परापूर्वकालदेखि कथा, सूचना सुनाउँदै हिँड्ने बाध्ययन्त्र हो, सारंगी।
यसबाट सुनाइने कथा साँच्चै मिठो हुने भएकाले होला, बिबिसी रेडियोमा एउटा कार्यक्रम बज्थ्यो, 'कथा मिठो सारंगीको...'
देशका गाउँ–सहर यात्रा गर्दै कार्यक्रममार्फत् मान्छेका कथा–व्यथा र अनुभवहरू सुनाइन्थ्यो। त्यसलाई नाट्य संवादमार्फत प्रस्तुत गरिन्थ्यो। त्यही कार्यक्रमले प्रकाश 'खड्का' गन्धर्वलाई 'दिलु गन्धर्व' बनायो। कार्यक्रमको नामझैं सारंगीमा मिठास भर्ने उनलाई अहिले यही नामले नै चिन्ने धेरै छन्।
दिलुलाई ७ वर्षदेखि वातावरण र वन्यजन्तु संरक्षणमा लागेको 'ग्रिनहुड नेपाल' संस्थासँग जोडिने कडी त्यही कार्यक्रमले दिएको ख्याती हो। ग्रिनहुडले वन्यजन्तुको चोरी, शिकारी, व्यापार लगायतको अवस्था कस्तो छ भनेर अध्ययन–अनुसन्धान गर्छ। त्यसकै आधारमा सरकारलाई रिट दर्ज गर्नेदेखि तस्करी कार्यमा हस्तक्षेपसम्म गर्छ।
यो क्रमलाई निरन्तरता दिँदै दुई वर्षअघि संस्थाका सह–संस्थापक एवम् अनुसन्धाता कुमार पौडेलले विभिन्न कारागारमा वन्यजन्तु अपराधमा कैद भएका कैदीलाई भेटे र उनीहरूका कथा सुने।
मान्छेहरू वन्यजन्तु अपराधमा किन लाग्छन् भन्ने खुल्दुली कुमारलाई सधैं रहेछ। गरिबी वा अन्य केही कुरा भन्ने अलमल थियो।
त्यही जान्न उनी पूर्वदखि पश्चिमसम्मका विभिन्न कारागार पुगे। त्यहाँका कैदीलाई भेटे र उनीहरूको कथा समेटेर अनुसन्धान पत्र तयार गरे।
'ती मान्छेका कथा यति दर्दनाक थिए, त्यसलाई म अनुसन्धान पत्रमा मात्रै सीमित राख्न चाहन्नथेँ,' अनुसन्धान पत्र बनाउने बेला फुरेको 'आइडिया' सुनाए, 'यी कथा धेरैले सुने वन्यजन्तु तस्करीमा निरुत्साहित हुनेको संख्या बढ्छ भन्ने लाग्यो। अनि धेरै मान्छेसम्म कसरी पुर्याउने भन्ने लागिरहेकै बेला संगीतजस्तो प्रभावकारी अरू के होला भन्ने भयो।'
कुमारलाई लाग्छ– संगीतमा जादू छ, जसले जीवनलाई आकार दिने काम गर्छ। सबैले बुझ्ने यो माध्यमको प्रभाव निकै ठूलो हुन्छ भन्ने उनले बुझेका छन्।
मौलिक मानिने सारंगीका धुन त सानैदेखि सुन्दै हुर्किएका थिए। झन् 'बिबिसीका दिलु'ले सारंगीमा सुनाएको कथा खुब सुन्दा रहेछन्। अनि तस्करीका कथालाई प्रभावकारी ढंगबाट कसरी सुनाउने? भनेर माध्यम खोजिरहेको बेला उनले तिनै दिलुलाई सम्झिए।
त्यो बेला दिलु मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक 'जोखना'मा व्यस्त थिए। त्यही बेला पहिलोपटक भेटेका उनीहरूलाई सँगै काम गर्ने जोखना नाटक सक्किएपछि मिल्यो।
अनि तयारी चल्यो सांगीतिक श्रृंखलाको– वनको कथा बोल्छ सारंगी।
यो श्रृंखलाको खाका तयार हुनुअघि अनुसन्धान क्रममा कुमारले देशभरिका १ सय ५४ तस्कर भेटेका थिए। त्यति बेला नेपालमै ३ सय ८४ तस्कर रहेछन्।
अनुसन्धान सहज थिएन। सुरूमा त कारागार प्रवेश गर्न सरकारी निकायबाट स्वीकृति लिनुपर्ने झन्झट। त्यसपछि भित्र पस्दा तस्करहरू उनीसँग बोल्छन्-बोल्दैनन् भन्ने चिन्ता। बोले पनि सही भन्छन् कि भन्दैनन्!
