वीरेन्द्रनगर नगरपालिकामा पूर्वसूचना प्रणाली जडान गर्न लागिएको छ।
वीरेन्द्रनगर–१४ गोठीकाँडामा स्वचालित पूर्वसूचना प्रणाली जडान गर्न लागिएको हो।
सहरी विपद् जोखिम व्यवस्थापन परियोजना, जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत, नेपाल रेडक्रस सोसाइटी सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाबीच समन्वय गरी बाढी पूर्वसूचना प्रणाली जडान गर्न लागिएको हो।
स्वचालित सामग्री जडानका लागि १० लाख ४० हजार रुपैयाँ लाग्ने सहरी विपद जोखिम व्यवस्थापन परियोजनाले जनाएको छ।
उक्त रकममध्ये ३ लाख रुपैयाँ नगरपालिकाले व्यहोर्ने छ भने बाँकी परियोजनाले व्यहोर्ने रेडक्रस सुर्खेत शाखाका हरिहर बजगाइँले जानकारी दिए ।
नगरभित्र सम्भावित जलउत्पन्न प्रकोपका कारण सिर्जना हुने विपद जोखिम व्यवस्थापनका लागि पूर्वसूचना प्रणालीको भूमिका रहने उनले बताए।
बजगाइँका अनुसार बाढी पूर्वसूचना प्रणाली जडान कार्य मंसिरभित्र सम्पन्न हुनेछ ।
सामग्री जडानपछि वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा डिजिटल बोर्ड राखेर दैनिक मौसमसम्बन्धी जानकारी दिइने नगरपालिकाका मेयर देवकुमार सुवेदीले जानकारी दिए । उनका अनुसार पूर्व सूचना प्रणाली जडान गरिसकेपछि यस विषयमा सरोकारवालाहरूसँग क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू पनि गरिनेछ।
हाल वीरेन्द्रनगरभित्र विमानस्थल र ईत्राममा रहेको जल तथा मौसम विज्ञान कार्यालयमा पूर्वसूचना प्रणाली जडित छन्।
ईत्राममा रहेको प्रणाली भने बिग्रिएको छ। गोठीकाँडामा प्रणाली जडान गरिएसँगै बिग्रिएको उक्त सामग्री पनि मर्मत गरिने जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ।
यस्तै, नगरपालिकाले पूर्वसूचना प्रणालीमार्फत् मौसमसम्बन्धी जानकारी आवश्यकता अनुसार मोबाइल प्रयोगकर्तालाई पनि एसएमएस गर्ने व्यवस्था मिलाउने मेयर सुवेदीले जानकारी दिए।