येँया अर्थात इन्द्रजात्राको यःसिं (लिंगो) ढालेर जात्रा समापन गर्ने साइत मंगलबार २९ बजेर ३५ मिनेटमा हो।
२९ बजेर ३५ मिनेट !
राष्ट्रिय पञ्चांग निर्णायक समितिले समयतालिका निकाल्दा जात्रा सञ्चालन गर्ने टोलीहरू सुरूमा जिल खाए। लेख्ने बेलामा समितिले झुक्किएर गलत पो लेख्यो कि? भन्नेसम्म भयो।
सामान्यतया हाम्रो घडीले १२ बजेको देखाउँछ। पृथ्वी घुम्ने समयको आधारमा २४ घण्टालाई एक दिन मानिन्छ। उसो भए यो २९ बजे कताबाट आयो?
‘पञ्चांग समितिले लेखेको सही हो,’ केन्द्रीय मानन्धर समाजका सचिव गजेन्द्र मानन्धरले भने, ‘हामीले त्यस्तो साइत पाउनेबित्तिकै समितिमा सम्पर्क गरेका थियौं। पञ्चांगको भाषामा त्यस्तो पनि हुने रहेछ।’
मंगलबार २९ बजेर ३५ मिनेट भनेको बुधबार बिहान ५ बजेर ३५ मिनेटको समय रहेछ।
ज्योतिषशास्त्रअनुसार मान्ने दिन भने आजको सूर्यदयदेखि भोलिको सूर्योदयसम्म हुने पञ्चांग समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेल बताउँछन्।
‘जति समय लेखिएको छ, त्यो भनेको भोलिपल्टको सूर्योदय हुनुभन्दा पहिलेको समय हो। त्यो दिन तोकिएको साइतभन्दा ढिला सूर्य उदाउने भएकाले त्यस्तो समय तालिका आएको हो,’ उनले भने।
डंगोलका अनुसार यःसिं ढाल्न 'धरणी नक्षत्र' चाहिन्छ। त्योभन्दा अगाडि 'अश्विनी नक्षत्र' छ। साइत जुराउँदा नक्षत्र नमिलेकाले यसपटक त्यस्तो साइत निक्लिएको हो।
हरेक वर्ष येँयामा नानिचाःयाको रात यःसिं ढालिन्छ। यो भनेको काठमाडौंका भित्री बस्तीमा रथयात्रा गर्ने दिन हो। आठ वर्षअघिदेखि यो दिन महिलाहरूले रथ तान्ने चलन बसेको हो।
बीचको टोल यट्खा, नरदेवी, किलाघः, भेडासिं, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म उनीहरूले रथ तानेपछि साइतअनुसार राति यःसिं ढालिन्छ।
ढालिएको यःसिं हनुमानढोकाबाट तान्दै टेकु दोभान ल्याइन्छ। बाग्मतीमा विसर्जन गरेसँगै विधिवत रूपमा येँया समापन हुन्छ। यसलाई ‘इन्द्रध्वजपतन’ पनि भनिन्छ।
भक्तपुर नालाबाट ल्याइएको ३६ हातको यःसिं अघिल्लो मंगलबार (भदौ २४) हनुमानढोकामा साइतअनुसार ९ बजेर १७ मिनेटमा ठ्डयाएसँगै इन्द्रजात्रा सुरू भएको थियो।
त्यसबीचमा जात्राभित्रका लाखे, पुलुकिसी, देवी नाच लगायत एक दर्जनभन्दा बढी गतिविधि भएका थिए। यःसिंका लागि वन प्रस्थानदेखि, वृक्षकतन, कुमारी यात्रा, ननिचाःया यात्रा सबै पञ्चांग समितिले निकालेको समय तालिकाअनुसार नै भएको हो।