कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडक दिनानुदिन खाल्डो परेर असहज बन्न थालेका छन्। विभिन्न ठाउँमा कालोपत्रे उप्किएर खाल्डो पर्ने गरेका छन्।
मनपरी कालोपत्रे सडक खनेर पानीको पाइप गाड्ने गरिएकाले धेरैजसो सडकमा खाल्डो पर्ने, कालोपत्रे उप्किने गरेको छ। वीरेन्द्रनगरको मुख्य व्यापारिक क्षेत्र बीच बजारबाहेक बाँकी सबै सडकहरुमा पाइप गाड्न सडक खनिएका छन्।
यसरी सडकको कालोपत्र भत्काएर खानेपानीको पाइप गाड्न सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्ने हुन्छ। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालका अनुसार नगरबाट अनुमति लिएर पाइप गाडिसकेपछि त्यसलाई जस्ताको तस्तै बनाइदिनुपर्छ। उनका अनुसार अनुमति लिँदा धरौटी समेत तिरेको हुनुपर्छ।
‘खानेपानीको पाइप गाड्नु पर्यो भने नगरपालिकाबाट धरौटी बुझाएर अनुमति लिनुपर्छ’ उनले भनिन्, ‘पाइप गाड्नेले त्यो सडक नभत्किनेगरी टाल्नुपर्छ, यदि विग्रियो भने त्यही धरौटी राखेको पैसाले नगरले बनाउने हो।’
वीरेन्द्रनगर नगरपालिकाका ईञ्जिनियर विशाल अधिकारीका अनुसार नगरपालिकाका बाटोमुनि पाईप गाड्ने अनुमति कसैले लिएका छैनन्।
वीरेन्द्रनगरको मुख्य केन्द्रका रुपमा रहेको वडा नम्बर ६ मा सबै बाटो कालोपत्रे छन्। ति प्रत्येक बाटोमा कालोपत्र उप्काएर पाइप गाडिएको छ।
वडा अध्यक्ष मोति कँडेलका अनुसार वडाबाट पनि हालसम्म कसैले पनि पाइप गाड्नका लागि अनुमति लिएका छैनन्। ‘अनुमति लिनुपर्ने हो, तर अहिलेसम्म पनि कसैले अनुमति लिएका छैनन्’ कँडेलले भने, ‘एकपटक हामीले पाईप गाड्न रोकेका पनि हौं, पछि फेरि खन्न थालिसके।’
यता सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाले व्यक्तिले बाटो खोलेर पाइप गाड्नु संस्थासँग सम्बन्धित नभएको बताएका छन्। ‘संस्थाले त्यसो गर्नुपरेमा हामी नगरपालिकाबाट अनुमति लिएर, धरौटीसहित काम गर्छौं’ उनले भने, ‘व्यक्तिले पनि नगरसँग समन्वय मात्र गर्नुपर्छ, मनपरी त गर्न पाइँदैन।’
पाइप गाड्दा स्थानीयले कालोपत्रे भत्काएका कारण बाटो असहज हुँदा वीरेन्द्रनगर नगरपालिकाले भने वास्ता गरेको छैन। नगरभित्र करिब एकसय ठाउँमा यसरी कालोपत्रै भत्काएर पाइप गाडिएको छ।
तीमध्ये धेरैजसो ठाउँमा सडक विग्रिएको छ। आगामी दिनमा यो समस्या समाधान गर्न के गर्ने भन्ने विषयमा पनि नगरपालिकासँग योजना छैन।