यसरी अनुसन्धानकै प्रक्रियामा ती मान्छेलाई कयौं पटक भेट्नुपर्थ्यो। त्यही पनि उनीहरूले आफ्नो कथा सजिलै किन सुनाउँथे र!
'अनुसन्धानमा विभिन्न तकनिकी प्रयोग गर्नुपर्थ्यो। कसैलाई पहिलो वार्ता नै काफी थियो त कसैलाई कथा भन्न प्रेरित गर्न विभिन्न खेल खेलाउनु पर्थ्यो,' उनले भने, 'यी सबै प्रक्रियाबाट जम्मा ११६ जनासँग सफल वार्ता हुन पायो।'
त्यही प्रक्रियाले जन्माएको हो, 'वनको कथा'।
यसमा पाँच वटा गीत छन्, तीन वास्तविक र दुई काल्पनिक घटनाबाट प्रेरित।
कुमार अनुसन्धानक्रममा भेटिएका केही कथा सुनाउँछन्-
भरतपुर कारागारमा चेपाङ समुदायका करिब ३८ वर्षीय राजु (काल्पनिक नाम) गैंडा तस्करीमा जेल पुगेका रहेछन्। उनका बुबा पनि गैंडा तस्करीकै कारण जेल पुगेर त्यहीँ मरेका रहेछन्। नपढेका र आम्दानीको श्रोत नभएपछि राजुले त्यही पेशा अपनाए। कारागारमै रहँदा उनकी आमा पनि बितिन् र श्रीमतीले पनि अर्कै बिहे गरिन्। अब निस्किएपछि राप्तीतिर डुंगा चलाउँछु होला भन्थे।'
कारागारमा रहनेले जनावरको प्राथमिकता र अपराधको प्रकारअनुसार करिब १५ वर्षसम्मको सजाय र १० लाख रूपैयाँसम्म जरिवाना बेहोर्नुपर्छ। त्यसक्रममा तस्करले आफ्नो जीवनमा गुमाउने धेरै कुराहरूका उदाहरण हुन् गैंडा तस्कर राजु। राजुकै कथाले जन्माएको गीत सारंगीमा सुनाउन प्रकाश तम्सिए-
'राप्ती तीरैतीर। जति सम्झयो उति बढ्छ मनमा पीरैपीर
बेदनाको पोको बोकी राप्ती तीरैतीर...'
त्यस्तै एक पात्र कुमारले पर्साको कारागारमा भेटेछन्। गाउँको एक साधारण किसान रहेका कैदी हरि (काल्पनिक नाम) लाखौं कमाउने लालचमा बाघ तस्करीमा होमिएछन्। त्यतिका पैसा कमाउने भएपछि 'कानुन जे लागे पनि काम गर्छु' भन्ने भएछ। पछि उनलाई पक्रेर लगेपछि घरका मान्छेको प्रसिद्धि त गुम्यो नै, केहीले आत्महत्या पनि गरेछन्। त्यसै क्रममा उसको मानसिक सन्तुलन समेत गुम्यो।
हरिको त्यही अनुभवले जन्मायो वनका कथाको अर्को गीत-
'आजकल मेरो नाम पनि गन्हायो
बेहोसीले बैरागी बनायो...'
अर्को कथा गाडी चालकको छ,
'नियम कडा जरिवाना १० लाख तोक्याछन्,
आफ्नो सामान आफैं हेर्नुस् के-के बोक्याछन्,
मनको कथा भन्छु म सुन्नुस् ड्राइभर दाइ...'
तस्करीमा बढीजसो चालक–सहचालक फस्छन्। उनीहरूले पैसा लिएर सामान यताउता पुर्याउने काममा सघाउँछन्। तस्करले केही पैसा दिएर सामान पठाउन भनेको हुन्छ र पक्राउ पर्दा उनीहरू जेल पुग्छन्। त्यही कथा अर्को गीतमा समेटिएको छ।
अरू दुई गीत काल्पनिक हुन्।
'निगालोको दरबारमा हामीले गीत गा'को
चन्द्रसूर्य साक्षी राखी हामीले मीत ला'को
शिकारीले लगेदेखि छैन खबर पा'को...'
यो गीतमा मीत लगाएका चितुवा र हाब्रे बीचको संवाद देखाउन खोजिएको छ। हाब्रेलाई तस्करले लगेपछि चितुवाको मनोदशा र हाब्रेलाई लेखेको पत्र कल्पना गरिएको छ।
अन्तिम गीत यस्तो छ-
'कस्तो कठोर नि मान्छेको मति,
वन्यजन्तु मारी के थप्नु सम्पत्ति
हे बरै! आमा खोज्छिन् नि वनभरि...'
जंगलमा जनावर हराउँदा कस्तो संवाद हुन्छ, त्यहाँको माहोलमा के-कस्तो असर पुग्छ? अनि मान्छेलाई के भन्छन् भनेर यो गीतले बुझाउन खोजेको अनुसन्धाता कुमार बताउँछन्।
'मैले भेटेका प्रायः मान्छे जीन्दगीदेखि एकदम दिक्क अनि बैरागी थिए। सबै गीत एकदम दुःखी र मान्छेको मात्रै बनाउँदा जनावरका कुरा नसमेटिएलान् भनेर वन्यजन्तुको पनि राखेका हौं,' गीत लेखनको प्रक्रिया खुलाउँदै भने, 'कथाको अवधारणा मेरो हो, शब्द संयोजन प्रकाशजी (दिलु)को।'
सुरूसुरूमा कुमारलाई लाग्थ्यो रे, मान्छे गरिब भएकाले तस्करीमा लाग्छन्। अहिले उनलाई लाग्न थालेको छ, 'यो त सजिलो आयश्रोतको रूपमा लिइँदै आएको पो रहेछ।'
'धेरैजसो तस्करलाई जेल परेर के भयो र? मैले लाखौं कमाइ हाल्छु भन्ने हुँदोरहेछ। जेल परेपछि जीन्दगी नै बिग्रिन्छ भन्ने चाहिँ धेरैले बुझेकै नहुने रहेछन्। यसलाई मान्छेले सजिलोका रूपमा लिन्छन्। तर जब भइसक्छ बल्ल महशुस गर्छन्,' उनले भने।
ग्रिनहुड यिनै कुरा मान्छेहरूलाई बुझाउन चाहन्छ। त्यसैले तयार भएका गीतलाई पूर्वदेखि पश्चिमसम्म पुर्याउने योजना बनाएको छ। यही शिलशिलामा उनीहरू लाङटाङ र सिन्धुपाल्चोक पुगे। त्यहाँको समुदायलाई गीत सुनाइसके। यसलाई पर्सा, चितवन, गौरीशंकर लगायत वन्यजन्तु संरक्षण क्षेत्रनजिक भएका भारत–चीन सीमासम्म पुर्याउन चाहन्छन् जहाँबाट तस्करीका धेरै वन्यजन्तु बाहिरिन्छन्।
त्यहीँ वरिपरि बढी जनचेतना फैलाउन जरूरी भएकाले गीत पनि त्यहीँको समुदाय लक्षित भएको कुमार बताउँछन्। जनचेतना फैलाउने यस सांगीतिक यात्राका लागि विश्व वन्यजन्तु कोष नेपालको 'हरियो वन नेपाल' परियोजनाले सहयोग गरिरहेको छ।
'सुरूमा वनको कथामा प्रतिक्रिया कस्तो आउला भनेर एक किसिमको डर जस्तो थियो,' यात्रा अनुभव साट्दै कुमार भन्छन्, 'अहिले समुदायमा पुग्दा निकै राम्रो प्रतिक्रिया पाइरहेका छौं। साथीभाइले पनि एकदम राम्रो अवधारणा भनेर प्रोत्साहन दिइरहनुभएको छ।'
अनुसन्धाता कुमार र सारंगी बाधक दिलुको 'वनको कथा'मा सहकार्य भएको चार महिना जस्तो भयो। दिलुलाई वन्यजन्तुको चेत भने कुमार र ग्रिनहुडसँग सहकार्य नहुँदै सानैमा बसेको रहेछ।
साथीहरूको लहलहैमा केटाकेटी बेला दिलु आफैं चरा मार्दा रहेछन्। गुलेली र गुच्चा त उनका साथी नै।
'म एकदमै खत्रा शिकारी थिएँ, दिनमै १०–१५ चरा मार्थेँ। अनि त्यसलाई काटकुट पारेर कुखुरालाई खुवाउँथे,' उनले फुच्चे दिलुलाई सम्झिए।
उनका आँखा त्यति बेला मात्रै खुलेछन् जब उनले गिदेरी रुखमा बसिरहेको चराको जोडीलाई मारे।
'केही दिनपछि त्यहाँको गुड चिहाउँदा बच्चाहरू आहारा खान नपाएर मरिसकेका रहेछन्। त्यो बेला मलाई यति गाह्रो भयो कि मैले गुलेली त्यहीँ काटेर फालिदिएँ,' उनले भने, 'त्यो दिनदेखि म जनावरप्रति यति संवेदनशील भएँ, बाटामा कमिला देखे पनि नटेक्ने प्रयास गर्छु।'
'अब तपाईंको गीतले अरू धेरैलाई वन्यजन्तु जोगाउन प्रेरित गर्छन् नि,' कुमार दिलुतर्फ हेर्दै मुस्कुराउँछन्।
'त्यो बेला सानै थिएँ। सोच्ने क्षमता पनि वृद्धि भएको थिएन,' दिलु आफ्नै कथा अघि बढाउँछन्।
'आफूले गलत गरिरहेको छु' भन्ने बुझाउने नै उनका कोही भएनन् रे। सुरूमा बुबा र पछि आमाले पनि छाडेर अर्कै संसार बसाउन गएपछि उनी हजुरआमासँगै गुल्मीमा हुर्किए। पछि त्यहाँको जग्गा बेचेर पोखराको सुकुम्बासी बस्तीमा हजुरआमासँगै आए।
'त्यो बेला हाम्रो अवस्था यस्तो दयनीय थियो, हावाहुरी र असिनाले झारेको धान सोहोरेर मुरी बनाउँथ्यौ। त्यसैले जीवन चल्थ्यो,' भावुक हुँदै सुनाउँछन्, 'अनि पैसा जोहो गर्न कहिले गुलेली त कहिले गुच्चासम्म बेच्थेँ।'
उनीसँग जोडिएको 'गन्धर्व' उनको बुवाको थर होइन। आमाको हो, जसलाई 'तल्लो स्तरको जात' मानिए पनि उनलाई प्रिय छ। गन्धर्वले बजाउने सारंगी भने आमाको दाइ अर्थात् मामाको लहलहैमा बिन्दवासिनीमा बजाउँदै सिकेछन्। त्यसैलाई निखार्दै पछि सारंगीबाटै कमाउने भए।
बिबिसीसँग भने पोखराको नौ डाँडामा घुमिरहेका बेला संयोग जुर्यो। उनीजस्तै प्रतिभालाई कार्यक्रमका लागि खोजिरहेको बेला चिन्नेले उनीबारे भनिदिएछन्। अनि यात्रा मोडियो, 'कथा मिठो सारंगीको'तिर।
बिबिसीले प्रकाशलाई 'दिलु' भनेर स्थापित गराउँदासम्म उनको जीवनले निकै फड्को मारिसकेको थियो। नाम थियो, दाम पनि। ६ वर्षयता बिबिसी छाडेपछि कार्यक्रमबाट पाइने ठूलो दामले छाडिसक्यो। 'दिलु' नामले भने उनीसँगै गाँसियो।
त्यही भएर उनलाई 'जीवन जेरोबाट सुरू भएको' महशुस घरिघरि हुन्छ।
औपचारिक रूपमा कक्षा ८ सम्म पढेका दिलुले बिबिसीमा हुँदै अंग्रेजी, कम्प्युटर र अभिनय प्रशिक्षण लिए। झन् 'कथा मिठो सारंगीको' कार्यक्रम त नाटकमय नै भयो।
त्यही अभिनय प्रशिक्षण, अनुभव र कलाकारहरूको संगतका कारण उनलाई फिल्म र नाटकका 'अफर' आउन छुटेका छैनन्। नभए त वैदेशिक रोजगारीमा जाने सोच बनाइसकेका रहेछन्।
सानोमा गुलेली र गुच्चाझैं अचेल उनको झोलामा सारंगी र त्यसको भाले मानिने 'आरबाजो' कहिले टुट्दैन। नाटक र फिल्मबाहेक आफ्नो स्व–अभ्यासका लागि उनी गाउँगाउँ त्यसलाई बजाउँदै हिँड्छन् रे।
त्यस्तो बेला कतिपयले सोध्दा पनि रहेछन्, 'यत्तिका नाम कमाइसकेको मान्छे, त्यसरी गाउँदै हिँड्दा आफ्नो इज्जत घटेको जस्तो लाग्दैन?'
उनलाई भने लाग्छ रे, 'इज्जत घटेको होइन, अझै बढिरहेको छ।'
ग्रिनहुडसँग जोडिनु भने दिलुलाई संजोग जस्तै लाग्छ।
'जे कुरालाई सानोमा मारेर आर्यआर्जन गर्थेँ, त्यसैलाई संरक्षण गरेर आयआर्जन गर्छु' भन्ने सोचेका पनि थिएनन्।
'पहिले गीतहरू माया प्रेम, कुनै घटना र मान्छेका मात्रै गाउँथे। ग्रिनहुडसँग काम गरेपछि पृथ्वीमा जति पनि कुरा छन्, ती नि महत्वपूर्ण हुन् र संरक्षण गर्नुपर्छ भन्ने लाग्न थालेको छ,' उनी भन्छन्, 'अहिले माटो, पानी, जंगल, कमिला, कछुवादेखि लिएर जेको पनि गीत हुन्छ होला भन्ने लाग्छ। यो परियोजनाले नयाँ तरिकाले सोच्न र काम गर्न प्रेरित गरिरहेको छ।'
वनको कथामा तयार भएका गीतहरू केही सातामा सार्वजनिक हुने तरखरमा छ। यी गीत 'सिआइएन' र 'एसोसिएसन अफ कम्युनिटी रेडियो'बाट बजाउन दिइएको छ। यसपछि फेरि अर्को यस्तै श्रृखंला तयारी गर्ने अनुसन्धाता कुमार बताउँछन्।
'हामीले जति पनि गीत बनाएका छौं, त्यो समुदायलाई सुनाउने पहिलो श्रृंखला हो। यसले मान्छेको व्यवहार नै ठ्याक्कै परिवर्तन गर्ला त भन्न सकिन्नँ तर उनीहरूको भाव परिवर्तन भएको हामीले सजिलै महशुस गरिरहेका छौं,' कुमार भन्छन्।
उनले थपे, 'त्यो लामो समयसम्म रहिरहन्छ वा रहँदैन भन्ने ठूलो कुरा हो। क्षणिक र लामो समयको प्रभावमा धेरै फरक हुन्छ। लामो समय प्रभाव पारिरहन यस्ता कुरा समय-समयमा चाहिरहन्छ होला।'