक्षितले सिकाए।
कमलले श्रीदरबारबारे 'मदनगाथाः उत्तर–राणाकालीन परिवेश' किताबमा लेखेका छन्, 'सबै लोभलाग्दो राम्रा कुराको एकमुष्ट नाम थियो– दर्बार हाम्रो निमित्त। बग्गी त्यहीँ थिए, मोटर त्यहीँ। यमानका घोडा र रहरलाग्दा गाईहरू। अनि अनेक जातका खेलाइरहूँ जस्ता लाग्ने कुकुर त्यहीँ थिए।'
कमलभन्दा ११ वर्ष कान्छा डा. दीक्षितलाई पनि बाल्यकालमा श्रीदरबार आफूले कल्पना गर्ने सबभन्दा राम्रा कुरा भएको ठाउँ थियो। उनको बाल्यकाल श्रीदरबारकै शीतल छाया पाएर नामजस्तै सुन्दर बन्यो।
२००७ सालको आन्दोलनताक धेरै राणा शासकवर्ग राजनीतिक अस्थिरताका कारण भारत पलायन भए। यही बेला मदनशमशेरको परिवार बनारस गयो। मदन बितेपछि २०१० तिर केदारमणि र उनकी श्रीमती विद्यादेवीको आग्रहमा मदनकी पत्नी रानी जगदम्बा काठमाडौं फर्किइन्। यसै बेलादेखि केदारमणिको परिवार ढुक्कै यो ठाउँमा बस्न थालेको हो।
पचास रोपनीभन्दा बढी जग्गा ओगटेको दरबार क्षेत्रका टुक्राटुक्रा जग्गा रानी जगदम्बाले वितरण गरेकी थिइन्। त्यसमध्ये १६ रोपनीजति दीक्षित परिवारको पोल्टामा पर्यो। मदन शमशेरलाई नेपाली क्रिकेटको संरक्षक मानिन्छ। हाल रातो बंगला स्कुल भएको ठाउँमा क्रिकेट स्टेडियमको 'पेभेलियन' थियो।
डा. दीक्षित भन्छन्, 'हाल क्लिनिक भएको ठाउँ त्यसकै मैदान हो। अहिलेको यलमाया केन्द्रमा भने त्यो बेला बग्गी खाना थियो।'
त्यस बेला राणा खलक र परिवारसँग निकट केही नेपाली भारतमा पढ्थे। यिनमा दीक्षित परिवारभित्रै पनि धेरै थिए। भारत पढ्न जाने आफ्नै उमेरका केटाकेटी देखेपछि उनले पनि घुर्की लाउन थाले, 'म पनि पढ्न इन्डिया जाने।'
२००१ सालमा आमा विद्यादेवीको शल्यक्रियाका लागि कलकत्ता जाँदा दीक्षित साथै थिए। आमाको उपचारमा संलग्न भारतकै चर्चित 'डाक्टर ललितमाेहन बेनर्जी'सँग २१ दिनको आमाको अस्पताल बसाइमा दीक्षित नजिक भएका थिए रे। बेनर्जीले 'तिमी डाक्टर बन्नुपर्छ' भन्दै बोकेरै उनलाई आमाको क्याबिनसम्म लैजान्थे रे।
सायद यसैको प्रभाव पनि थियो, भारत गएर पढ्ने रहर पलाएको। विद्यादेवीलाई छोराको यो जिद्दी मन पर्यो। पतिलाई मनाइन्। केदारमणिले 'जर्साब' मदनशमशेरलाई पनि रिझाए। २००५ सालमा दीक्षित भारत पुगे। दार्जिलिङको माउन्ट हर्मन स्कुल र नैनीतालको स्कुलमा अनुशासन र नैतिक मूल्यको पाठ सिके।
भारत भर्खरै बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो।
उनी सम्झन्छन्, 'बेलायती फर्किए पनि विदेशीको कडा नियमकानुनको असर स्कुलहरूमा बाँकी थियो। दार्जिलिङ होस् वा नैनीताल, नियम कडा थियो।'
पढ्ने, खाने, खेल्ने, सुत्ने सबै काम ठीक समयमा नगर्ने विद्यार्थीले दह्रै सजाय पाउँथे।
'सबै कुरा फर्काउन सकिन्छ तर समय फर्काउन सकिन्न भन्ने बुझेँ,' उनले सुनाए, 'नचोर्नू, नढाट्नू जस्ता नैतिक पाठ सिकाउने वातावरणमा हुर्केकाले समयको महत्व र नैतिक मान्यताको छाप मनमा गढ्यो। अनुशासित बन्न प्रेरित गर्यो। त्यो प्रेरणा अझै मरेको छैन।'
उनले कलकत्ताको मेडिकल कलेजबाट एमबिबिएस गरे। बम्बईको केइएम अस्पतालबाट एमडी। त्यो बेला कलकत्ता भारतकै राजनीतिक र बौद्धिक केन्द्र थियो। कलकत्ताको परिवेशले उनलाई राजनीति र समाजबारे सोच्ने बनायो। भारतलाई बेलायती उपनिवेशबाट मुक्त बनाउन त्याग गरेका भारतीयहरूमा देशप्रेमको भावना प्रचुर थियो।
