भदौ ३१ गते मंगलबार। नरबहादुर कार्की छिमेकका एक बालकलाई ह्वीलचियर धकेल्न लगाएर वीरेन्द्रनगर नगरपालिका कार्यालयमा पुगे।
बिहान साढे ९ बजे मेयरलाई भेट्न नगरपालिकामा पुगेका नरबहादुरले करिब दुई घन्टा पर्खिएपछि सवा ११ बजे मेयर देवकुमार सुवेदीसँग भेट्न पाए।
नरबहादुर आफ्ना लागि घुम्ती राखेर सामान बेच्न सकिने जग्गा भाडा नतिर्ने गरी उपलब्ध गराइदिन आग्रह गर्न मेयरलाई भेट्न गएका थिए। कार्यक्रममा सहभागी हुन हतारिएका मेयर सुवेदीले उनीसँग तीन मिनेटजति कुरा गरे र विदा भए। तीन मिनेटभित्रमा उनलाई सकेसम्म सहयोग गर्ने आश्वासन दिए।
दुबै खुट्टा नभएका नरबहादुर बाढीपीडित हुन्। २०७१ साउन २९ गते आएको बाढीले वीरेन्द्रनगर-१२ खजुरामा रहेको उनको दुई कोठे घर र जग्गा बगायो। त्यसबेला उनी भारतमा थिए। खबर पाएपछि सुर्खेत फर्किए र बाढीपीडितलाई बसालिएको महिला प्रशिक्षण केन्द्रको जग्गामा पाल टाँगेर बसे।
क्यान्सर भएपछि नरबहादुरको एउटा खुट्टा भारतमै काटिएको थियो। बाढीपीडित बस्ने शिविरमा रहँदा उनको अर्को खुट्टामा पनि क्यान्सर देखियो। २०७३ मा अर्कैको सहयोगमा काठमाडौं पुर्याएर खुट्टा काटियो। उनकी श्रीमतीको २०७६ असार १४ गते हृदयघात भएर मृत्यु भएको छ।
साथमा तीन छोराछोरी, आम्दानीको स्रोत छैन। उनका लागि त आम्दानीको कुनै विकल्प पनि छैन। छोराछोरी साना भएकाले मजदुरी गर्न सक्दैनन्।
‘दुई छोरा, एक छोरी छन्। सानै छन् कमाउन सक्दैनन्,’ नरबहादुरले भने, ‘अलिअलि कमाउन सक्ने जहान बितिसकी, अब त अर्कैले दिएको सहयोगले हामी पालिएका छौं।’
उनको इच्छा आफैंले कमाएर परिवार पाल्ने छ। वीरेन्द्रनगर नगरपालिकाबाट जग्गा पाए उनले घुम्ती राखेर सामान बेच्ने योजना बनाएका छन्।
‘बसपार्क वा एअरपोर्ट चोकतिर नगरपालिकाले जग्गा दियो भने म पानी बेचेर भए पनि कमाउन सक्छु,’ नरबहादुरले भने, ‘घुम्ती भए एउटा सरले सामान किन्न बिना ब्याज थोरै पैसा दिन्छु भन्नुभएको छ, त्यसैले सामान किन्नुपर्ला।’
वीरेन्द्रनगर नगरपालिकाका मेयर सुवेदीले आफूले सक्दो सहयोग गर्ने आश्वासन नरबहादुरलाई दिएका छन्।
‘म भएसम्म जग्गा उपलब्ध गराउने प्रयास गराउँला,’ आफूलाई भेट्न कार्यालय पुगेका नरबहादुरसँग मेयर सुवेदीले भने, ‘अहिले नै सकिहाल्छु भन्न त म सक्दिँन।’
आफूले घुम्ती राखेर पसल गर्ने इच्छा राखेका नरबहादुर आफूजस्ता अरूको लागि सिकाइको पात्र बन्ने योजनामा छन्। आफूजस्ता धेरै हुने भएकाले अशक्तले पनि गरिखान सक्छन् भन्ने उदाहरणका रुपमा आफू बन्न चाहेको उनले बताए।
‘म जस्ता यहाँ अरु पनि होलान्, यस्ता मानिसले भिख मागेर खानुपर्ने बाध्यता छ,’ उनले भने, ‘नगरपालिकाले थोरै घुम्ती राख्ने ठाउँ दियो भने, पसल गरेर बस्छु, मबाट यस्तै अरुले पनि त सिक्न सक्छन् नि।’
अर्कैको सहयोगमा गुजारा
त्रिपालमुनिको बास। बर्खामा पानी चुहिने, हिउँदमा सित चुहिने। उत्तिकै गर्मी पनि। न पंखा छ, न गर्मी छल्ने अरु कुनै व्यवस्था। दिनभर ओछ्यानमा बस्छन् नरबहादुर। धेरै बस्न पनि कहाँ मिल्छ र। लगातार १-२ घन्टा बसे काटिएको खुट्टाको हड्डी बिजाउन थाल्छ। उनी त्यही ओछ्यानमा पल्टिन्छन्।
कान्छी छोरी स्कुल जान्छिन्। जेठो छोरा कहिलेकाहीँ सकिनसकि मजदुरी गर्न जान्छन्। माइला छोराको दैनिकी त बाबाको स्याहारसुसारमै बित्छ। शौचालय लैजान, ह्वीलचियरमा बसाल्न, ओराल्न, पानी दिनमै उनको दैनिकी बित्छ।
यो परिवारको गुजारा भने अर्कैले दिएको खाद्यान्नबाट चलेको छ। उनलाई समाजसेवी, केही संस्थाहरूले विभिन्न समयमा खाद्यान्न सहयोग गर्ने गरेका छन्।
‘त्यो चामल पनि एउटा संस्था आएर दिएको हो,’ बाकसमाथि राखिएको दुई कठ्ठा चामल देखाउँदै नरबहादुरले भने, ‘यसरी अर्कैले कहिलेसम्म मलाई देलान् र परिवार पालौंला, केही गर्ने पनि त उपाय छैन।’