'मातृभूमि प्रेम र सांस्कृतिक जागरणको लहरको असर मेरो युवा व्यक्तित्वमा पर्यो। मसँग पढेकाहरू प्रायः सबै विदेश गए। म भने देशमै राम्रो काम गर्नुपर्छ भनेर फर्किएँ,' उनले सुनाए।
कलकत्तामा उनले श्री अरविन्दो, स्वामी विवेकानन्द, विपीनचन्द्र लाल, रवीन्द्रनाथ टैगोरदेखि सुवासचन्द्र बोस जस्ता व्यक्तित्वका योगदान बुझ्ने मौका पाए। स्वामी रामकृष्ण परमहंस मिसनको हलमा प्रवचन सुन्न जान्थे। बम्बईमा २१ दिनको गीता ज्ञान यज्ञ सुन्थे। उनकै भनाइमा नेपाल फर्किँदा मेडिकल ज्ञानसँगै राजनीति, अध्यात्म, धर्म, संस्कृति, सेवा, करुणा र देशप्रेमको भावना लिएर फर्केका थिए।
पचास वर्षदेखि उनी यही सिकाइ र भावना निरन्तरता दिइरहेका छन्। रानी जगदम्बाको निजी डाक्टर भएको नाताले आर्थिक चिन्ता भएन। त्यसैले डाक्टरी ज्ञानलाई पैसा कमाउनभन्दा सेवाका रुपमा लिएको बताउँछन्। विज्ञान र अध्यात्म जोडिनुपर्छ भन्ने मान्यता राख्ने उनी आफूलाई धार्मिक व्यक्ति मान्छन्।
'आफू को हुँ भनेर चिनेपछि समाजलाई आफ्नो दायित्वअनुसार योगदान दिनु नै धर्म हो। म त्यही गरिरहेको छु। २३ वर्षसम्म सरकारी अस्पतालमा पैसा नलिई सेवा गरेँ,' डाक्टरी सकेपछि २०२६ सालमा वीर अस्पतालसँग जोडिएका थिए उनी।
क्लिनिक भने २०२८ सालमा आफ्नै हिसाबले काम गर्ने ठाउँ चाहिन्छ भनेर खोलेको उनी बताउँछन्। त्यहाँ पनि उनी अरूभन्दा 'सस्तो' डाक्टर थिए रे।
'अरूको शुल्क १५ रूपैयाँभन्दा धेरै हुन्थ्यो। मैले १० रुपैयाँमा जाँच्न थालेँ,' उनलाई प्रष्ट याद छ, 'लेखक वासुदेव लुइँटेल मैले आफ्नै क्लिनिकमा जाँचेको पहिलो बिरामी हुन्।'
क्लिनिकको पहिलो कमाइवापत् पाएको १० रुपैयाँ उनले आजसम्म पनि खर्च नगरी राखेको बताउँछन्। यसपछि राजपरिवार, प्रधानमन्त्री, मन्त्रीदेखि सर्वसाधारणसम्मको स्वास्थ्य परीक्षण गरेका उनी भन्छन्, 'पचास वर्षमा कसको इलाज गरिएन र!'
प्राविधिक ज्ञानसँगै डा. दीक्षितमा राजनीतिक चेतना पनि छ। उनी जनमत संग्रहताका बहुदलको पक्षमा सडकमै उत्रिए। पञ्चहरूलाई चुनौती दिन राजीनामै दिएको बताउँछन्। राजा ज्ञानेन्द्रको शाही शासनविरुद्ध पनि लोकतन्त्रको पक्षमा भाषण गर्दै हिँडे। पटकपटक पक्राउ पनि परे।
यी सबै अनुभवसँगै बढेको उनको परिपक्वता उनको बोली र काम गराइमा झल्कन्छ।
'हामीले कक्षा कोठामा आधारभूत ज्ञान मात्र सिक्ने हो। किताबी ज्ञानले पुग्दैन,' उनी सुझाउँछन्, 'निरन्तर समाज, विज्ञान र मनोविज्ञानका क्षेत्रमा थपिएका नयाँ ज्ञानबारे अध्ययन गर्नुपर्छ।'
यसैले होला, डा. दीक्षित आफूलाई अपडेट राख्न हरेक दिन बिहान ४ बजे क्लिनिकभित्रको सानो अध्ययन कोठामा पस्छन्। तर पढाइको सीमा पनि बुझेका छन्।
'कतिपय बिरामीका समस्या जटिल हुन्छन्। शारीरिक मात्र नभएर मनोवैज्ञानिक पनि हुन्छन्। यस्तो बेला वुद्धि, विवेकसँगै पुराना अनुभवले काम गर्छ,' उनी भन्छन्, 'भनाइ नै छ नि, फलानो अनुभवी डाक्टर हो।'
उनी यस्तै अनुभवी डाक्टर हुन्।
आफूलाई भने यसरी चिनाउँछन्, 'सबभन्दा सस्तो डाक्टर म। सबभन्दा सुखी मान्छे म।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी